हरेक वर्ष भाद्र कृष्ण औंसीका दिन छोराछोरीहरूले आफ्ना बाबुको मुख हेर्ने भन्दै विभिन्न परिकार खुवाएर यथाशक्य उपहार पनि दिएर आफ्ना पिताको सम्मान गर्दछन् । त्यसैले यस दिनलाई पिता सम्मान दिवस ‘फादर्स डे’को रूपमा मान्दै आएको हो । आमाबाबुले आफ्ना सन्तानलाई जन्म दिएर सक्षम बनाई दिने भएरै यो संसारमा आमाबाबुभन्दा ठूला कोही छैन भनिएको हो । यदि संसारमा कतै भगवान् छन् भने त्यो आमाबाबु नै हुन् । त्यसैले त धर्मशास्त्रमा पनि भनिएको छ, ‘मातृदेवो भवः, पितृदेवो भवः’ । त्यसैले त आमाबाबुको सेवा गर्नु नै देवताको पूजा गरेकै ठहर्छ भनिएको हो । आमा बाबु हुनेहरूले आफ्ना आमाबाबुको सेवा गर्ने, आफ्नो मूल्य, मान्यता, आदर्श र कर्तव्य पालन गरे पुग्छ । यही नै धर्म हो, देवताको पूजा हो भनी धर्मशास्त्रमा पनि भनिएको छ ।
नेवारी संस्कार अनुसार हरेक वर्ष भाद्रकृष्ण औंसीका दिन छोराछोरीहरूले बाबुको मुख हेर्ने गर्दछन् । बाबुको मुख हेर्ने दिन भनेकै बाबुको सम्मान गर्ने दिन हो । नेवारी संस्कृतिमा छोराछोरीहरूले बाबुको मुख हेर्ने दिनमा बाबुलाई उसिनेको अन्डाको सगुन दिई मीठामीठा रोटीका परिकार र फलपूmल खुवाउने गर्दछन् । विवाह गरी पठाइसकेकी छोरीचेली माइतीमा आई बाबुको मुख हेर्ने गर्दछन् । बिहे गरेर पठाएको वर्षमा भने छोरीचेलीले पहिलोपटकको कु(भारी) भनी उसिनेको अन्डाहरू, चिउरा, रोटी मिठाई, तारेका माछा, मासु फलफूल, जाँडरक्सीलगायत सगुनका साथै विभिन्न धेरै परिकार ल्याउने चलन छ । यो नेवारहरूको संस्कार हो ।
बाबु नभएका अर्थात् बाबु दिवंगत भइसकेका छोराछोरीहरूले भने स्नान गरेर चोखोनितो गरी गुरुजुलाई बाबुको नाममा निसलाः सिवा दिई बाबुलाई श्रद्धा गरेर सम्झने गर्दछन् । यो दिनलाई गोकर्णे औँसी पनि भन्ने गरिन्छ । किनभने बाबु नभएका छोराहरूले गोकर्ण तीर्थमा गएर श्राद्ध गर्ने चलन छ । गोकर्ण ठूलो तीर्थ हो । उत्तर गंगा पनि भनिने गोकर्ण नदीमा गएर श्रद्धा गरेमा दिवंगत पितृ तर्छन् भन्ने धार्मिक जनविश्वास छ ।
गोकर्णमा हिन्दू र बौद्धमार्गीहरू सबै गएर श्राद्ध गर्ने गर्दछन् । गोकर्णमा सूर्यमति, चन्द्रमति र वागमतिको संगम त्रिवेणी र गोकर्णेश्वर महादेव भएको तीर्थलाई बौद्धहरूले १२ वटा तीर्थमध्ये एउटा उत्तम तीर्थका रूपमा मान्ने गर्दछन् ।
गोकर्ण तीर्थको सम्बन्धमा रहेको एउटा आख्यान अनुसार एउटी वेश्या महिलाले गर्भवती भई दन्तुर नामका छोरा जन्माइन् । धेरै जनासँगको संसर्ग भएकाले जन्मेका छोराको बाबु को हो भनी आमाले थाहा पाउन सकिन । ठूलो भइसकेपछि पनि बाबुको नाम थाहा नपाएका छोरा दन्तुरले आमासँग बाबुको नाम सोधीसोधी हैरान पारे । केही सीप नलागेपछि आमाचाहिँले पुलह ऋषि कहाँ गएर आफूलाई परेको मर्का बताउँछिन् । पुलह ऋषिले बाबु चिन्ने हो भने गोकर्ण तीर्थमा गएर छोरालाई बाबुको श्राद्ध गराउनु दिवंगत बाबु आई पिण्ड लिन आउँछ भनी सल्लाह दिन्छन् । ऋषिले दिएको सल्लाह अनुसार गोकर्णमा गएर दन्तुरले श्राद्ध गरेर तर्पण दिँदा नदीबाट ‘म तिम्रो बाबु, म तिम्रो बाबु’ भन्दै धेरै जना पितृहरूले बोलाइरहे । छोरा दन्तुरलाई के गर्ने के नगर्ने भई अलमल भइरहेको बेलामा भगवान् ब्रम्हा आएर बाबु चिनाई दिएर तर्पण गराएका हुन् भनिन्छ । त्यो दिन भाद्रकृष्ण औंसीका दिन परेको रहेछ । त्यहीबेलादेखि नै गोकर्ण तीर्थमा हरेक वर्ष भाद्रकृष्ण औंसीका दिनमै बाबु नभएका छोराहरूले श्रद्धा भक्तिभावले श्राद्ध गर्दै आइरहेको हो भनिन्छ ।
गोकर्ण तीर्थको बारेमा अर्को एउटा आख्यान रावण र महादेवसँग सम्बन्धित रहेको छ । जनकपुरका राजा जनककी छोरी सीता स्वयंवरको समयमा रामले शिव धनु भाँच्यो मैले शिवलिंग नै भाँच्नेछु भनी लंकापति रावणले गोकर्णको वनमा गई दुई वर्षसम्म महादेवको कठोर तपस्या गरेछन् । रावणको तपस्याबाट खुसी भई महादेवले दर्शन दिँदै के वरदान चाहियो माग भन्दा रावणले मलाई तपार्इंको लिंग चाहियो भनी मागेछन् । महादेवले पनि आफ्नो लिंग रावणलाई दिँदै ‘यो लिंग कतै पनि नबिसाई लानुपर्छ, जहाँ बिसायो त्यहीँ सिद्ध हुनेछ, उठाउन सकिने छैन’ भन्दा रावणले स्वीकार गरी शिवलिंगलाई दुवै हातले उचालेर आफ्नो देश लंकामा लान्छु भनी गए । यो कुरा थाहा पाएर देवलोकमा हाहाकार भयो । लिंग नभई सृष्टि नै हुँदैन, सृष्टि नै रोकिने भयो भनी सबै देवताहरू पीर गर्न थाले ।
गोकर्णदेखि हिँड्दै गइरहेका रावण भारतको विहार प्रान्तको बाबाधाममा पुग्दा वायु देवताले रावणको शरीरमा प्रवेश गरी लघुशंका उत्पन्न गराई दिन्छन् । त्यही समयमा विष्णु भगवान् एउटा ब्राह्मणको भेषमा आई रावणको सामु देखा पर्छन् । रावणले बाम्हणलाई म नआउन्जेल समाइरहनु भनेर शिवलिंग हातमा दिएर लघुशंका गर्न जाँदा विष्णु भगवान्ले त्यो शिवलिंगलाई त्यहीँ भूइँमा राखेर अन्तध्र्यान हुन्छन् । यो आख्यान अनुसार के थाहा लाग्छ भने गोकर्णका शिवलिंग नै भारतका बाबाधाम हुन् । यही आख्यानको आधारमा भारतको गयालाई दक्षिण गया र नेपालको गोकर्णलाई उत्तर गया भनिएको हो । यही शिवलिंगको सम्झनास्वरूप पनि भाद्रकृष्ण औँसीमा श्राद्ध गर्ने, दान दिने र तर्पण दिने गरिएको हो ।
बाबु नभएका छोराहरूले गोकर्णमा गएर श्राद्ध गर्ने भएकोले गोकर्णे औंसी भन्ने गरिएको हो । नेवारी संस्कृतिअनुसार बाबु बितेको वर्ष दिनको काजक्रिया सिध्याइसकेपछि गोकर्णमा गएर श्राद्ध नगरेसम्म दैनिक भोजन गर्नुअघि पितृलाई चढाइने (बौ विगु) भोजन पितृले पाउँदैनन् भन्ने मान्यता रही आएकोले पनि नेवारहरूले एकपटक भए पनि गोकर्णमा गई श्राद्ध गर्ने चलन रही आएको छ ।
त्यस्तै श्राद्ध गर्दा कुश हातको औँलामा बाँधेर तर्पण गर्नुपर्ने भएकोले यो दिनलाई कुशे औँसी पनि भनिन्छ । यसै दिन गुरुपुरेतहरूले आफ्ना जजमानलाई कुश दिन ल्याउने र विभिन्न ठाउँमा कुश बेच्न पनि राखिएको हुन्छ । घरमा कुश ल्याएर राख्नुपर्छ घरमा शुभ हुन्छ भन्ने मान्यता छ । सूर्यग्रहण वजा चन्द्रग्रहण लागेको समयमा ग्रहणले छोएको पानी पनि खानु हुन्न, प्रयोग गर्नु हुन्न भन्ने चलन छ । तर ग्रहणको समयमा कुश पानीमा डुबाई राख्यो भने पानी शुद्ध हुने र खान पनि हुने भन्ने मान्यता छ ।
कुशको महत्व किनरहेको भन्ने कुरामा स्वस्थानी पुराणमा एउटा घटना छ । महादेव र जालन्धरका बीच युद्ध हुन्छ । तर, महादेवले जालन्धरलाई हराउन सक्दैनन् । जालन्धरको ठूलो शक्ति भनेकै जालन्धरकी श्रीमती वृन्दाको सतित्व हो ।
यो कुरा पत्ता लगाएर भगवान् विष्णुले जालन्धरको भेष लिई जालन्धरको घरमा गई वृन्दाको सतित्व भंग गरिदिन्छन् । यता वृन्दाको सतित्व भंग हुने बित्तिकै उता महादेवले जालन्धरलाई हराउन सफल हुन्छन् । विष्णुले आफ्नो परिचय दिँदै वृन्दालाई आफ्नो वास्तविक रूप देखाउँछ ।
विष्णुले यसरी छल गरेर आफ्नो सतित्व भंग गरिदिएकोले वृन्दाले रिसाएर विष्णुलाई ‘तँ घाँस, झार, रुख र ढुंगा भएर बस्न परोस्’ भनी सराप दिन्छिन् । यसरी वृन्दाले सराप दिएअनुसार घाँस भएर बस्न परोस् भनेकीले कुश भएर विष्णु बस्नुपरेको हो भनिन्छ । त्यस्तै झार, रुख र ढुंगा भएर बस्न परोस् भनेकीले तुलसी, पिपलको रुख र शालिग्राम भएर विष्णु बस्नुपरेको हो भनिन्छ । विष्णुको रूपमा कुशलाई मानी आएकोले कुशको महत्व भएको हो । त्यसै भएर कुशलाई विष्णुको रूप मानी श्राद्ध गर्दा औँलामा बाँधेर विष्णुलाई पनि साक्षी राखी श्राद्ध गर्ने चलन रहेको भनिन्छ । त्यसै भएर गोकर्ण औँसीलाई कुशे औंसी पनि भन्ने चलन रहेको हो ।
प्रतिक्रिया