मिस प्लस टु नेपाल–२०१५ को ट्यालेन्ट सो सम्पन्न

talentकाठमाडौं, १९ साउन । महिलावादी संघसंस्था तथा व्यक्तिले मिस नेपाल प्रतियोगिताको भरपुर विरोध गरे पनि युवायुवती भने यस्ता प्रतियोगिताप्रति झनै आकर्षित बन्दै गएका छन् । अहिले स्कुलमा पढ्नेदेखि प्लसटु तथा कलेजमा पढ्नेहरू पनि सौन्दर्य प्रतियोगिताप्रति आशक्त बढ्दै गएका छन् । युवतीलाई लक्षित गर्दै ‘मिस प्लस टु नेपालमा २०१५’ दोस्रो संस्करणका कार्यक्रम सञ्चालन भइरहेको छ ।
प्रतियोगीका अन्तिम प्रतिस्पर्धीमा कौशल्या परियार, अखिम तामाङ, समीक्षा भट्टराई, स्मृति घिमिरे, ज्ञान मञ्जरी पौडेल, अञ्जना लामा, प्रीया ढकाल, सविना गुरुङ, सजना सिग्देल, निशा थापा क्षत्री, सागरिका मल्ल, निसा सुनार, सुविधा न्यौपाने, नितु भण्डारी, रहेका छन् । यस्तै, निशा घलान तामाङ, शोभा लम्साल, उपसना गुरुङ, स्वरुपा खत्री, पुजा दौलिया, कृतिकिरण पाण्डे, रोशना रामुदामु, रञ्जु दाहाल, सितु श्रेष्ठ, रोजी कार्की, सन्ध्या पन्त, स्नेहा पौडेल, अपेक्षा धिताल, प्रकृति तुलाचन, आरती खड्का र आँचल दवाडी छनोट भएका छन् ।
प्रतियोगीले ‘ट्यालेन्ट सो’अन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् । यो प्रतियोगितामा सहभागी ३० जनामध्ये बहुसंख्यकले ‘ट्यालेन्ट सो’मा नेपाली र अंग्रेजी गीतमा नृत्य प्रस्तुत गरे । केही प्रतियोगीले गीत गाए । बाँकी प्रतियोगीले चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता विभिन्न प्रतिभा प्रस्तुत गरे ।
प्लस टुमा अध्ययन गरिरहेका युवतीको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासका लागि युहान इन्टरनेसनल इभेन्ट प्रालिद्वारा ‘मिस प्लस टु नेपाल–२०१५’को ट्यालेन्ट सो शनिबार राजधानीमा सम्पन्न भएको छ । सो प्रतियोगिताको निर्णायकमा गायक प्रवेशमान शाक्य, नारायणी अटो मोबाइल्सका अध्यक्ष अनुपकुमार बराल, अभिनेत्री रोशनी केसी, सुरक्षा पन्त र नवोदित अभिनेता शुशील श्रेष्ठ थिए ।
कार्यक्रममा गायक प्रवेशमान शाक्यले आफ्ना विभिन्न गीत प्रस्तुत गरेका थिए । प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले व्यक्तित्व विकाससहित विभिन्न प्रशिक्षण दिइरहेका छन् । उनीहरूलाई प्रशिक्षणको अवधिमा जुम्बा, स्विमिङ, मिडिया क्लास सहित विभिन्न विषयमा प्रशिक्षण दिने क्रम जारी रहेको आयोजक सँस्था युहान इन्टरनेसनल इभेन्ट प्रालि प्रबन्ध निर्देशक सानु खानले जानकारी गराए । प्रतियोगीको प्रशिक्षण तीन साताअघिबाट सुरु भएको हो ।
मिस प्लस टु नेपालको चयन आगामी २२ साउनमा राजधानीको जमलस्थित नाचघरमा हुँदै छ ।

प्रतिक्रिया