फर्पिङको हरिशंकर जात्रा

pharpingफर्पिङमा हरेक वर्ष भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण एकादशीसम्म हरिशंकरको जात्रा मनाइन्छ । हरिशंकरको जात्रा फर्पिङको प्राचीन दरबार परिसरमा रहेको झम्केश्वरी गुह्यदेवीको पीठबाट सुरु हुन्छ । झम्केश्वरी गुह्यदेवी पीठ समीप रहेको श्रीतलेजु भवानीलाई भाद्र शुक्ल द्वादशीका दिन बिहान दक्षिणकालीका पुजारीले दुईवटा बोका बलि दिएर पूजा गर्छन् । त्यस सयममा फर्पिङका सम्पूर्ण गुठीका पुजारीहरू त्यहाँ उपस्थित हुनुपर्दछ । श्रीतलेजु भावनीको मन्दिरमा फर्पिङका सम्पूर्ण बासिन्दाहरूले दसैँमा जमरा राख्ने चलन छ ।

भाद्रशुक्ल त्रयोदशीका दिन गोपालेश्वर देवताको आगम घरबाट कोटाल गणेशलाई ल्याएर पाटीमा राखी पूजा गरेर रातभर राख्ने गरिन्छ । चतुर्दशीका दिन शेषनारायण र गोपालेश्वरका पुजारीहरू राजोपाध्याय र कर्माचार्य दुईजनाले फर्पिङका सम्पूर्ण देवीदेवताहरूलाई युधिका काँचो धागो चढाएर रातभरि यज्ञ गरेर पूर्णिमाको दिन हरिशंकर जात्राको मूल पूजा गर्छन् । अनि दिउँसो बाह्र बजेदेखि गोपालेश्वर देवताको खट तयार पारी सन्ध्याकालीन चार पाँच बजेतिर चर्तुर्मुखी शिवलिंग जस्तै ठूलो तामामा सुनको जलप लगाएको गोपालेश्वरको मूर्तिलाई खटमा राखिन्छ । विभिन्न आभूषण गहना र वस्त्र लगाई सिंगारिएको गोपालेश्वर देवतालाई राज प्रतिनिधि थकु जुजु अर्थात् मल्ल राजाका सन्तान थकालीद्वारा प्राचीन रीतिअनुसार पुजाआजा गराइन्छ । सेतो जामा र सेतो बेताली फेटा लगाएका थकु जुुजुलाई द्यः ब्रम्हु राजोपाध्याय ब्राम्हणद्वारा देवताको पूजा गराइने चलन छ । थकु जुजुद्वारा पूजा सम्पन्न भएपछि चार जना बिसेतहरूको टोलका ५०–६० जना मानिसहरू बोलाएर खट बोकाउन लगाउँछन् । अनि त्यो खटलाई लगेर कोटाल गणेशपारी अगाडि राख्छन् ।

आश्विन कृष्ण चौथीका दिन दिउँसो कोछु टोलमा कुमारी, तिल विक्रमेश्वर, धल्खु टोलमा नील बाराही, यल्खु टोलमा इन्द्रायणी (नन्दीकेशर) र थुपुं टोलमा शेषनारयाणको खट विराजमान गराइन्छ । यसरी नै सोही दिन थेव टोलमा लमी द्यः (महालक्ष्मी) र टिपी टोलमा कङ अजिमा (दक्षिणकाली)को खट तयार पारिन्छ । सबे खटमा जीवन न्यास गर्न रकमी पुजारीले आ–आफ्ना पीठबाट “जीवन घट” ल्याई स्थान गराइन्छ । त्यसपछि पञ्चमी, षष्टी र सप्तमीका दिनसम्म खटहरूलाई सोही स्थानमा राखी आश्विक कृष्ण अष्टमीका दिन विशेष तान्त्रिक बलिपूजाको तयारी गरेर राखिन्छ भने भोलिपल्ट आश्विन कृष्ण नवमीका दिन अघिल्लो दिनदेखि बाँधी राखेको राँगाको बलि दिएर पूजा गरिन्छ । बलि दिएको राँगाको मासु सातै टोलका मानिसहरूलाई प्रसादका रूपमा भाग लगाई बाँडिदिने चलन छ । नवमीकै दिन राती ९–१० जनाले बोकी टिपी टोल, कोछु टोल घुमाउर यल्खु टोलमा लगेर राख्छन् । बलि दिइएको उक्त बोकाको टाउको खुइल्याएर श्री कुमारीरथको टाकल मुनी भुजुङोमा पकाएको भात राखी सातै टोलका बिसेतहरूले देवीदेवताको क्षेत्रमा, दोबाटो र चौबाटोहरूमा भात छर्दै हिँड्छन् । नायखिं बाजा बजाउँदै भात छर्ने यो चलनलाई “भुया बनेगु” भनिन्छ । यसरी भात छर्दा भूत प्रेत, बेताल गण र क्षत्रपालहरू अघाउँछन् र तिनीहरूलाई सन्तुष्ट पारी राख्न सकिन्छ भन्ने जनधारणा छ । यसैदिन घरैपिच्छे “छवयला भु” गरी भोज खाने चलन छ ।

pharping 2 copyआश्विन कृष्ण दशमीका दिन विहान कोर्पु टोलका स्वच्छन्द रक्त भैरवलाई कर्माचार्य पुजारीले एउटा बोको बलि दिई पूजा गर्छ । भैरवको प्रसादको रूपमा तामाको घ्याम्पा भरी जाँड राखिन्छ । भैरवको मुकुण्डो भएको त्यस घ्याम्पो बोकेर विशाल जुलुससहित भक्तजनहरूले बाजा बजाएर कोटाल टोलमा पु¥याउँछन् । कोटाल टोलमा पुगेपछि उक्त तामाको घ्याम्पोमा रक्सी राखेर कालभैरव भनिने प्रचण्ड भैरवसँग सँगै त्रिभुल, डमरु हातमा लिएका मानिसहरूले भैरवलाई बिहानभर देश परिक्रम गराउँछन् । यो जात्रालाई स्थानीयहरूले क्वंचा द्यः जात्रा भन्ने गर्छन् । क्वंचा घः जात्रा दसैँको पञ्चमीका दिन गरिने पचली भैरवको जात्रासँग मेल खान्छ । सोही दिन राती १०–११ बजेतिर शेषनारायण र महालक्ष्मीको खट जात्रा गरेर बाजा गडाजासहित देश परिक्रमा गराइन्छ ।

आश्विन कृष्ण एकादशीका दिन फर्पिङको हरिशंकर जात्राको मुख्य दिनको रूपमा मनाइन्छ । यो दिन फर्पिङका बासिन्दाहरूले आफ्ना छोरी ज्वाइँ, चेलीबेटी, आफन्त, इष्टमित्र सबैलाई बोलाएर भोज खुवाउने गर्छन् । मूल जात्राको दिन चक्रपूजा गरिन्छ । यसका लागि फर्पिङ कोटु टोलमा नयाँ नौवटा जाँडको घ्याम्पो राखेका हुन्छन् । जुगी चक्र भनिने उक्त पूजामा ७ महिना ७ दिन ७ घण्टा उमेरको एउटा राँगो र कालो बा रातो भोल चढाउने चलन छ । त्यसपछि पशुपति गोरक्षा पीठबाट आएका कामफट्टा जोगीलाई राती १० बजेतिर जुगी चक्र कलशमा पूजा गराइन्छ । चक्रपूजा सकिएपछि बाँधी राखेका राँगा र कुखुरालाई एकैचोटी काटिन्छ । अनि कुमारी गोपालेश्वर र महालक्ष्मीको खट जात्रा गरी देश परिक्रमा गराइन्छ । सोही समयमा शेषनारयाणको खटलाई झम्केश्वरी परिक्रमा गराई सोही ठाउँमा भएको “या लोहँ” नघाइन्छ । यदि त्यो ठूलो ढुंगा “या लोहँ” नाघेर खट जात्रा अघि बढ्यो भने या न्यात भनि हर्षित भई जात्रा समापन भएको घोष्ण गरिन्छ । यदि त्यो ठूलो ढुंगा नाघेर जान सकेन भने पुनः दोहो¥याएर उक्त सम्पूर्ण जात्रा गर्नुुपर्ने वाध्यता हुन्छ भन्ने चलन छ ।

फर्पिङको जात्रा समापनको भोलिपल्ट सबै देवीदेवताको पूजा गर्न जिम्मावाल गणेश मानन्धरले राज प्रतिनिधि थकु जुजु, शेषनारणका पुजारी, दक्षिण्कालीका पुजारी, बज्रयोगिनीका पुजारी, रकमी प्रधान, शेष नारायणका पुजारी, दक्षिणकालिका पुजारी, बज्रयोगिनीका पुजारी, रकमी प्रधान, माने शाही, जोगी, पोडे, कौ, नौ, कामी, भाट, बाजा खलक आदि गुठियारहरूलाई एक एक पाउ सिन्दुरको पोको बाँडिदिन्छ । त्यसपछि सबैले नाङो खुट्टाले जात्रा गरेका सातै टोलका खट देवताहरूलाई अबिर चढाउनुपर्छ । द्वादशीका दिन पूजा सकिएपछि हरिशंकर जात्राका सबै खटहरू देश परिक्रमा गराई झम्केश्वरी टोलमा सबैभन्दा माथि गोपालेश्वर, इन्द्रायणी, कङ अजिमा दक्षिणकाली, नील बाराही, महालक्ष्मी, शेषनारायणमा राख्ने गरिन्छ । यसो गरिनुलाई जात्राको समापनको सुरुवात गरिएको हो भनिन्छ । त्यस दिन खट बोक्नेहरूलाई टोलटोलमा विभिन्न परिकारका खाने कुरा पकाएर खुवाउने गरिन्छ । त्रयोदशीका दिन दिउँसो १२–१ बजेतिर बाजा बजाएर गोपालेश्वरको खट फर्पिङको सात टोल परिक्रमा गराइन्छ । पोडे टोलमा खटलाई यःमरी, फलफूल राखेर पूजा गर्छन् । बजा बजाउने, कसाई, पोडे, कुरलेहरूलाई दही चिउरा, यःमरी, फलफूल बाँडेर दिइसकेपछि गोपालेश्वर पु¥याइ नाङोमा चारदिनसम्म राखी हवन पूजा गरेपछि आगम घरमा राख्न लगिन्छ । गोपालेश्वर आगम घरमा पुगेपछि मात्र अन्य देवताका खट ६ वटा टोलबाट आ–आफ्ना आँगनघरमा लगिन्छ ।

प्रतिक्रिया