काठमाडौ, ३ भदौ । नेपालले यु–१९ साफ च्याम्पियिनसिप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा नेपालले भुटानलाई ३–१ ले पराजित ग¥यो । खेलमा नेपालका विमल घर्ती मगरले ह्याट्रिक गरे । उनी चौथो गोलको नजिक पुगे पनि पेनाल्टी खेर फालेका थिए । १०औँ मिनेटमा बिमलले क्लिनिकल फिनिसिङको नमुना देखाउँदै पहिलो गोल गरे । तथापि, नेपालको अग्रता एक मिनेटभन्दा बढी टिक्न सकेन । लगत्तै सोनाम टोग्वले पनि आकर्षक गोल गर्दै भुटानलाई खेलमा फर्काए । ३०औँ मिनेटमा बिमलले त्यत्तिकै आकर्षक गोल गरेपछि नेपालले अर्कोपटक अग्रता लियो । ६२औँ मिनेटमा बिमलले अर्को गोल गरे । ७३औँ मिनेटमा बिश्वास श्रेष्ठलाई लडाएपछि प्राप्त पेनाल्टी अवसरलाई विमलले खेर फाले । उनको प्रहार साइडबारमा लागेर बाहिरिएको थियो ।
खेलमा दबाब दिएको नेपालले अनेकौँ मौका गुमाएको थियो । पेनाल्टी पाएको १ मिनेटअघि मात्र बिश्वासको पासमा बिमलले प्रहार गरेको बल गोलपोस्टको छेउैबाट बाहिरिएको थियो । पहिलो अवसर भने भुटानले पाएको थियो । पाँचौँ मिनेटमा सोनाम टाग्बेले गोलरक्षक मात्रै भएको अवसरमा पनि गोल गर्न चुकेका थिए । खेलमा राम्रो अवसर गुमाउनेमा बिमल नै रहे । १५औँ मिनेटमा बिश्वासको क्रसमा बिमल हेड गर्न चुके । त्यसको लगत्तै सुदनको पासमा अञ्जन विष्टले नजिकैबाट गरेको प्रहार बाहिरियो । पहिलो हाफको मध्यमा भुटान पनि केही आक्रमक बनेको थियो । केजाङ वाङदीको प्रहार नेपाली गोलरक्षकले बचाएका थिए ।
पहिलो जितमा बाबजुद चार पहँेलो कार्डको कारण नेपाली टोलीमा दबाब थपिएको छ । प्रतियोगिताको कुनै पनि दौरान नेपालका कुनै पनि खेलाडी प्रतिबन्धित हुन सक्नेछन् । ४२औँ मिनेटमा आकास थापाले पहँेलो कार्ड पाए । ६७औँ मिनेटमा हेमन्त थापाले अर्को पहेँलो कार्ड पाए भने ८८औँ मिनेटमा कमल श्रेष्ठ तथा इन्जुरी समयमा तेज तामाङले पहँेलो कार्ड पाए । नेपाली टोलीका प्रशिक्षक जितका बाबजुद टोलीको प्रदर्शनमा असन्तुष्ट रहे । ‘प्रतियोगिताको पहिलो खेल भएका कारण केही नर्भसपन देखिएको हुन सक्छ ।’
यसै खाले प्रदर्शनले उपाधि जित्न कठिन हुने उनको आँकलन थियो । उनका समकक्षी प्रतिद्वन्द्वी भुटानका नवाङ डिन्डुपले नेपाली टोली जितको हकदार भएको बताए । भुटानी रक्षकले नेपाली स्ट्राइकरको स्पीडलाई भेट्न नसकेको बताए । नेपालको दोस्रो गोल नै खेलको टर्निङ प्वाइन्ट भएको उनले बताए । उनले नेपाल उपाधिको बलियो दाबेदार रहेको पनि बताए । नेपालले समूहमा अर्को खेल सोमबार बंगलादेशसँग खेल्नेछ । शुक्रबार माल्दिभ्स र अफगानिस्तानका बीच खेल हुनेछ ।
प्रतिक्रिया