विद्यालय निर्माणमा जापानी सहयोग

japani sahayogचितवन । हाल जापान रहेका चितवनको खैरहनी नगरपालिका–५ बुढौली निवासी महेन्द्र सुवेदीले भूकम्पबाट भत्किएको विद्यालय पुनः निर्माणका लागि सहयोग गरेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनः निर्माणका लागि चितवनका पत्रकारले सञ्चालन गरिहेको संस्था हामीले नगरे कसले गर्ने अभियान मार्फत चितवनको लोथर–७ स्याम्राङस्थित दुङवाङ प्राविको भवन निर्माणका लागि सुवेदीले आर्थिक सहयोग गरेका हुन् । जापानमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका सुवेदीले आफ्नै गृह जिल्लामा भूकम्पले विद्यालयको भवन भत्काएर विद्यार्थीले पढ्न नपाएको खबर सुनेर सहयोगको इच्छा जागेपछि आफूलाई सम्पर्क गरेको समाजसेवी गजुरेलले बताए ।

करिब १५ लाख लाग्ने उक्त भवन निर्माणका लागि शिक्षा विभागबाट अनुमति लिइसकिएको जनाइएको छ । अहिलेसम्म कुल आठ लाख रुपैयाँ संकलन भएको र अझै सात लाख रकम जोहो गर्न बाँकी रहेको अभियानले जनाएको छ ।

यसअघि पनि विभिन्न क्षेत्रबाट उक्त स्कुलका लागि सहयोग आइसकेको छ । जापानमा बस्ने नेपाली दीपक नेपालले पनि सो विद्यालय निर्माणका लागि पाँच लाख ५४ हजार नगद सहयोग गरेको अभियानका संयोजक राजेश घिमिरेले जानकारी दिए । अभियानले यसअघि भूकम्पपीडितका लागि २५ लाखभन्द बढीको राहत वितरण गरिसकेको छ । अभियानले अहिले चितवनको विकट लोथरको दुङवाङ राप्राविको विद्यालय भवन निर्माणका लागि काम सुरु गरेको घिमिरेले जानकारी दिए ।

सोही अवसरमा संस्थाको संयोजनमा नर्सिङ अध्ययनरत सरिता चेपाङका लागि खैरहनी नगरपालिका–८ का शान्तमणि नहकीले तीन हजार ५० रुपैयाँ सहयोग गरे । त्यसैगरी सरिता चेपाङकै अध्ययनका लागि खैरहनी–६ घर भएर हाल काठमाडौं रहेका श्याम गिरीले पाँच हजार रुपैयाँ र हाल जापान रहेका भरतपुर निवासी सुरज डल्लाकोटीले १० हजार जापानी यन सहयोग गर्ने बताइएको छ । खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठले पत्रकारले आफ्नो कामसँगै राज्यले गर्नुपर्ने काम पनि गरेको भन्दै आगामी दिनमा आवश्यक सहयोग गर्ने बताए ।

प्रतिक्रिया