अराजकताको ताण्डव नृत्य

आफ्नो स्वतन्त्र व्यापारव्यवसाय गरेर बसेकालार्ई एक्कासि धम्क्याउनु, तर्साउनु, आतंकित पार्नु तथा व्यावसायिक अफिस र सटरमा ढुंगामुढा गर्नु राजनीति हो भने अपराधचाहिँ के हो ? भन्ने आजको प्रश्न अहिले हाम्रोसामु खडा भएको छ । अहिले जातजातको राज्य माग्नेहरूले पूरै राष्ट्रलार्ई आतंकित गराइराखेका छन् । उनीहरूले चाहेको र सोचेकोभन्दा समाचार फरक देखियो भन्दै आइतबार बिहान नेपालगञ्जमा सबै पत्रिका जलाइदिए । ‘हाम्रो अनुकुल हुनेगरी समाचार आएन भने बाँकी राखिने छैन’ भनेर धम्कीसमेत दिए । रोकिराखेका मोटरसाइकल देख्नै हुँदैनथ्यो जलाईदिइहाल्थे, कतै गाडी देखियो भने चारैतिरबाट ढुंगा बर्साउँथे । यसरी अनगिन्ती गाडीलार्ई तोडफोड र आगजनी गरे । नवलपरासीको बासाबसहीमा रहेको ना४ख १६१८ नम्बरको ट्रकमा ढुंगा हान्न थालेपछि ट्रकका चालक रविलाल गुरुङले ट्रकलार्ई बचाउनुप¥यो भनेर छेउकुनातिर लान खोजेका थिए, आततायीहरूले रविलालकै टाउकोमा ढुंगाले हाने । ट्रक अनियन्त्रित भयो र रविलालको मृत्यु भयो । थोरै अगाडिसम्म अनियमित गर्नेहरू असुरक्षित फिल गर्थे, अब नियम र विधिसम्मत काम गर्न खोज्नेहरू असुरक्षित भएका छन् । हामीले के ग¥यौँ भने शब्द, ब्यानर र नारामा लोकतन्त्र ल्यायौँ, तर सार, चरित्र, व्यवहार र संस्कारमा अराजकता । अहिले यत्रतत्र सर्वत्र अराजकता र भद्रगोलमात्रै छ । यो अराजकताको प्रस्थानबिन्दु कृष्णप्रसाद सिटौला हुन् । उनले गृहप्रशासन ध्वस्त पारे, अपराधीहरूलार्ई संरक्षण गरे र राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरे । अपराधीहरूलाई राजनीतिक आवरण ओढाउने प्रक्रिया त्यहीँबाट सुरु भयो । त्यसबेला प्रहरीलाई अपराधी पक्डन नभई सकेसम्म नपक्डन र पक्डिहाले पनि कारबाही प्रक्रिया अघि नबढाउन प्रोत्साहित गरिन्थ्यो ।

राजनीति, परिवर्तन र राज्यव्यवस्थाको विषयमा हामीले जानेबुझेको यथार्थ के होभने संक्रमणकालमा शान्तिसुरक्षा र कानुन व्यवस्था झन् सुदृढ हुनुपर्छ । धमिलो पानीमा माछा मार्न खोज्ने असामाजिक समूहका लागि संक्रमणकाल दसैँतिहार हुन्छ । कृष्णप्रसाद सिटौलाले सुरु गरेको अराजकताको अभियानलाई पछिल्ला सरकारले बडो निष्ठापूर्वक अघि बढाए । जताततै असुरक्षा र आतंकको माहोल जुन बनेको छ त्यो उनीहरूकै अथक प्रयत्नको फल हो । नेपालमा अहिलेको यो अराजकता र मनपरितन्त्रको प्रस्थानबिन्दु कृष्णप्रसाद सिटौला भए पनि यसको स्रोत उनी थिएनन् । नेतृत्वमा विद्यमान संकीर्णता, आत्मकेन्द्रित सोच, स्वार्थान्धता र चुलिएको अहं थियो । उनी त ती सबैको प्रतिनिधिपात्रमात्र थिए । बेथिति र भद्रगोलको नाला फैलिएर देशै दुर्गन्धित जुन भइरहेछ त्यसको स्रोत र मुहान यही संकीर्णता नै हो । एउटा जातले अर्को जातलाई र एउटा सम्प्रदायले अर्को सम्प्रदायलाई देख्नै हुँदैन । ‘सात पुस्ताअघि तेरो जात वा थरको फलाना व्यक्ति अत्याचारी थियो, तँ त्यही जात वा थरको भएकाले त्यसको सजाय तैँले भोग्नुपर्छ’ भन्न थाल्छन् । इतिहासको पीडालाई महसुस गर्न सकिन्छ । त्यही घाउ कोट्याएर बस्ने कि इतिहासबाट पाठ सिकेर भविष्य सुधार्ने भन्ने प्रमुख सवाल हो । इतिहासका घटनालाई तत्कालीन कालखण्डकै सामाजिक मनोविज्ञानको सन्दर्भमा हेर्ने, बुझ्ने कि तीन सय वर्षअघिको घटनालाई वर्तमान सामाजिक मनोविज्ञान र चेतनाको सन्दर्भमा हेर्ने भन्ने हो । तीन सय वर्षअघि त्यस्ता घटना किन भए ? त्यसको कारण के थियो ? त्यसको पृष्ठभूमि र परिवेश के थियो ? किन हुन दिइयो ? किन रोक्न सकिएन ? रोक्न खोजियो कि हुन दिइयो ? रोक्न सकेको भए वैकल्पिक स्थिति के हुन्थ्यो ? कमजोरी कसको र कहाँ देखियो ? यी केही प्रश्न हुन् जसले विगतलाई केलाएर भविष्यका लागि पाठ सिक्न मद्दत गर्छ । एउटा अग्रगामी चेत विगततिर मुन्टो फर्काएर बस्दैन, विगतको अनुभव र इतिहासको आलोकमा सुदूरभविष्यतिर नजर फोकस गरेर पाइला अघि बढाइहाल्छ । इतिहासमाथि रीस पोखेर उपलब्धि हाँसिल हुँदैन । रीस त आगो हो, त्यसले जलाउने काम गर्छ । त्यसले इतिहासलाई नभई हाम्रै वर्तमान र भविष्यलाई जलाउँछ । इतिहासचाहिँ चोखै उम्किरहेको हुन्छ ।

‘ग्रेट इन्डियन मिडल क्लास’ मा पवन बर्मा यसलाई त्यो समाजको विषालु फल मान्छन् जसलाई ऐतिहासिक ‘नैतिक महाशून्य’ ले गाँजेको छ । एउटा यस्तो नैतिक महाशून्य जहाँ समाजको अगाडि न कुनै रोलमोडल भेटिन्छ न त कुनै आदर्श विचार । यो महाशून्यले सिर्जना गरेको अन्योलको फाइदा धूर्त, चलाक र छट्टुहरूले लिइरहेका हुन्छन् । लोकतन्त्र र गणतन्त्रको हल्लामात्रै चलाउने कि लोकतान्त्रिक संस्कृति निर्माण गर्ने भन्ने आजको ज्वलन्त सवाल हो ।

प्रतिक्रिया