पोसिलो खाना बनाउन सिकाउँदै ‘सुआहारा’

suaaharaताप्लेजुङ । सुनौला हजार दिनका बालबालिका र तिनका आमाहरूको स्वस्थ्य निकै संवेदनशील मानिन्छ । तिनै बच्चा र तिनका आमालाई लक्षित गरी विगत धेरै वर्षदेखि सुआहारा कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसै कार्यक्रमलाई निरन्तरता दिँदै सुआहारा कार्यक्रमले ताप्लेजुङका बालबालिकाहरूका लागि पोषिलो खाना बनाउन सिकाउने अभियानलाई तीव्रता दिएको छ । ४८ गाविस र १ नगरपालिकामा रहेका स्वास्थ्य आमा समूह तथा घरायसी खाद्यन्न उत्पादन समूहमा पोषिलो खाना बनाउन सिकाउने कार्यक्रम सञ्चालन भइरहेको वातावरण संरक्षण तथा विकास मञ्चद्वारा सञ्चालित सुआहारा कार्यक्रमका फिल्ड कोर्डिनेटर मंगलसिह साँवाले जानकारी दिए । विगत तीन वर्षदेखि कार्यक्रममार्फत जिल्ला भरका ४ सय १६ आमा समूहमा पोषिलो खाना बनाउन सिकाउने कार्यक्रम सञ्चालन गरिँदै आएको छ । साँवाका अनुसार यस वर्ष पनि प्रत्येक समूहमा १ पटक पोषिलो खाना बनाउन सिकाउने लक्ष्य तय गरिएको छ । बच्चाका आमाहरूलाई पोषिलो खाना बनाउन सिकाएर बच्चाको पोषणमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको साँवाले जानकारी दिए ।

suaahara3कार्यक्रमले विभिन्न परिकारहरूको निर्देशिका बनाई गाउँगाउँमा कार्यरत कार्यक्रमका फिल्ड सुपरभाइजर तथा महिला स्वास्थ्य स्वयमसेविकामार्फत आमा समूहमा पोषिलो खाना बनाउन सिकाउँदै आएको छ । अहिलेसम्म आमा समूहहरूमा पोषिलो जाउलो, सर्वोत्तम पिठोको पोषिलो लिटो, गेडागुडीको हलुवा, फर्सीको खीर, फर्सी र अन्डाको पकौडालगायत परिकार बनाउन सिकाएको छ ।

यसैगरी, अन्डाका विभिन्न परिकारहरू, सखरखण्डको मिठो सुप, पोषिलो अन्डा र सिमी बनाउने कार्यक्रमहरू अहिले पनि जारी रहेको साँवाले जानकारी दिए ।

फर्सी तथा अन्डाको विभिन्न परिकार बनाउन सिकाउने कार्यक्रमलाई गाउँघरका हजार दिनका आमा अर्थात् बच्चा गर्भमा रहेदेखि दुई वर्ष पुगिन्जेलका आमाहरूले सकारात्मक रूपमा लिएका छन् ।

ताप्लेजुङ निघुरादिन–१ कि महिला स्वास्थ्य स्वयं सेविका फूलमाया पौडेलले यो कार्यक्रमबाट बच्चाका आमाहरूलाई धेरै फाइदा पुगेको जानकारी दिइन् । बच्चाहरूलाई कस्तो खाना कसरी बनाएर खुवाएमा राम्रो हुन्छ भन्ने बारेमा अनविज्ञ रहेका आमाहरूलाई कार्यक्रमले फरक–फरक स्वादका परिकार बनाउन सिकाएर बच्चाको खानपानमा परिवर्तन ल्याएको उनको भनाइ छ । ‘पहिले बच्चाहरूलाई छुट्टै खाना बनाएर खुवाउने चलन थिएन, अरूलाई पकाएको खाना मिचेर खुवाउने चलन थियो । आमा समूहमा बच्चाका आमाहरूलाई पोषिलो खाना बनाउन सिकाएपछि बच्चाहरूलाई छुट्टै खाना बनाएर खुवाउन थालेका छन्, यो कार्यक्रमको सबल पक्ष हो,’ फूलमाया भन्छिन् । यस कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि फाइदा पुगेको उनले बताइन् । ‘बच्चाका आमा तथा परिवारसँग परामर्श गर्दा यस्तो खाना बनाउनुपर्छ भन्दा मात्र उनीहरूले बुझ्दैनन् तर पोषिलो खाना बनाउन सिकाएपछि उनीहरूले सजिलै बुझ्ने गरेका छन्,’ उनले भनिन् ।

ताप्लेजुङ फूलबारी–७ बस्ने सुनौला हजार दिनकी आमा विष्णुमाया सेन्दाङले आफूलाई पहिले विभिन्न परिकारका पोषिला खानेकुराको बारेमा राम्रो थाहा नभएको तर कार्यक्रम सञ्चालन भए पछि फरकफरक स्वादका खान बनाई बच्चालाई खुवाउन सहज भएको जानकारी दिइन् । विभिन्न प्रकारका खाद्यन्न जस्तै अन्डा तथा ताजा तरकारीलगायत मिसाएर तयार बनाएको पोषिलो खाना बच्चाले पनि मनपराएको सेन्दाङको अनुभव रहेको छ ।

suaahara2

प्रतिक्रिया