पशुबलि नदिइने जात्रा

jatraबलि पूजा नभएको जात्रा भन्नेबित्तिकै आश्चर्य लाग्न सक्छ । नेपालमा नेवारहरूले मनाउने जति पनि चाडपर्व र जात्राहरू छन्, त्यसमा व्यापक रूपमा बलिपुजा भइरहेको देखिन्छ । तर ललितपुरको प्याङगाउँको जात्रामा भने बलिपूजा गरिँदैन । काठमाडौंमा इन्द्रजात्रा मनाइरहेको समयमा ललितपुरको प्याङगाउँका मानिसहरूले भने कालेश्वर महादेवको जात्रा मनाइरहेका हुन्छन् । उनीहरूको या आफ्नै पनको मौलिक जात्रा भएकोले सांस्कृति पर्वका रूपमा भव्य रूपमा मनाइरहेको देखिन्छ । कालेश्वर महादेवको जात्रा हरेक वर्ष इन्द्र जात्राको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिनदेखि सुरु हुन्छ । प्याङगाउँका बासिन्दाहरूले कालेश्वर महादेवलाई आराध्यादेवका रूपमा लिएका छन् । साथै उनीहरूले कालेश्वर महादेवलाई कुल देवताका रूपमा पनि मान्दै आएका छन् ।

कालेश्वर महादेवको खटजात्रा गरिँदा प्याङगाउँका घरैपिच्छे पूजा थाप्न जाँदा खटलाई नचाउँदै अर्थात् हल्लाउँदै लाने गरिन्छ । आप्नो घरअगाडि देवताको खट बिसाउन ल्याउँदा मानिसहरूले देवताले आफ्नो दुःखसुख बुझ्न आएका हुन् हामीलाई हेरविचार गर्न पाल्नुभएको हो भनी अत्यन्तै हर्षित हुँदै पूजा गर्ने गर्दछन् । यसरी कालेश्वर महादेवको खट घट धेरै पूजा थाप्न लैजाँदा पूजारी र गुठियारहरूले घण्टा बजाइरहेका हुन्छन्, कसैले चमरले देवतालाई हम्किरहेका हुन्छन् त कसैले पानसमा बत्ती बालेर बोकेका हुन्छन् र परम्परागत बाजा बजाउँदै देवताको खट अघिअघि लागिरहेका हुन्छन् । जात्रा मान्दै गरेका भक्तजनहरू बाजाको तालमा नाच्दै गरेका हुन्छन् । यसरी ज्यादै रमाइलोसँग कालेश्वर महादेवको जात्रा मनाइन्छ । यसै सन्दर्भमा प्याङगाउँका विभिन्न स्थानमा काठमाका पुराना मूर्तिहरू पनि प्रदर्शन गरिराखेको हुन्छ काठमाडैंमा इन्द्रजात्रामा यमा धः प्रदर्शन गरिराखे जस्तै । प्याङगाउँको जात्रा नसकिउन्जेल ती काठका मूर्तिहरू यथास्थानमा प्रदर्शन गरिराखेकै हुन्छन् ।

काठमाडौंमा हनुमानढोका दरबारको कालभैरव अगाडि इन्द्रध्वज ठड्याउने परम्परा भएजस्तै यहाँ पनि सोही दिन दुईवटा इन्द्रध्वज ठड्याउने चलन छ । यसरी इन्द्रध्वज ठड्याइसकेपछि प्याङगाउँको जात्रा सुरु हुन्छ । यो दिन आफन्त, साथी भाइहरूलाई घरमै बोलाई भोज खुवाउने चलन छ । यही दिनदेखि लाखे नाच नचाउने परम्परा पनि छ । जात्राको तेस्रो दिन परम्परागत देवी नाच नचाउने पनि चलन छ तर हाल आएर विभिन्न कारणले त्यो मौलिक देवी नाचका साथै अन्य नाच पनि नचाउने चलन लोप भइसकेको छ । पहिला पहिला त काठमाडौंको हुनमान ढोका दरबारसम्म ल्याएर त्यसबेलाका राजाहरूलाई देवी नाच देखाउनुपर्ने चलन थियो । तर, प्याङगाउँको अलग्गै पहिचान भएको उक्त नाच नचाउने चलन नै लोप भइसकेको छ ।

हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन काठमाडौंमा इन्द्रजात्रा समयबजी पूर्णे मानी श्री कुमारी देवीको रथ तानेर चाड मानिसरहेको समयमा प्याङगाउँमा भने कालेश्वर महादेवको खट जात्रा धुमधामसँग मानिरहेको हुन्छ । यो दिन स्थानीय बासिन्दाहरूले खटमा विराजमान भएका महादेवको अत्यन्तै श्रद्धा र भक्तिपूर्वक पूजा गरी रमाउँदै जात्रमा प्यापक रूपमा सहभागी हुन्छन् ।

दसैँ र तिहार चाड पर्वभन्दा ठूलो चाडका रूपमा मान्दै व्यापक रूपमा सहभागी हुने यो जात्रमा प्याङगाउँका मानिसहरूले ठूला साना, धनी गरिब र उँचनीचको भेदभाव नराखी मिलीजुली सबैले सबैलाई सुख, शान्ति र ऐश्वर्य प्राप्त होस् भनी हृदयदेखि नै कामना गर्दै कालेश्वर महादेवको जात्रा मनाउँदै आइरहेका छन् ।

यसरी शुभकामना दिने क्रममा एक व्यक्ति, एक परिवार र एकजनाको मात्र शुभमंगल होस् भन्ने कामना नगरी गाउँ, गाउँका सबै व्यक्ति र देशभरका सबै मानिसहरूको र देशकै शुभमंगल होस् भनी संयुक्त रूपमा शुभकामना दिइने गरिन्छ । व्यक्तिगत स्वार्थबाट माथि उठेर यसरी सामूहिक हितका लागि प्रार्थना गर्ने यो प्रथा सर्वथा बेग्लै किसिमले ज्यादै नै प्रसंशनीय छ । यसरी प्रार्थना गर्दा उनीहरूले सबैको स्वास्थ्य राम्रो होस्, कसैलाई पनि रोगव्याध नलागोस्, अन्नबाली पनि सप्रियोस्, सबैको कल्याण होस् र देशमा सुख शान्ति छाइरहोस् भन्दै हृदयदेखि नै कामना गरिरहेका हुन्छन् ।

प्याङगाउँको कुलदेवताको रूपमा मान्दै आएको कालेश्वर महादेवलाई आफ्नै खेतमा उमारिएको अन्न, फलफूल चढाउने गरिन्छ । अन्य स्थानका जात्रामा पशु बलि दिइने गरिन्छ भने यहाँ कालेश्वर महादेगवगलाई पशुबलि दिइँदैन । यहाँ गणेश र देवीदेवताहरूलाई समेत पशुबलि दिने चलन छैन । सबै स्थानमा पशुबलि दिइने गणेशलाई समेत यहाँ पशुबलि दिइँदैन । पहिला पहिला त यो जात्रामा जाँडरक्सी पनि खान हुँदैनथ्यो रे । त्यस्तै मासु र नुन पनि खान हुँदैनथ्यो रे । एक किसिमले व्रत बसेर भगवानको भक्ति गरिन्थ्यो रे । अहिले भने अरु बेलामा खाए पनि जात्राको मुख्य दिन पूर्णिमाको दिन एक दिन केही नखाई गुठियारहरूले व्रत बसेर पुरानो चलन बनाइराखेका छन् ।

प्रतिक्रिया