गोदावरी मेला र फूलचोकी माई

12_barse_kumvamelaफूलचोकी डाँडामुन्तिर रहेको गोदावरी बगैँचासँगै प्राचीन बुद्धगुम्बाका साथै बाह्र वर्षमा एकपटक गोदावरी मेला अर्थात् सिंहअस्त मेला लाग्ने गोदावरी कुण्ड छ । यहाँको प्राकृतिक गुफाको ढुंगाको कापबाट आइरहेको स्वच्छ, निर्मल पानी बगिरहने पाँचवटा ढुंगेधारा र कुण्ड नै १२ वर्षे मेलामा नुहाउने पवित्र जल कुण्ड रहेको छ ।

सूर्यसिंह राशिमा बसेर हस्ता नक्षत्र परेको दिनलाई सिंहहस्ता भनिन्छ । प्रत्येक १२ वर्षमा एकपटक वृहस्पति ग्रह सिंह राशिमा अस्त हुने समय भाद्र महिनाको १ गतेबाट एक महिनासम्म गोदावरी कुण्डमा नुहाउने महामेला लाग्दछ । नेपाल र भारतदेखि टाढाटाढाबाट भक्तजन गोदावरीको १२ वर्षे मेला भर्न यस महातीर्थमा आउने गर्दछन् । यसपटकको १२ वर्षे गोदावरी महामेलामा ५०–६० लाखा भक्तजन आउने अनुमान गरिएको छ । ललितपुर धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको धनी भएकाले पनि रमणीयस्थल गोदावरीमा मेला भर्ने श्रद्धालु भक्तजनका साथै स्वदेशी र विदेशी पर्यटक पनि अपार संख्यामा आउने अनुमान गरिएको हो ।

गोदावरीको यो १२ वर्षे महामेला पाँचौँ शताब्दीमा किरातकालीन राजाको पालादेखि सुरु भएको ऐतिहासिक तथ्य छ । सूर्य सिंह राशिमा रहुन्जेल र सिंह राशिमा वृहस्पति अस्त रहेको समय अवधिसम्म एक महिना सिंह अस्त मेला अर्थात् गोदावरी मेला लाग्ने चलन छ । सूर्य हरेक भाद्र महिनामा सिंह राशिमा प्रवेश गर्छन् तर बृहस्पति सिंह राशिमा अस्त हुन १२ वर्ष लाग्छ । स्कन्दपुराणको हिमवत् खण्डमा गोदावरी महातीर्थको बोला चर्चा गरिएको छ । हिमवत खण्डको नेपाल महात्म्य अध्याय १८७ मा सिंहमा बृहस्पति भएको बेला गोदावरी महातीर्थमा स्नान गर्नाले पापरहित भई कोटी संख्याको गाई दान गरेसरहको फल प्राप्त हुन्छ भनिएको छ । यस अवधिमा स्वर्गबाट समेत तेत्तीय कोटी देवता आई त्रिकाल स्नान गर्छन् भन्ने धार्मिक मान्यता रही आएको छ । बाह्र वर्षमा एकपटक हुने यस महामेलामा गोदावरी कुण्डमा स्नान गरेर सिद्धेश्वर महादेवको दर्शन गरेमा सयौं वर्ष पुरानो रोग, विषम ज्वर जस्ता रोग नाश भई रुद्रलोक प्राप्त हुनेछ भन्ने धार्मिक जनविश्वास छ । गोदावरीमा यसरी १२ वर्षे महामेला लागिरहको अवधिमा पानीमा तेल राखी दिएमा पानीमाथि तेल नतर्की पानीमुनि नै जान्छ भन्ने पनि मान्यता छ ।

गोदावरी कुण्डको मेलाबारे प्रचलित विभिन्न आख्यानमध्ये एउटा आख्यान यस्तो छ । सप्तर्षिमध्येका एक गौतम ऋषिले भारतको गोदावरीबाट आई फुलचोकी डाँडामुनि रहेका सिद्धेश्वर महादेवको तपस्या गरिरहेको बेलामा त्यहीँ चराउन ल्याइएको एउटी कैली गाई भीरबाट लडेर मरेछ । आफ्नै अगाडि गाई मरेकोदेखि गौतम ऋषि अत्यन्तै दुःखी भइरहेको बेला महादेवले गौतम ऋषिलाई दर्शन दिँदै भारतको गोदावरीमा दिनहुँ गई स्नान गरेर यहाँ आर्य फुलचोकीका सिद्धेश्वर महादेवको शिवलिङ्गमा दिनहुँ जल चढाउने गरेमा सम्पूर्ण पाप नष्ट हुने वरदान दिई अन्तरध्यान भएछन् । ऋषिले पनि आफ्नो योगबलतन्त्र शक्तिद्वारा दिनहुँ भारतको गोदावरीमा गई स्थान गरेर त्यहाँबाट जल ल्याई सिद्धेश्वर महादेवलाई जल चढाएर छायादर्शन गर्ने गरेछन् । एक दिन सिंह अस्त मेला परेको दिन सूर्य, चन्द्र र बृहस्पति सिंह राशिमा प्रवेश भएका दिनमा गौतम ऋषि त्यहीँ नै सिद्ध भएका हुन् भनिन्छ ।

भारतको गोदावरी तीर्थ र फुलचोकीको सिद्धेश्वर महादेवको निरन्तर सेवा गरेर गौतम ऋषिले योगबलद्वारा गोदावरीलाई फुलचोकीमा प्रकट गराउन सफल भएको धार्मिक विश्वास छ । चिम्टा, कमण्डलु, खराउ र तपस्या गरेको स्थानमा स्वयं सिद्ध गाईको गोबर प्रज्वलित अग्निकुण्डसहित गौतम ऋषिको कुटीको अवशेष गोदावरीमा अझैसम्म रहेको छ ।

फूलचोकी माई
हरेक वर्ष यसै समयमा हुने फूलचोकी माईको मेला यस वर्ष वाह्रवर्षे गोदवारी मेला परेकाले फुलचोकी माईको मेला पनि अत्यन्तै रमणीय बन्न पुगेको छ । करिब २० माइल क्षेत्रफलमा फैलिएको प्रकृतिको राजधानी जस्तै देखिने गोदावरी बौद्धदेवी फूलचोकी माई र प्राकृतिक फूल र रुखहरु भएकाले नेपालको एउटा प्रसिद्ध तीर्थस्थलका रूपमा प्रसिद्ध छ । लगनखेलबाट करिब ६ किमी दक्षिण हरिसिद्धि, ठैब बाडेगाउँ भई गएपछि गोदावरी पुगिन्छ । गोदावरीमा भएको फुलचोकी डाँडा ९००३ फिट अग्लो छ । काठमाडौं उपत्यका घेरिरहेका डाँडाहरु शिवपुरी (८,९६२ फिट), मणिचुड दह (७,२०० फिट), महादेव पोखरी (७१० फिट), त्रिवेणी डाँडा (६,९५३ फिट), र चम्पादेवी (७,३७३ फिट), चन्द्रागिरि (७,९५० फिट), नागार्जुन (६,३३० फिट) र नगरकोट (५,९३३ फिट) अग्ला डाँडामध्ये सबैभन्दा अग्लो डाँडा हो फूलचोकी । गोदावरी ९ धाराबाट करिब २ माइल हिँडेर पुग्न सकिने फुलचोकी माई बौद्ध चैत्यमा जाने बाटो डाँडामा करिब २० जातका सुनगाभा फुललगायत विभिन्न फूल, रुख र बाक्लो घना जंगल छ ।

द्वापर युगमा स्वयम्भू ज्योतिको दर्शन गर्न विश्वभूबुद्ध आउँदा उपत्यका पानीले भरिएको पोखरी थियो । विश्वभूबुद्धले गोदावरी वनका १,२५,००० थुंगा फूल टिपेर स्वयम्भूलाई चढाएका थिए भनिन्छ । स्वयम्भू पुराणअनुसार चीनबाट आएका महामञ्जुश्री र उनका श्रीमतीहरु वरदा(सरस्वती) र मोक्षदा(भगवती) यही फुलचोकीमा विश्राम गरी उपत्यकाको पानी कसरी बाहिर पठाउने भनी विचार गरेका हुन् भनिन्छ । चोभारको डाँडा न्हासिकापबाट उपत्यकाको पानी बाहिर पठाउने निर्णय गरेपछि वरदालाई फुलचोकीमै राखी चोभारमा गई न्हासिकापमा आफ्नो खड्गले प्रहार गरी पानी बाहिर पठाएका हुन् भनिन्छ । त्यही समयदेखि यहाँ फुलचोकीमा रहेको वरदालाई फुलचोकी माई भनी पवित्र तीर्थका रुपमा मेला भर्ने गरिएको हो । फुलचोकी डाँडामा रहेकी बौद्धदेवी फुलचोकी माईको दुईतल्ले प्यागोडा शैलीको मन्दिर र नौवटा ढुंगेधारा, पोखरी र पाटीसहितको व्यवस्थित ढंगबाट वरदा र बसुन्धरादेवी पनि भनिने फुलचोकी माईको मन्दिरमा दायाँबायाँ पूर्ण कलश, अवलोकितेश्वर, गणेश, बुद्ध, कुम्भेश्वर, विष्णु, शिवलिंग, कामदेव, हनुमानलगायत विभिन्न देवताका प्रस्तर मूर्तिहरु पनि छन् । १७औँ शताब्दीमा निर्मित फुलचोकी माईको मन्दिर परिसरमा कुण्डमाथि रत्न सम्भव, अमिताभ, अमोघ सिद्धि र अक्षोम्य पञ्चबुद्धको ढुंगाका चैत्यहरु पनि छन् । प्रवेशद्वारमा यमदूत र सिंह राखिएको फुलचोकी माईको मन्दिरको तोरणमा बसन्धुरा, ढलौटको छाना र त्वानासिमा अष्टमातृका देवीका मूर्तिहरु कुँदिएकाले यो मन्दिरलाई अत्यन्तै शोभायमान बनाएको छ ।

फूलचोकी डाँडामा उपत्यकाका धेरै मानिस प्राकृतिक सौन्दर्य हेर्न र वनभोज मानउन बेलाबेलामा जाने गर्दछन् । जाडोयाममा हिउँ पर्दा पनि यहाँ युवायुवतीको भीड लाग्छ अनि उनीहरु हिउँमा खेलेर रमाउने गर्छन् । वर्षायाममा भने यहाँ पहिरो जाने गर्छ त्यसैले पानी नपरेको समय पारेर जाने गर्नुपर्छ । यहाँ बौद्धमार्गीले पनि पूजाआजा गर्छन् । विशेषतः धलं दनेगु विशेष पूजा पनि गर्ने चलन छ । भिक्षा भन्टेहरुले उपासक उपासिकालाई त्यहाँ लगेर फुलचोकी माई बुद्धचैत्यमा पूजापाठ गराइरहन्छन् । डाँडामाथिसम्म गाडी लान मिल्ने भएकाले पनि फुलचोकी माई बौद्धचैत्य विहारलाई मान्नु त स्वाभाविकै भयो त्यसमा पनि यही दिन फुलचोकी माईको मेला भएकाले यहाँ भक्तजनको अझ बढी भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया