प्रवासमा देखियो नेपालीको एकता

bernबर्न, ११ असोज । स्वीटजल्याण्डको बर्नमा भारतले नेपालमाथि हस्तक्षेप गरेको भन्दै सोमबार नेपाली समुदाय स्वतस्पुर्त विरोध प्रदर्शनमा निस्केर विरोध गरेका छन् । बर्नमा रहेका नेपालीहरूले सार्वभौमसम्पन्न राष्ट्र नेपालमाथि भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली संघ र नेपाली ऐक्यबद्धता मञ्चको अगुवाइमा प्रदर्शन गरिएको हो ।

बर्नस्थित भारतीय दूतावासको अगाडि जम्मा भएका उनीहरू राष्ट्रिय झण्डा, ब्यान र विभिन्न प्लेकार्डसहित उपस्थित थिए । प्रदर्शनमा कांग्रेस, एमाले र एमाओवादी आबद्ध भ्रातृ संस्थाका कार्यकर्ताहरूको ब्यापक उपस्थिति थियो । कार्यक्रमलाई नेपालका राजनीतिक दलको नैतिक सर्मथन रहेको नेपाली जनसम्पर्क समितिका सभापति राम महतोले बताए । भारतले नाकाबन्दी गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको उल्लेख गर्दै उनीहरूले भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।

यसअघि तीनवटै संस्थाले संयुक्त वक्तव्य जारी गर्दै भारतीय पक्षले नयाँ संविधानमा राख्न खोजेको सात बुँदे प्रस्ताव राष्ट्रघाती भएको भन्दै प्रदर्शनमा उपस्थित हुन स्वीजरल्याण्डका नेपाली समुदायसँग आग्रह गरेको थियो ।

प्रदर्शनपछि बोल्ने वक्ताहरूले भारतलाई असल छिमेकी बनेर देखाउन आग्रह गरेका थिए । विरोधपत्र बुझाउन प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय मुडभरी, नेपाली जनसम्पर्क समितिका सभापति, राम महतो, नेपाली ऐक्यबद्धता मञ्चका अध्यक्ष, अच्युत फुयाल, गुणराज शर्मा, गैरआवासीय नेपाली संघ स्वीजरल्याण्डका अध्यक्ष, हिरावल गुरुङलगायत भारतीय दूतावास पुगेका थिए ।

यसैबीच गैरआवासीय नेपाली संघ स्पेनको सक्रियतामा बार्सिलोनामा सम्पन्न राजनीतिक, जातीय तथा सामाजिक संघसंस्थहरूको भेलाले भारतले लगाएको अघोषित नाकाबन्दीको विरोध गर्दै खेद प्रस्ताव पारित गरेको छ । संघले अगामी बुधबार बार्सिलोनास्थित भारतीय कन्सुलर कार्यालयमा पुगेर स्वतन्त्र राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेपबिरुद्ध ज्ञापनपत्र दिने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया