जुरिच । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयता क्रममा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता क्रमअनुसार नेपाल एक स्थान तल झर्दै १८५औँ स्थानमा झरेको हो । नेपाल दक्षिण एसियाली राष्ट्रमा पनि पुछारमा छ ।
नेपालले पछिल्लो समय कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाएका छैनन् । त्यसैकारण पनि वरीयतामा प्रभाव पर्न गएको हो । दक्षिण एसियामा अफगानिस्तान शीर्ष स्थानमा यथावत नै छ । अफगानिस्तान ४ स्थान फड्को मार्दै १३०औँ स्थानमा उक्लिएको छ । भारत १ स्थानमाथि उक्लिएर १५५औँ स्थानमा छ ।
यस्तै पछिल्लो समय फुटबलमा राम्रो प्रदर्शन गरिरहेको भुटान १६४औँ स्थानमा कायमै छ । पाकिस्तान १ स्थानमाथि उक्लदै १७०औँ स्थानमा छ । ३ स्थान तल झरेको बंगलादेश १७३, २ स्थान तल झर्दै माल्दिभ्स १७७ र दुई स्थान तल झरेको श्रीलंका १८४औँ स्थानमा छ ।
विश्व वरीयतामा शीर्ष ७ टीममा कुनै परिवर्तन भएको छैन । अर्जेन्टिना, बेल्जियम, जर्मनी, कोलम्बिया, ब्राजिल, पोर्चुगल र रोमानिया यथास्थानमै कायम छ । कोपा–अमेरिका कप विजेता चिली २ स्थानमाथि उक्लदै आठौँ स्थानमा आइपुगेको छ । वेल्स नवौँ तथा २ स्थान तल झर्दै इग्ल्यान्ड शीर्ष १० स्थानमा अटाउन सफल भएको छ । (एजेन्सी)
प्रतिक्रिया