फेरिँदै चेपाङको जीवनशैली

ओडारमा बस्ने अनि खोरिया खनेर जीविकोपार्जन गर्ने चेपाङ जातिको जीवनशैली थियो । यो बाध्यता थियो चेपाङ जातिको । केही वर्ष अघिसम्म कहिले भोकले त कहिले दूषित च्याउ खाएर धेरै चेपाङले जीवन गुमाएका समाचारहरू सुनिन्थे । यो क्रम अहिले कम हुँदै गएको छ । मकवानपुर र धादिङमा चेपाङ जातिको सघन बसोबास छ । राजनीतिकपरिवर्तन र सामाजिक जागरणले उनीहरूको जीवनशैलीमा पनि बदलाव आउँदै छ । हप्तौँ अन्न खान नपाएका चेपाङको जीवनशैली आधुनिक र सभ्य बन्दै छ, हिजोआज । मकवानपुर काँकडाकाचेपाङले खोरियामा आधुनिक खेती गरेर जीवन चलाउन थालेका छन् । यहीका दिनेश चेपाङले आधुनिक मौरी पालन गर्दै आएका छन् । चेपाङ जातिको जीवनशैलीबारे मकवानपुरको लोथरमा दिनेशसँग गरिएको कुराकानीको सार :

chepang
मकवानपुरको काँकडामा जन्मेका दिनेश चेपाङले आप्mनो जीवनलाई पूरै फेरेका छन् । बाल्यकालमा हप्तौँ अन्न खान नपाएको तीतो यथार्थ भोगेका दिनेशका सन्तान यतिबेला भारतको देहरादुनमा पढ्छन् । अभाव र अज्ञानतामा हुर्केका उनलाई आफूले भोगेका दुःखका दिन सम्झिँदा काहाली लागेर आउँछ । दिनेशले गाउँमा पाँच कक्षासम्म पढे । गाउँमा त्योभन्दा अगाडि पढ्ने स्कुल थिएन । चितवनको गडौलीमा माविसम्मको पढाइ पूरा गरे दिनेशले । चेपाङ परिवारको अगाडि थुप्रिएका समस्याका चाङले उनको पढाइमा ब्रेक लाग्यो । दिनेशको जस्तै भोगाइ उनी अगाडिका धेरै पुस्ताले भोगेका छन् । आज पनि स्कुल नदेख्ने चेपाङ धेरै छन्, उनकै समाजमा । बस्ती वरपरका पखेरो र खोरीया नै थियो, चेपाङहरूको कर्मथलो ।
नयाँ लगाउनु र मीठो खानु उनीहरूका लागि टाडाको कुरा हुन्थे । जंगलका कन्दमूल भेटिएको दिन र सिकार हात परेको दिन पेट भरिन्थे, चेपाङहरूको । केही वर्ष पहिलासम्म चेपाङका पुख्र्यौली सम्पत्ति खोरियामात्र हुन्थे । खोरिया खन्नु ओडारमा बस्नुलाई आफ्नो संसार मान्थे चेपाङहरू । तर, हिजोआजको चेपाङहरूको दैनिकीसँगै फेरिएको छ, जीवनशैली पनि । छोराछोरीलाई पढाउनुपर्छ, आधुनिक ढंगबाट खेती एवं पशुपालन गर्नुपर्छ भन्ने चेतना बढेको छ, चेपाङहरूमा । गाउँमा उत्पादन भएका मह, अम्रिसो, चिउरी, केराजस्ता सामान सहरमा बेचेर उनीहरूले आफ्नो जीवनलाई व्यवस्थित बनाउँदैछन् । दश पाथी मकै फल्ने खोरियामा हजारौँको केरा, अम्रिसो उत्पादन गर्छन् चेपाङहरू । देशमा आएको राजनीतिक परिवर्तनले पनि प्रभाव पार्दैछ, उनीहरूको दैनिकीलाई । पिछडीएका समुदाय भनेर चिनिने उनीहरू आज भने सभ्य नागरिक बन्दैछन् । पखेरोमा जे उब्जन्थे, त्यसैले भर्थे उनीहरू पेट, नत्र जंगलको गिठ्ठार भ्याकुरको साहरा लिनुपथ्र्यो ।
चेपाङ समुदायका कर्मशील युवा हुन्, दिनेश चेपाङ । बाल्यकालमा निकै दुःख भोगेका उनले अहिले युवा अवस्थामा संघर्ष गरेर आफू आफ्ना परिवारको जीवन व्यवस्थित बनाउँदैछन् । दिनेश चेपाङ समुदायका प्रतिनिधि पात्रमात्र हुन् । उनले भन्दा दुःख र संघर्ष धेरैले भोगे र भोग्दैछन् । परिवर्तनमा लम्केका चेपाङका पाइलाहरू अहिले अनगिन्ती छन् । दिनेश भन्छन्, ‘मेरो बुबाबाजेको जिन्दगी जंगलमा शिकार खेलेर बित्यो । अलिकति पीठो बोकेर जंगल जान्थे, त्यसैको भरमा जीविका चल्थ्यो । फिरन्ते भएर बित्यो हाम्रो पूर्खाको जीवन । दिनभरि सुत्थे रातभरि सिकार खेल्न जंगल जान्थे । जीवन के हो भन्ने थाहा थिएन । चेतनाको कमीले होला, जहाँ थिए त्यसैलाई आफ्नो संसार ठान्थे । कर्म गर्न नजानेर आफ्नो भाग्य र भविष्य त्यही ओडार र खोरियालाई ठान्थे । धन्न, मैले बाबुबाजेको जस्तो जीवन बाँच्नु परेन । थारै भए पनि पढ्ने अवसर पाएँ, बाहिरी दुनियाँ बुझेँ । एकबारको जुनिलाई कसरी चलाउनुपर्छ भनेर जानेँ ।’
दिनेश आफूले पाएको सामान्य शिक्षा र चेतनाको बढीभन्दा बढी उपयोग गर्दै छन् । बाबुबाजेले नबुझेको र नदेखेको आधुनिक टेक्नोलोजीको प्रयोग गरेर जीवनलाई सहज र सरल बनाउने पथमा अग्रणी भएर लगेका छन्, उनी ।
ओडारमा हुर्केका चेपाङहरू आज आफ्ना सन्तानलाई पढाउन सहर पठाउन सक्ने भएका छन् । आफ्ना जस्तो जीवन सन्तानको नहोस् भन्नेमा सचेत छन् यतिबेला चेपाङहरू । दिनेश भन्छन्, ‘हामी हाम्रो सन्तानलाई हामीले भोगेका सबै अज्ञानताबाट टाडा राख्न चाहन्छौँ । हामीले जस्तो भोक, अभाव, अशिक्षा र समस्या हाम्रो सन्तानले भोग्ने छैनन् । आज हाम्रा सन्तानलाई दन्ते कथा जस्तै लाग्छ, हामीले भोगेका दिन सुन्दा । तर, मैले भोगेको तीतो अनुभव हो । मैले अठार दिनसम्म अन्न खान पाइनँ । जंगलमा भएको गिठ्ठा र भ्याकुरको भरमा बित्यो बाल्यकाल । अन्न खान पाएको दिन साह्रै्र खुसी लाग्थ्यो । ओडारमा हुर्केको हुँ म । म जस्ता धेरै छन्, जसले बाल्यकालमा ओडारबाहेक केही देखेनन् । अझ हाम्रो अघिल्लो पुस्ताले हाम्रो अहिलेको जीवन देख्दा अचम्म मान्छन् । अबका चेपाङले हाम्रो जस्तो समस्या भोग्ने छैनन् । अब सबै सचेत भएका छन्, शिक्षा र चेतनाको अभावमा हामी जंगली भयौँ, सन्तानलाई सभ्य बनाउनुपर्छ भन्नेमा । हामीले जीवनलाई राम्रोसँग बुझेका छौँ र कसरी बाँच्नुपर्छ भनेर सिकेको पनि छौँ ।’
दिनेश भन्छन्, ‘०५७ पछि चेपाङहरूको जीवनमा परिवर्तन आयो । त्योभन्दा पहिला उनीहरूको जीवन पूर्ण रूपमा फिरन्ते थियो, शिक्षा र चेतनको अभावमा गरिब थियाँै हामी । चेतनाले मान्छेको जीवनमा आर्थिक परिवर्तन ल्याउँदो रहेछ । अहिले जे छ, सबै चेतनाको कारण भएको हो । कुनै–कुनै परिवारले आफ्ना सन्तानलाई पढ्न लोथर, भण्डारा, गडौली जस्ता ठाउँमा पठाउँथे । त्यहाँ गएर पढ्नु ठूलो कुरो हुन्थ्यो हाम्रो लागि । फलानाको छोरा पढ्न गएको छ भन्थे । घर छोडेर जानेले ठूला जाति भनिनेबाट दुव्र्यवहार भोग्नुपथ्र्यो । बाहुन, क्षत्रीको पिढीसम्म जान पाइन्थ्यो । उनीहरू भित्र टिभी हेर्थे, हामी झ्यालबाट चियाएर हेथ्र्यौं । खान खाएको भुइँ गोबरले लिप्नु पथ्र्यो । कहिलेकाहीँ लाग्थ्यो, साच्चै हामी साना हौँ त भन्ने प्रश्न आउँथ्यो मनमा । ती सोचहरूमा आज धेरै परिवर्तन आएको छ । चेपाङप्रति हेर्ने सोच फेरिएको छ हाम्रो दैनिकीसँगै । के ठूला,े के सानो सबैले राम्रो व्यवहार गर्छन् । हामी पनि हरेक काममा आफूलाई सक्षम बनाउँदै अगाडि बढेका छौँ ।’
उनी भन्छन्, ‘गाउँमा सामाजिक संस्थाका मान्छे आउँथे । बेला–बेला तालिम हुन्थे । गाउँलेले परम्परागत मौरी पालन गर्थे । घरमा उत्पादन भएको मह, अम्रिसो, चिउरी जस्ता सामान बेचेर चामल किनेर खान्थे । आधुनिक के हो थाहा थिएन । के गर्दा आम्दानी हुन्छ बुझेका थिएनन् गाउँलेले । तालिम पाए अवसरहरू डाँडाकाँडा छिचोल्दै काँकडा पुग्यो । छिमेकी दाजुले व्यवस्थित रूपमा मौरी पालेको देखेर म पनि आकर्षित भएँ । खोरियाका दुई÷चार डोका मकैको भरमा बस्नु हँुदैन भन्ने लाग्यो । तीनवटी छोरी छन्, उनीहरूलाई उच्च शिक्षा दिनुपर्छ भन्नेमा म पहिल्यैदेखि सचेत थिएँ । मिहिनेत गरे हुँदो रहेछ भन्ने भावना दरिलो भएको छ । मेरा छोरीहरूले समयअनुसार आफूलाई चलाउनेछन् भन्नेमा म विश्वस्त छु । उनीहरूको उज्वल भविष्यका लागि मैले पौरख गर्नैपर्छ ।’
०६४ पछि काँकडाका चेपाङमा आधुनिकीकरण भित्रियो । त्योभन्दा अगाडि घुम्दै आएका मौरीले आफँै कुना काप्चामा घार बनाएर मह पार्थे । त्यसको स्याहारसुसार अनि रेखदेख हुँदैनथ्यो । मौरी आफँैले दया गरेर दिएको मह बेच्थे गाउँलेले । कुन तरिकाबाट मौरीपालन गर्दा बढी आम्दानी हुन्छ भन्ने थाहा थिएन, गाउँलेलाई । विस्तारै गाउँमा आधुनिकीकरण भित्रियो । विकासे संघसंस्थाहरू चेपाङका झुपडी खोज्दै काँकडा पुगे । चेपाङका घरमा आफैँ आएर बस्ने मौरीको बासस्थान व्यवस्थित हुन थाल्यो । कसरी मौरीलाई आकर्षित गर्न सकिन्छ भन्ने सोच भित्रिए । उनी भन्छन्, ‘म पनि आधुनिक तरिकाबाट मौरीपालन गर्न आकर्षित भएँ । अहिले गाउँमा दाजुले मौरीपालन गर्छन् । म लोथरमा बसेर मह प्रशोधनको काम गर्छु । गाउँलेले ल्याएको काँचो मह किनेर प्रशोधन गरी बेच्ने गरेको छु । आम्दानी राम्रो हुन्छ । गाउँलेलाई पनि सजिलो भएको छ । पहिला गाउँलेले मह आगोमा पकाएर प्रशोधन गर्थे । निकै गाह्रो हुन्थ्यो । धुवाँको कारण महिलालाई सास्ती हुन्थ्यो । अहिले सबैलाई सजिलो भएको ।’
लोमो समयदेखि महिलाहरूको आर्थिक एवं सामाजिक उन्नतिमा सक्रिय संस्था महिला अधिकार तथा विकास केन्द्रको ध्यान काँकडामा प¥यो । चेपाङ महिलाको जीवनमा आर्थिक समृद्धि ल्याउने उघेश्यले उक्त संस्थाले काँकडाका बीसजना महिलालाई एक–एक घार मौरी सहयोग ग¥यो । मौरी प्रशोधनका लागि पन्ध्र लाख रुपैयाँ पर्ने मिसिन दिएको छ । उक्त मिसिनको सञ्चालन दिनेशले गरेका छन् । संस्थाको स्थानीय समितिको संरक्षणमा रहने उक्त मिसिनले दैनिक पाँच सय केजीसम्म मह प्रशोधन गर्ने दिनेशले बताए । मिनेश भन्छन्, ‘यो मिसिनले मेरोमात्र होइन, गाउँलेलाई ठूलो राहत भएको छ ।’ काँकडा र वरपरा राम्रो मह उत्पादन भए पनि प्रशोधन मिसिन थिएन । पूर्वी चितवन र मकवानपुरको मह उत्पादकका लागि उक्त मिसिन भरपर्दो आम्दानीको स्रोत बनेको छ । दिनेश भन्छन्, ‘गाउँलेले मह उत्पादन गरेर सस्तोमा बेच्नुपरेको थियो । अब आफैँ प्रशोधन गरेर उचित मूल्यमा बेच्न पाउने भएका छन् ।’ यसले गाउँलेको जीवनमा थप आर्थिक परिवर्तन ल्याउने उनको विश्वास छ ।
काँकडाका चेपाङ लोथर, मनहरी, भण्डारा, पर्सालगायतको स्थानमा ज्याला मजदुरीले दैनिक एक सय आम्दानी गर्थे । अहिले तिनै चेपाङ वर्षमा साठी हजार रुपैयाँसम्म कमाउने भएका छन् । दिनेशले दश हजारबाट सुरु गरेको व्यवसाय अहिले फराकिलो भएको छ । उनी अहिले वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्छन् । दिनेश भन्छन्, ‘अब चेपाङ हरेक काममा प्रतिस्पर्धा गर्न सक्ने भएका छन् । राज्यले पनि पिछडिएको जनताका लागि केही गर्छ भन्ने भावनाको विकास भएको छ । हामी समाजमा आएका हरेक विकसित टेक्नोलोजीसँग अभ्यस्त छौँ । अब चेपाङ खोज्न जंगलको बस्ती वा ओडार जानु पर्दैन । व्यवस्थित बस्ती र सहरमा प्रतिस्पर्धा र उन्नतिको बाटोमा लम्कँदैछन् चेपाङहरू ।’

प्रतिक्रिया