काठमाडौं, १४ साउन । शिक्षाका विभिन्न संकायमा ध्यान दिने क्रममा नेपालको जेठो तथा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले खेलकुदका क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउने सम्झौता गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र त्रिभुवन विश्वविद्यालय (त्रिवि) बीच अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्य कभर्डहल निर्माण गर्ने बुधबारको सहमतिले त्रिविको यो कदम प्रमाणीकरण गरेको छ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको उपस्थितिमा मन्त्रलयमा राखेप सदस्यसचिव केशवकुमार विष्ट र त्रिवि उपकुलपति प्राडा हीराबहादुर महर्जनबीच १४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेपछि कभर्डहल बन्ने निश्चित भएको हो ।
५० रोपनी क्षेत्रफलमा निर्माण हुने खेलस्थलको नाम त्रिभुवन विश्वविद्यालय कभर्डहल रहने सम्झौता–पत्रमा उल्लेख गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को सम्पूर्ण लगानीमा बहुवर्षीय योजनाअनुसार निर्माण कार्य सम्पन्न गर्ने तथा सञ्चालन र व्यवस्थापनका लागि त्रिभुवन विश्वविद्यालय कभर्डहल व्यवस्थापन समिति गठन गर्ने सम्झौता–पत्रमा उल्लेख छ । त्रिविले उपलब्ध गराएको जग्गामा निर्माण हुने कभर्डहल पाँच हजार दर्शक अटाउने क्षमताको हुनेछ । कभर्डहल निर्माणका लागि ५० करोड बजेट लाग्ने अनुमान गरिएको छ ।
कीर्तिपुरस्थित त्रिविको स्वामित्वमा रहेको पूर्व, पश्चिम र उत्तरतर्फ बोटानिकल गार्डेन तथा दक्षिणतर्फ कीर्तिपुर जाने सडक र विद्यार्थी क्लबको भवन चार किल्ला रहेको खेल मैदान रहनेछ । त्यस्तै पिच बाटोको दक्षिणतर्फ रहेको खाली जग्गा पार्किङका लागि त्रिविविले राखेपलाई उपलब्ध गराउने सम्झौता–पत्रमा उल्लेख गरिएको छ ।
कभर्डहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता एवं प्रशिक्षण सञ्चालन गर्न, खेलकुद स्थलका रूपमा विकास गर्न राखेपलाई आवश्यक परेमा त्रिविविले उपलब्ध गराउने पनि सहमति भएको छ । कभर्डहलको आधिकारिक कागज पत्र तथा मुद्रित सामग्रीमा दुवै पक्षको उपस्थिति जनिने हाल प्रचलनमा रहेको दुवै पक्षको पहिचान चिह्न (लोगो) उपयुक्त ठाउँमा राख्ने र कभर्डहलमा प्रयोग हुने बिजुली, पानी र सुरक्षाको व्यवस्थापन त्रिविले गर्ने उल्लेख गरिएको छ ।
सम्झौता–पत्र हस्ताक्षरका क्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले खेलकुदलाई आमनागरिकसँग जोड्न विश्वविद्यालयले खेल विज्ञानको विषयलाई शिक्षाको मूलधारमा ल्याउनुपर्ने बताए ।
राखेप सदस्यसचिव केशवकुमार विष्टले अन्तर्राष्ट्रिय स्तरको कभर्र्डहल निर्माण गर्ने सम्झौता खेलकुदको इतिहासमा कोसेढुंगा सावित हुने बताए । सम्झौताका लागि त्रिविप्रति आभार व्यक्त गर्दै सदस्यसचिव विष्टले भविष्यमा पनि खेलकुदको विकास र विस्तारमा त्रिविसँग हाते–मालो गर्न खेलकुद परिषद् सधैँ तयार रहेको बताए ।
प्रतिक्रिया