नेवारी संस्कृतिमा गणेश चतुर्थी

ganesh_charturthiहरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन नेवारहरूले चथाः नखः चाड मान्ने गर्दछन् । चथाः देवता पूजा गर्न नेवारहरूले बिहानै उखुको बोट, अदुवाको बोट चथाः फूल, पारिजात, कमलको पात किनेर ल्याउँछन् । देवतालाई चढाउन सानो नास्पाती, हरियो झम्सी, हरियो खुर्सानी, काँचो लप्सी पनि किनेर ल्याउँछन् । सानो दसैँ चाडका रूपमा मान्ने सन्दर्भमा समयबजी राखेर आगम देवताको पूजा गर्छन् । नयाँ आएको मकै पुरानो मकै, भटमास, आरुको बियाँ विभिन्न १२ थरी गेडागुडीलगयात छुस्यामुस्या चढाएर काँक्रो, नास्पाती, अम्बा, उखुको बोट, अदुवोको बोट राखेर भोजको भाग चढाउँछन् । चथाः चाड आयो कि दसैँ पनि आयो भन्ने सम्झिन्छन् । चथाः नखः जुन हप्तामा पर्छ महिना दिनपछि त्यही हातामा दसैँको कुछि भ्वय् अष्टमीको भोज पर्छ । चथाःको दिन पानी परेमा दसैँमा पनि पानी पर्छ भनिन्छ । चथाः नखः चाड राम्ररी मनाउनसके दसैँको चाड पनि राम्ररी मान्न सकिन्छ भन्ने विश्वास छ । त्यसैले नेवारहरूले चथाः नखः राम्ररी मानेर सानो दसैँको रूपमा देवतालाई पूजा गरेर प्रसादका रूपमा समयबजी र छुस्यामुस्या पनि खान्छन् । अनि बेलुका भोज पनि खान्छन् । चथाःको चाडमा भोज खान नयाँ चिउरा चाहिन्छ भनी नयाँ धानको चिउरा कुटेर ल्याउँछन् ।

नथाः देवतालाई चोर देवता पनि भनिन्छ । त्यसैले कसैलाई पनि चथाः द्यः भन्नु हुन्न रिसाउँछ । नेवारहरूले विभिन्न देवताहरूको पूजा गर्ने क्रममा चोर देवतालाई पनि पूजा गर्ने चलन छ । आफूलाई त्यसैत्यसै चोर दोष नलागोस् भनी चोर देवतालाई पनि पूजा गरिने हो । मानिसहरूको दिनदशा बिग्रेका बेलामा चोर दोष लाग्ने, नचाहिँदो दोष लाग्नु, नभनेको वा नबिराएको काम कुरामा पनि दोष खप्नुपर्ने हुन्छ । त्यसैले त्यस्ता नचाहिँदा काम कुराको दोष नलागोस् भनेर नै चोर देवतालाई पूजा गरिने हो । नेवारहरूले चोर देवता भनी मान्दै आइरहेको देवता नै चथाः देवता हो ।

चथाः देवता अर्थात् चोर देवता भनी मान्दै अइरहेको सन्दर्भमा नेवारी संस्कृतिअनुसार देवताहरूका पनि राजा देवेन्द्र इन्द्रलाई नै चोर देवता भनी मान्दै आइरहेको पाइन्छ । एउटा किंवदन्तीअनुसार इन्द्रकी आमाले बसुन्धराको पूजा गर्न चथाः स्वाँ पारिजातको फूल स्वर्गमा नभएकाले फूल ल्याउन इन्द्रलाई अ¥हाइन् । इन्द्रले फूल खोज्दै जाने क्रममा मानिसको रूप लिई काठमाडौं भीमसेनस्थान टोलको तल खेतमा ख्यः क्वयमा चथाः स्वाँ पारिजात टिपिरहेको बेलामा खेतका मालिक ज्यापुले देखेर चोर भनी समाई डोरीले बाँधिदिएछ । चोरलाई सजाय दिने क्रममा मरुको सिंह सत्तलअगाडि दोबाटोमा उभ्याएर सबैलाई देखाउन राखेछ । चथाः स्वाँ लिन गएका इन्द्र निकैबेरसम्म पनि नआएकोले इन्द्रकी आमा यहाँ आएर हेर्दा त आफ्नो छोरालाई बाँधिराखेकोदेखि आफ्नो छोरा र आफ्नो परिचय दिँदै ज्यापुसँग क्षमा मागेर खेती गर्ने ज्यापुहरूलाई नभई नहुने धान पकाउने कुइरो र दिवंगत भएकाहरूलाई स्वर्गमा लगेर सुगतिमा पार्ने वचन दिई आफ्नो छोरा इन्द्रलाई स्वर्गमा लिएर गएकी हुन् भनिन्छ । त्यही बेलादेखि काठमाडौंका नेवारहरूले हरेक वर्ष इन्द्रजात्राका दिन दिवंगत भएका परिवारका सदस्यहरू सुगति परोस् भनी दाँगी जाने चलन भएको हो । दाँगी हुने इन्द्रकी आमा हुन् भनिन्छ । त्यसैबेलादेखि इन्द्रजात्रामा जात्रा मान्ने क्रममा इन्द्रलाई डोरीले बाँधेर दुवै हात फैलाएर राखिएको काठको मूर्ति बनाई प्रदर्शन गरिँदै आएको हो भनिन्छ ।

चथाःको दिन चथाः देवतालाई राती पूजा गरिन्छ । बेलुका अँध्यारो भएपछि कुकुरहरू भुक्न थाले भने लौ चथाः देवता चोर देवता आयो पूजा गरे पनि भयो भनी कौसीमा गई पूजा गर्छन् । चथाः द्यः पूजा गर्दा गणेश र चन्द्रमा सँगै राखेर देवताको पूजा गर्छन् । नेवारहरूले जुनसुकै पूजा गरे पनि नभई नहुने सुकुन्दा पनि बाल्छन् । सबैभन्दा पहिला सुकुन्दामा पुजा गरेपछि मात्र गणेश, चन्द्रमा र चथाः देवताको पूजा गर्छन् । चथाः देवतालाई मीठामीठा खाने कुरा राखेर पूजा गर्नु हुँदैन चोर पल्किन्छ भनी तितो टर्रो नास्पाती, मुखै पोल्ने हरियो खुर्सानी, हरियो झम्सी र काँचो लप्सी चढाएर दाँत कुँडिने र खानै नहुने गरी भुटिराखेको मकै, छुस्यामुस्या र गेडागुडी पनि चढाउने गरिन्छ । चथाःका दिन राती चन्द्रमा हेर्न हुँदैन चोर दोष लाग्छ भनी चन्द्रमामा नहेरी चथाः देवताको पूजा गर्छन् ।

यसरी नेवारी संस्कृतिअनुसार चथाःका दिन नेवारहरूले चन्द्रमा नहेरेझैँ अन्य जातिका मानिसहरूले पनि चथाःको चन्द्रमा हेर्दैनन् । उनीहरूले पनि चोर दोष लाग्छ भनी चन्द्रमा नहेर्ने गरेका हुन् । चथाःका दिन किन चन्द्रमालाई हेर्नु हुँदैन भन्ने कुरामा गणेशसँग सम्बन्ध रहेको एउटा आख्यान छ ।

भाद्रशुक्ल चतुर्थी अर्थात् चथाःका दिन गणेशको जन्म भएको हो । त्यसैले शिव, पार्वती, ब्रम्हा, विष्णुलगायत ३३ कोटि देवताहरूले हर्षोल्लासका साथ रमाइलो गर्दै श्रीगणेशको जन्मोत्सव मनाइरहेको थिए । सम्पूर्ण देवताहरूले हर्षित भई श्रीगणेशको महिमा वर्णन गर्दै आशीर्वाद दिइरहेको बेलामा चन्द्रमाले भने सबै देवताहरूको रूप राम्रो छ तर गणेशको रूप भने हेर्दै कस्तोकस्तो छ, हात्तीको टाउको जोडिइराखेको, खुट्टा भने हात्तीकै जस्तो ठूलाठला भ्यात्त परेका हात्तिपाइले त्यसमा पनि पेट भने ज्यादै ठूलो भुँडे भन्दै गिज्याइरह्यो । यसरी अफूलाई गिज्याएको देखेर गणेशले रिसाएर चन्द्रमालाई ‘तेरो मुख राम्रो छ भनी तैँले धेरै अभिमान गरिस् । तेरो मुख जसले हेर्छ, ऊ चोर बनोस् र महादेवको शिरबाट पनि तँ तल खसेस् ।’ भनी सराप दिएछन् ।

गणेशले यसरी सराप दिएपछि त्यहाँ भएका सबै देवताहरूले चन्द्रमालाई घृणा गरेर उसको मुख हेर्नुपर्ला भनी मुन्टो बटार्न थाले । यसरी ठूलो सराप थाप्नु परेको र देवताहरूले पनि घृणा गरेकाले अत्यन्तै दुःखी भई चन्द्रमा त्यहाँबाट फर्केर गई एकान्तस्थानमा एक्लै लुकेर रोइरह्यो । चन्द्रमा यसरी रोइरहेको देखेर नारदले भनेछन्, ‘भैगो अब जे नहुनुपर्ने हो भइसक्यो, तिमीले पनि यसरी अभिमान गरेर गणेशलाई होच्याउनु नहुने हो । अब तिमीले गणेशको सरापबाट बच्न महादेवको तपस्या गर ।’

नारदको सल्लाहअनुसार चन्द्रमाले महादेवको तपस्या गरेछन् । चन्द्रमाको तपस्याबाट खुसी भई महादेवले दर्शन दिएर चन्द्रमालाई भनेछन्, ‘गणेशले दिएको सरापबाट मैले पनि तिमीलाई बचाउन सक्दिनँ । त्यसैले तिमीले गणेशको पाउ परेर माफी माग्नू ।’ महादेवले नै यस्तो भनेपछि चन्द्रमाले पनि गणेश कहाँ गएर पाउ परेर माफी मागेछन् । गणेशले पनि मैले दिइसकेको सराप खेर जाँदैन, त्यसैले मैले दिएको सराप वर्षमा एकदिन मेरो जन्मदिनमा अर्थात् भाद्र शुक्लचर्तुर्थीका दिन मात्र लागोस् । त्यो दिन कसैले पनि तेरो अनुहार हेर्नुहुँदैन । हेरेमा चोर दोष लाग्छ भनेकाले त्यही मान्यताअनुसार आजसम्म पनि सबैले चथाःका दिन चन्द्रमालाई हेर्दैनन् ।

गणेशको जन्मोत्सव भएकाले भाद्रशुक्ल चर्तुर्थीका दिन नेवारहरूले गणेशको पूजा विशेष रूपमा गर्दै जात्रा पनि मनाउँछन् । जमःमिहरूले अर्थात् जमलवासी नेवारहरूले कमलादी गणेशको भव्य जात्रा गर्छन् । बाजागाजासहित गणेशको खट नगर परिक्रमा गराइन्छ ।

घरैपिच्छे माटाको गणेश ल्याई घरमा स्थापना गरेर चथाःका दिनदेखि ६ दिनसम्म पूजा गर्छन् । दिनहुँ बिहान बेलुका पूजा गरी भजन गाउँछन् । अनि छैठौँ दिनमा घरैपिच्छेबाट गणेशको माटोको मूर्तिलाई बोक्दै बाहिर ल्याई जात्रा गर्दै छुट्टाछुट्टै समूह मिलेर पशुपति, आर्यघाट, गुहेश्वरी, गौरीघाट र सुन्दरीजलको नदीमा लगेर विर्सजन गरिन्छ । विशेष गरेर केही वर्षअघिदेखि नेपालमा व्यापार गरी बसेका मारवाडी तराईका बासिन्दा भारतीयहरूले यस प्रकारका गणेशको पूजा गर्ने र नदीमा विसर्जन गर्ने कार्यमा व्यापकता दिन थालेको पाइन्छ । तर नेवारी संस्कृतिमा भने जुनसुकै चाडबाडमा पनि गणेशलाई पूजा गर्दा समयबजी, जाँडरक्सी चढाएर पूजा गर्ने चलन छ । नेवारी संस्कृति र परम्पराअनुसार गणेशलाई पनि पशुबलि दिने चलन छ ।

प्रतिक्रिया