काठमाडौं, २४ साउन । संसद्ले सरकारले पेस गरेको विनियोजन विधेयक २०७२ स्वीकृत गरेको छ । अर्थमन्त्री रामशरण महतले विनियोजन विधेयक २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफल सकिएपछि विधेयक संसद्को बहुमतबाट स्वीकृत भएको हो ।
विनियोजन विधेयकमाथिको छलफलमा विरोध जनाएका सत्तारूढ दलका सांसदले स्वीकृत गर्नैपर्ने पञ्चायतकालीन मान्यता अन्त्य गर्नुपर्ने माग गरेका थिए । एमाले सांसदले पनि चुपचप समर्थन जनाएपछि विधेक स्वीकृत भएको हो ।
विधेयक स्वीकृत हुनुअघि अर्थमन्त्री डा. रामशरण महतले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । ‘मानीयज्यूहरूले धेरै प्रश्न उठाउनुभएको छ, त्यसको जवाफ सम्बन्धित मन्त्रीहरूले दफाबार छलफलमा दिनुहुने नै छ’ डा. महतले भने, ‘जहाँसम्म खर्च भएन भन्ने प्रश्न छ, त्यो अर्थमन्त्रालयले खर्च गर्ने नभई सम्बन्धित मन्त्रालयबाट हुने भएकाले उनीहरूको खर्च गर्ने क्षमता विस्तार आवश्यक छ ।’ उनले सधैँ बजेट खर्च हुँदैन भनेर निराश हुनेभन्दा बढी भन्दा बढी खर्च कसरी हुन सक्छ र बजेटको अधिकतम सदुपयोग कसरी गर्न सकिन्छ भनेर सोच्न आवश्यक भएको बताए ।
विकासोन्मुख मुलुकमा जाने लक्ष्य र बजेटको प्रकृतिका विषयमा उठाएको प्रश्नमा उनले त्यो लक्ष्यमा पुग्न गाह्रो नभएको बताए । ‘खालि हाम्रो बजेट खर्च नहुँदा विकास लक्ष्य हासिल गर्न गाह्रो भएको छ, त्यसमा अस्थिरता पनि एउटा कारण हो’ उनले भने, ‘अब संविधान निर्माणपछिको स्थिरताले विकासशील राष्ट्रको सूचीमा पुग्ने लक्ष्य पनि हासिल हुनेछ ।’ उनले आलोचना मात्र गर्ने प्रवृत्ति देखिएको भन्दै कुनै राम्रा पक्षका विषयमा पनि चर्चा हुनुपर्ने बताए ।
विनियोजन विधेक स्वीकृत भएसँगै सभामुख सुवास नेम्बाङले दफाबार छललफल (मन्त्रालयगत खर्च शीर्षका)का लागि समय तोकेका छन् । आगामी २७ गतेदेखि सुरु हुने छलफलका लागि कुन मन्त्रालयको खर्च शीर्षकमा कुन दिन छलफल हुने भनेर समय भने तोकिएको छैन । पहिलो चरणका लागि आगमी २७, २८ र ३१ गतेका लागि तोकिएको छ । संविधानसभाको अर्को बैठक आगामी २७ गते दिउँसो तीन बजेका लागि डाकिएको छ ।
प्रतिक्रिया