महानगरपालिका र साझाबीच सम्झौता

ktm_sajhaकाठमाडौं, २६ साउन । काठमाडौं उपत्यकाको अव्यवस्थित यातायातलाई व्यवस्थित गर्न र हालसालै चौडा गरिएका सडकमा वातावरणमैत्री ठूला सहरी बससेवा सञ्चालनका लागि काठमाडौं महानगरपालिकाकाले साझा यातायातसँग १९ बुँदे सम्झौता गरेको छ । सार्वजनिक यातायातको सेवा प्रयोग गर्ने यात्रुहरूलाई यातायातमा सुविधा दिन, सहरी अर्थतन्त्रलाई बुद्धि गर्न तथा यातायात सेवालाई विश्वसनीय बनाउने उद्देश्यले बस सेवा सञ्चालन गर्न लागिएको सम्झौता पत्रमा उल्लेख छ । यसरी सञ्चालन हुने बसको सेवाबाट उपत्यकावासीमा ठूला सार्वजनिक यातायातको प्रयोग गर्ने बानी बस्ने अपेक्षा पनि गरिएको छ ।
सम्झौतामा महानगरले ६ महिनाभित्र १० करोड रूपैयाँ लगानीमा ठूला बस खरिद गर्ने र सञ्चालनका लागि साझा यातायातलाई हस्तान्तरण गर्नेछ । साझाले महानगरबाट बस प्राप्त गरिसकेपछि तत्काल सञ्चालनमा ल्याउनुपर्ने छ । यसरी प्राप्त भएका बसको मूल्यलाई साझाको कुल मूल्यमा समाहित गरी सो बराबरको सेयर महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सेवामूलक ढंगबाट सञ्चालन गर्न लागिएका बस साझालाई प्राप्त भएपछि बस सञ्चालन भएको मितिले १५ दिनभित्र स्वतः परिणत गरी सेयर प्रमाणपत्र उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
बसहरूको सञ्चालन, रेखदेख मर्मत–संभार तथा बिमा गर्ने दायित्व साझा यातायातको हुनेछ । बसहरूको बाटो इजाजत (रुट) लगायतमा आपसी समन्वय, सेवाको अनुगमन तथा मूल्यांकनका लागि दुवै पक्षको अधिकृत स्तरका कर्मचारी रहने गरी सहरी बस सञ्चालन परामर्श समितिको गठन गरिने उल्लेख छ । बसहरू आयात गर्दा लाग्ने कर, भ्याट तथा भन्सार छुटका लागि नेपाल सरकारसमक्ष अनुरोध गरिनेछ । सम्झौताअनुसार सडक अनुशासन अनुशरण गर्ने, कागजी टिकट प्रणालीलाई डिजिटल प्रणालीको माध्यमबाट कार्ड सिस्टममा परिणत गरी भाडा संकलन गर्ने, बसहरूको सरसफाइ गर्ने कार्यका साथै बसका कर्मचारीलाई पोसाकको व्यवस्था गर्ने, कर्मचारीमा शिष्टता र यात्रुमैत्री भाषा प्रयोग गर्न तालिमको व्यवस्थालगायत कार्य साझा यातायातको जिम्मेवारीमा हुनेछन् ।
सेवाको नियमित सञ्चालन तथा पर्यटकीय, धार्मिक र आर्थिक महत्वका स्थलसम्म सेवाको विस्तार गर्ने जिम्मेवारी साझा यातायातको हुनेछ । यसले आन्तरिक तथा बाह्य पर्यटकीय सेवाको प्रवर्धन गर्न मद्दत गर्ने सम्झौतामा उल्लेख छ । बसहरू दुवै पक्षबाट सञ्चालन भएको पहिचान हुने गरी महानगर र साझा यातायातको सहकार्यमा सञ्चालित सहरी बस सेवा भन्ने सन्देश राखिनेछ साथै बसमा राखिने डिजिटल डिस्प्लेमार्फत महानगरका सार्वजनिक सूचना सन्देश प्रसारण गरिने सम्झौतामा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकालगायत अन्य स्थानीय निकायलाई पनि सहरी बस तथा अन्तर सहरी बसमा लगानी तथा सञ्चालनमा सहभागी गराई सेवाको क्षेत्र विस्तार गरिने सम्झौतामा जनाइएको छ । सहरी यातायातलाई सर्वसुलभ, विश्वसनीय, पारदर्शी एवं सहज पहुँचका लागि बस सेवा विस्तार तथा सञ्चालनमा साझाले माग गरेअनुसार महानगरले आवश्यक सहयोग गर्ने सहमति भएको छ ।

प्रतिक्रिया