काठमाडौं, २४ साउन । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेता बन्न अब शैक्षिक योग्यता र उमेर सीमा कायम गरिने भएको छ ।
बिहीबारदेखि राजधानीमा सुरु हुन लागेको विधान सम्मेलनमा यस्तो प्रस्ताव अगाडि सारिएको छ । अहिले रहेको ठूलो केन्द्रीय कमिटी सदस्यको संख्या घटाउने तयारी पनि भएको छ । महासचिव नवीना लामाका अनुसार ६० देखि ६५ जनाको सानो केन्द्रीय कमिटी रहनेछ । अनेरास्ववियुको अहिले एक सय ८४ सदस्यीय केन्द्रीय कमिटी छ । ‘ठूलो कमिटी भएर विद्यार्थी आन्दोलनमा खासै भूमिका खेल्न सकिएन,’ उनले भनिन्, ‘त्यसैले सानो कमिटी बनाउँछाँै । पदाधिकारी संख्या पनि घट्नेछ ।’
पदाधिकारी संख्या घटाएर ७ वा ९ मा झार्ने तयारी समेत भइरहेको छ । अहिले ३ उपाध्यक्ष ५ सचिवसहित ११ पदाधिकारी छन् । यस्तै, अञ्चल इन्चार्जले पनि अनिवार्य रूपमा निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था आसन्न सम्मेलनमा प्रस्तावका रूपमा लगिनेछ ।
त्रिभुवन विश्वविद्यालयको भवन कीर्तिपुरको सभाहलमा हुने विधान सम्मेलनमा निर्वाचन आयोग गठन गरिनेछ । अनेरास्ववियुले प्राथमिकताका रूपमा उमेरको हदबन्दी र शैक्षिक योग्यता तोक्ने भएको छ । उपाध्यक्ष ऐन महरका अनुसार यसपटको विधान सम्मेलनबाट विद्यार्थी नेता रहनका लागि ३० देखि ३५ वर्षसम्मको उमेर सीमा तोकिनेछ । एमालेले ७० वर्ष, युवा संघले ४० वर्ष, त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि २८ वर्ष हदबन्दी तोकेको छ । अर्का उपाध्यक्ष थोमस बास्तोलाले उपाध्यक्ष महरले पदाधिकारीका लागि न्यूनतम स्नातक र केन्द्रीय कमिटीका लागि प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्ने अनिवार्य शैक्षिक योग्यता तोक्ने तयारी भएको बताए । ‘पहिले पञ्चायत कालमा विद्यार्थी नेताहरू पढ्न पाउँदैन थिए र त्यही भएर नेतृत्व रहँदा पनि हुन्थ्यो,’ उपाध्यक्ष बाँस्तोलाले भने, ‘तर अहिले नपढेका विद्यार्थी नेताले विद्यार्थी ओन्दोलनप्रति आकर्षण गराउन सक्दैनन् । त्यही भएर शैक्षिक योग्यता तोक्न लागिएको हो ।’
यस्तै, राष्ट्रिय परिषद् सदस्यलाई स्वतः महाधिवेशनको प्रतिनिधि बनाउने विषयमा पनि छलफल भइरहेको उनले बताए । यसअघि रापसलाई विधान सम्मेलनमा मात्र सहभागी गराउने प्रचलन थियो । महाधिवेशन नजिकै गर्दा अखिलले आफ्ना सबै मातहतका कमिटीको सम्मेलन सकाएको छ । सोमबारसम्म सम्मेलन नगर्नेलाई महाधिवेशनमा सहभागी नगराउने भएपछि छुटपुटबाहेक सबै कमिटीको सम्मेलन सकिएको छ । ‘सोमबारसम्म सबै कमिटीको सम्मेलन सकिन्छन्,’ उपाध्यक्ष बाँस्तोलाले भने, ‘केही विवादित जिल्लालाई थाती राखेर सोमबार सबै जिल्लाको सम्मेलन सकिन्छ ।’ उनका अनुसार समयमा नै सम्मेलन नसकाउने नवलपरासी, ओखलढुंगा, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सिटिइभिटी कमिटीले महाधिवेशनमा सहभागी हुन पाउने छैनन् ।
प्रतिक्रिया