प्रधानमन्त्री कोइराला भन्छन्

koiralaकाठमाडौं १९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले सत्ता लम्ब्याउने नियत आफूसँग नभएको स्पष्ट पारेका छन् । जतिसक्दो छिटो संविधान जारी गरेर सरकारबाट बाहिरिन चाहेको उनले बताएका छन् ।
सत्तारूढ दल नेकपा एमालेले प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्न ढिलाइ गरी सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाएपछि प्रधानमन्त्रीले आफ्नो त्यस्तो नियत नभएको सार्वजनिक अभिव्यक्ति दिएका हुन् । कोइरालाले सत्ता साझेदार एमालेले सत्ता लम्ब्याउन खोजेको भनी आफूमाथि गरेको आशंका गलत रहेको दाबीसमेत गरे । उनले भने, ‘ममाथि लगाइएको आरोप र आशंका गलत हो, म जतिसक्दो चाँडो संविधान जारी गरेर बाहिरिन चाहन्छु ।’
विपक्षीलाई पनि सहमतिमा ल्याएर साउन मसान्तभित्रै सीमांकनसहितको संविधान जारी हुने दाबीसमेत प्रधानमन्त्री कोइरालाले गरेका छन् । कोइरालाले संविधान निर्माण प्रक्रियाको विरोधमा रहेका मधेसी दल र संविधानसभा बाहिर रहेका कतिपय असन्तुष्ट पक्षसँग पनि विभिन्न तहमा छलफल गरी सबैको सहमति जुटाएर साउनभित्रै संविधान जारी गरिने बताए ।
उनले सीमांकन टुंग्याउन लागि परिरहेको भन्दै मिडियाले गलत प्रचार गरेको आरोप लगाए । हामी शीर्ष नेता सहमति जुटाउन र सीमांकन टुंग्याउन रातदिन लागिपरेका छौँ, उनले भने, कतिपय मिडियाले गलत प्रचार पनि गरेका छन् । दलबीच वार्ताको वातावरण मिडियाले बिगार्ने गरेको पनि प्रधानमन्त्री कोइरालाको आरोप छ । ‘हामी सबै विषयमा कसरी सहमति गर्न सकिन्छ भनि भित्र छलफल गरिरहेको बेला मिडियाले बाहिर फलानो दलको फलानो नेताले यसो भन्यो र अर्कोले यसो ग¥यो भनी नकरान्मक समाचार प्रकाशित भएको छ’ उनले भने, ‘यसले गाउँका सोझा सीधा जनतालाई नकरात्मक सन्देश गयो ।’

प्रतिक्रिया