एक सय १२ उद्योगमा ३ अर्ब ४० करोडको क्षति

काठमाडौं, २१ साउन । वैशाख १२, १३ र २९ मा गएको भूकम्पले एक सय १२ उद्योगमा ३ अर्ब ४० करोड ३८ लाख ५९ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । उद्योग विभागले विभिन्न सञ्चारमाध्याम तथा आफ्नो वेभसाइटमा सार्वजनिक सूचना जारी गर्दै क्षतिको विवरण पठाउन उद्योग व्यवसायीलाई अनुरोध गरेको थियो । सोही सूचनाको आधारमा एक सय १३ उद्योगले मात्रै क्षतिको विवरण विभागमा पठाएका हुन् ।
उद्योगबाहेक अन्य क्षेत्रको एकिन विवरण सार्वजनिक भइसकेको अवस्थामा सञ्चालित उद्योगको वास्तविक विवरण विभागमा नपठाइनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । नेपालभित्र हाल हजारौँ उद्योग सञ्चालित छन् । त्यसमध्ये भूकम्पका कारण आधाजसो उद्योगमा भौतिक क्षति पुगेको पूर्वाअनुमान गरिएको थियो । विभागमा अहिलेसम्म प्राप्त विवरणअनुसार जम्मा एक सय १२ उद्योगले मात्र क्षतिको विवरण बुझाएका छन् । विभागका प्रवक्ता रुद्रबहादुर मल्लले यस सम्बन्धमा सबै उद्यमीलाई क्षतिको एकिन विवरण विभागमा पठाउन सार्वजनिक सूचनाको माध्यामले परिपत्र जारी गरिसकेकोे बताए । सबैतिरबाट एकिन तथ्यांक आइसकेपछि वास्तविक क्षति थाहा हुने र यसैको आधारमा क्षति पुगेका उद्योगलाई क्षतिपूर्ति तथा सहुलियत प्रदान गरिने प्रवक्ता मल्लले जानकारी दिए ।
क्षतिको विवरण पठाउनेमा बालाजु औद्योगिक क्षेत्रका ३८, भक्तपुर औद्योगिक क्षेत्रका ३३, धरान औद्योगिक क्षेत्रका २, पोखराको १ र अन्य ३७ गरी एक सय १२ छन् । काठमाडौं उपत्यकामा मात्रै आठ दर्जन बढी उद्योगमा क्षति पुगेको छ । प्राप्त विवरणमा दश उद्योगले क्षति भएको जानकारी गराए पनि एकिन तथ्यांक पठाएका छैनन् । उद्योग संगठन मोरङमा एक अर्ब ८७ करोड ५० हजार तथा नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट प्रालिमा एक अर्बको क्षति भएको उल्लेख छ । भर्खरै बामे सर्न थालेको नेपाली उद्योगलाई भूकम्पले ढाड भाँचिदिएको आँकलन गरिए पनि विभागमा प्राप्त तथ्यांकले सबैको अनुमानलाई गलत साबित गरिदिएको छ । सरकारी संयन्त्रप्रति उद्योग व्यावसायीको भरोसा कम हुनु, सरकारले उद्योगलाई कम महत्व दिनु तथा व्यवसायीमा उत्तरदायित्वबोध नहुनुजस्ता कारणले व्यावसायीले विभागको सूचनालाई बेवास्ता गरेका हुनसक्ने विज्ञ बताउँछन् ।
सम्पूर्ण क्षति विवरण आइसकेपछि सरकारले नीति बनाएर प्रदान गरिने सहुलियत सार्वजनिक गरिने प्रवक्ता मल्लले बताए । त्यसमा कर छुट, बजार प्रवद्र्धन, कच्चा पदार्थको आयातमा भन्सार छुटलगायत हुनसक्ने उनको भनाइ थियो । यसअघि उद्योगमा अर्बौंको क्षति पुगेको र सयौँ धरासायी भएका समाचार सार्वजनिक भएका थिए । सञ्चारमाध्याममा जे–जस्तो विवरण सार्वजनिक भए पनि विभागमा प्राप्त तथ्यांकलाई आधिकारिक मान्नुपर्ने उनले बताए । प्रवक्ता मल्लले जानकारी पाएर अथवा नपाई विवरण पठाउन ढिला गरेका सबै उद्योगलाई छिटो विवरण पठाई सहयोग गर्न अनुरोधसमेत गरे ।

प्रतिक्रिया