गुँलापर्वको महत्व र विशेषता

नेवार समुदायले हरेक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भदौ शुक्ला प्रतिपदासम्म एक महिना गुँला पर्व मनाउने गर्दछ । यो समयमा स्वयम्भू महाचैत्यमा ठूलो भीड लागिरहेको हुन्छ । यो सममया स्वयम्भू र वरिपरिको परिक्रमा गरेमा पारिवारिक सुख, शान्ति र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

gunla Parbaनेपाल भाषामा गुँ भनेको ‘नौ’ र ‘ला’ भनेको महिना हो अर्थात् नवौँ महिना । नेपाल सम्वत् अनुसार नवौँ महिनालाई पवित्र महिनाका रूपमा लिइएको छ । बौद्ध धर्मावलम्बीले गुँलाको समयमा दिनहुँ बिहान सबेरै बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै बौद्धविहार, वहाः वहिपरिक्रमा गरेर मान्ने गर्दछन् । भक्तजनहरूले स्वयम्भू महाचैत्यको दर्शन गरिसकेपछि शोभा भगवती, विजयश्वरी सेतो मच्छिन्द्रनाथको पनि दर्शन गर्छन् अनि विभिन्न बौद्ध विहार, बहालको परिक्रमापश्चात आआफ्ना घरमा फर्किन्छन् । बाटोभरि गुँला बाजा बजाउँदै युवायुवती र भक्तजनहरूले विभिन्न बहाल र बही परिक्रमा गरेर यो गुँला पर्व मनाइरहँदा एक किसिमले वातवारण नै रमणीय भइरहेको हुन्छ । गुँलाभरि स्वयम्भू महाचैत्यमा भीड भइरहने त्यसमा पनि ज्ञानमाला भजन खलःको भजनले त झनै रमाइलो पारिरहेको हुन्छ ।

एक महिनासम्म चल्ने यो गुँला पर्वमा व्रत बसेर दिनको एक छाक मात्र खाएर दिनहुँ स्वयम्भू महाचैत्यमा पूजा गर्ने श्रद्धालु भक्तजनहरूको भीड लागेको हुन्छ । त्यस्तै कसैले भने माछा, मासु जाँड रक्सी जस्ता खानेकुरा छाड्ने भक्तजनहरू पनि हुन्छन् ।

गुँलाभर स्वयम्भू महाचैत्यसँगै रहेको हारती अजिमालाई नेवारहरूले विशेष रूपमा छायेकेगु (विशेष पूजा) गर्छन् । यस सम्बन्धमा एउटा आख्यानअनुसार प्राचीनकालमा हारती अजिमाले आफ्ना १०८ जना बच्चाहरू पाल्न मानिसहरू बच्चा चोरेर खाने गर्दो रहेछ । हराएका बच्चाका आमाबाबुहरूले रोई कराई गर्दै हिँडेको देख्न नसकी बुद्ध भगवानले हारती अजिमाका सबै बच्चाहरू गुँलाभर एक महिनासम्म लुकाइदिनुभयो । पछि भगवान् बुद्धसँग अजिमाले आफ्ना बच्चा फिर्ता माग्छिन् । अनि भगवान् बुद्धले तिमीलाई आफ्नो सन्तानको जति माया लाग्छ अरुलाई पनि त्यत्तिकै माया हुन्छ, त्यसैले आइन्दा तिमीले कसैको पनि बच्चा चोरेर नखाने बरु उल्टै माया गरी रक्षा गर्नुपर्ने भन्दै वाचाबन्धन गराएपछि मात्र भगवान् बुद्धले हारती अजिमालाई अत्यन्तै मनपर्ने ६ जना बच्चा मात्र फिर्ता दिई अन्य बच्चाहरूलाई हाल अजिमा देवीको मन्दिर अगाडि रहेको मण्डलमा छोपी दिनुभयो । त्यही समयदेखि हारती अजिमालाई छोयेकेगु विशेष पूजा गर्दा १०८ जना बच्चाहरूलाई पनि खुवाउने हिसाबले मन्दिर बाहिर रहेको मण्डलमा पूजा गरिँदै आएको छ । हारती अजिमालाई पूजा गर्दा मनोकामना पूरा हुने र बालबालिकाको रक्षा हुने जनविश्वास छ ।

स्वयम्भू पुराणका अनुसार प्राचीनकालमा उपत्यका एउटा ठूलो पोखरीका रूपमा रहेका बेला विपस्वी नामका बुद्ध आई कमलको फूल रोेपेर गएका रहेछन् । त्यही कमलको फूल फुलेपछि त्यही फुलमाथि धर्मधातु ज्योतिका रूपमा स्वयम्भू उत्पत्ति भएको हो । त्यही स्वयम्भू ज्योति उत्पत्ति भएको दर्शन गर्न महाचिनबाट आफ्ना दुईवटी श्रीमती वरदा र मोक्षदा साथै लिई आएका महामञ्जुश्रीले सबैभन्दा पहिला स्वयम्भूको ज्योतिको दर्शन गर्ने क्रममा दुवै हात जोडी नमस्कार गर्दै “ॐ मणि पद्मे हुँ” भनी मन्त्र पढ्का हुन् भनिन्छ । त्यसपछि महामञ्जुश्रीले चोभारको दायाँबायाँ रहेको पहाडमा एकातिर वरदा र अर्कोतर्फ मोक्षदालाई राखी आफ्नो खड्गले चोरभाको पहाड न्हासिकापमा प्रहार गरेर पोखरीमा जम्मा भइरहेको सबै पानी बाहिर पठाई मञ्जुपतन नामक बस्ती बसाएका हुन् । पछि वरदालाई राखेको पहाड फुच्वः र मोक्षदालाई राखेको पहाड धिलाच्वःका नामले प्रख्यात भएको हो भनिन्छ ।

धर्मधातुरूपी स्वयम्भूको ज्योतिलाई छोपेर महायान धर्म गुरु शान्ति कराचार्यले स्वयम्भू महाचैत्य निर्माण गरेका हुन् । त्यही समयदेखि चैत्यको पूजा गर्ने परम्पराका साथै चैत्य परिक्रमा गर्दै गुँला पर्व मान्ने गरिएको हो भनिन्छ ।

विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्वीले श्रृंगभेरी अर्थात् सिंगको बाजा फुक्न लगाएर स्वयम्भू महाचैत्य प्रदक्षिणा गराइन्छ । दिवंगत भइसकेकाहरूको आत्माको शान्ति होस्, सुखावती भुवनमा बास होस् भन्ने कामना गर्दै आफ्ना जहान परिवारले सिंग बाजा बजाउन लगाएर स्वयम्भूलाई परिक्रमा गराइन्छ । गुँला पर्वभर बौद्ध स्तोत्र, धारणी, नाम संगीति र सद्धर्म ग्रन्थ पाठ गरिन्छ ।

गुँलाको समयमै नागपञ्चमी, पाटन, काठमाडौं र भक्तपुरमा पञ्चदान, जनैपूर्णिमा, कुम्भेश्वर महादेवको मेला, गोसाइँकुण्डको मेला, गाईजात्रा, पाटनको मतयाः जात्रा, देवपतनमा खड्ग जात्रा र रोपाइँ जात्रा, श्रीकृष्णाष्टमी, बाबुको मुख हेर्ने आदि विभिन्न चाडबाड मेला, पर्व पर्ने भएकाले पनि गुँला पर्वलाई महत्वले भरिएको पर्वको रूपमा लिने गरिन्छ ।

गुँलाको समयमै साउन महिनाको सोमबार महादेवको मेला हुने भएकाले पनि यो समयलाई अत्यन्तै महत्वपूर्ण रूपमा लिँदै आएको देखिन्छ ।

यही समयमा सिद्धार्थ गौतमले बोधिसत्व ज्ञानका साथै बुद्धत्व प्राप्त गरेका हुन् । यसरी विभिन्न विशेषताले भरिएको गुँला पर्वको महत्व र विशेषताले गर्दा पनि नेवारी धर्म, संस्कृति र परम्पराको धरोहर अत्यन्तै उच्च रहेको छ भन्न सकिन्छ ।

प्रतिक्रिया