सातौँ राष्ट्रिय खेलकुदमा ३५ खेल

keshav bistaकाठमाडौं, १ भदौ । पूर्वाञ्चलमा ११ देखि १८ मंसिरसम्म आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिने भएको छ । मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको परिषद्को १०३औँ बोर्ड बैठकले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेलबाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ खेललाई सातौँमा समावेश गरेको छ । थप गरिएका चार खेलमध्ये ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगितामा परेको हो ।

सातदोबाटामा पत्रकार सम्मेलन गरी राखेप सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिताको लागतमा केहि वृद्धि भएको समेत जनाए । उनले सुरुमा २३ करोडको लागतको अनुमान गरिएकोमा खेल संख्या बढेको र अन्य कारणले लागतमा वृद्धि हुन गई २८ करोड पुगेको बताए । सदस्यसचिव विष्टले थप ५ करोड अर्थ मन्त्रालयसँग माग गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराए ।

सोही बैठकले प्रतियोगिताको लागि युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा ५ सय ७ सदस्यीय मूल समारोह समिति गठन गर्ने र राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको संयोजकत्वमा २१ सदस्यीय कार्यकारी समिति गठन गर्नेसमेत निर्णय गरेको छ । त्यस्तै कार्यकारी समितिअन्तर्गत परिषद्का बोर्ड सदस्यहरूको संयोजकत्वमा विभिन्न १२ उप–समिति बनाइने भएको छ ।

प्रतियोगिताको उद्घाटन विराटनगरको सहिद रंगशालामा गरिने र समापन धरानस्थित अखिल नेपाल फुटबल संघको खेल मैदानमा हुने भएको छ । उद्घाटनका प्रमुख अतिथि गणतान्त्रिक नेपालका सम्माननीय राष्ट्रपतिद्वारा र समापन सम्माननीय प्रधानमन्त्रीबाट गरिने सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिताको तयारीको क्रममा जिल्ला प्रतियोगिता १७ देखि २४ असोजसम्म र ११ देखि २३ कार्तिकसम्म क्षेत्रीय प्रतियोगिता गरिने भएको छ । त्यसका लागि १५ भदौदेखि प्रशिक्षकलाई जिल्ला खटाइनेसमेत जानकारी गराइयो । राष्ट्रिय प्रतियोगिताका लागि २ देखि ९ मंसिरसम्म खेलाडीलाई विशेष बन्द प्रशिक्षणमा राखिनेछ । तेक्वान्दो खेलको हकमा डब्लुटिएफ र तेक्वान्दो युनियनका खेल दुवै एकै प्रकृतिका खेल भएकाले दुवै खेलका खेलाडीहरूलाई समावेश गर्दै एकै प्रतियोगिता आयोजना गरिने सदस्यसचिव विष्टले जानकारी गराए ।

सातौँ राष्ट्रिय प्रतियोगिताको अधिकांश खेल सुनसरीमा र मोरङमा हुने भएको छ । सुनसरीमा १५, मोरङमा १३, झपामा ५, सिराहामा १, सप्तरीमा १ र इलाममा १ खेल आयोजना हुने भएको छ । यसका अलावा बोर्ड बैठकमा अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित पौडी पोखरीको दक्षिण तर्पm रहेको खाली स्थानमा एक हिटिङ सिस्टमको प्रशिक्षण पौडी पोखरी निर्माण गर्ने र च्यासलस्थित एन्फाको फुटबल मैदानलाई एन्फाले राखेपका प्राविधिकहरूको सहभागितामा डिपिआर निर्माणपश्चात् स्तरोन्नति गर्ने र राखेपलाई चाहिएको अवस्थामा प्रयोग गर्न पाइने गरी एन्फालाई हस्तान्तरण गरिनेसमेत छलफल भएको सदस्यसचिव विष्टले जानकारी गराए ।

प्रतिक्रिया