काठमाडौं, १४ साउन । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालकी अध्यक्ष निरु पाल संकटमा फसेकी छन् । युवा संघमा उनीविरुद्ध विद्रोहीको बहुमत पुगेपछि संकटमा फसकी हुन् ।
दुई धारमा मात्र विभाजित रहेको युवा संघमा तेस्रो धार पनि देखिएपछि निरु पालको नेतृत्व अल्पमतमा परेको छ । उनी अध्यक्ष भएदेखि नै युवा संघमा विवाद थियो । तेस्रो धारको नेतृत्व अर्का उपाध्यक्ष सूर्य ढकालले गरेका छन् ।
संस्थापन पक्षबाट अलग्गिएर उपाध्यक्ष ढकालले अहिलेको विवाद समाधान गर्न केन्द्रीय कमिटीबाट नयाँ नेतृत्वको निर्माण गर्नुपर्ने माग थालेका छन् । विवाद समाधान गर्न नेतृत्वपंक्ति सक्रिय नभएको भन्दै ढकालसहित केही पदाधिकारी केन्द्रीय कमिटीको बैठकबाट समाधान गर्न हस्ताक्षर अभियानमा लागेका छन् ।
ढकालसँगै सचिवद्वय रमेश पौडेल, सरोजदिलु विश्वकर्मा, कार्यालय सचिव माधव बाँस्तोला, लेखा संयोजक कमल पाठक, अनुशासन अयोगका संयोजक हीराचन्द केसीले नयाँ अभियान थालेका हुन् ।
निरु पालको क्रियाकलापले युवा संघ झनै विवादमा फसेपछि केन्द्रीय कमिटी बैठक बोलाएर अध्यक्षको विकल्प खोज्नुपर्ने उनीहरूको अभियान छ ।
ढकालले संघभित्रको विवाद चर्किंदै गए पनि अध्यक्ष पालले विवाद टुंग्याउने प्रयास नगरेपछि आफूले अभियान थाल्नुपरेको बताए । ‘अहिले युवासंघ दुई समानान्तर गतिविधिमा सञ्चालन भएको छ’, उनले भने, ‘यसले युवा आन्दोलनको उपलब्धि गुम्ने खतरा भएकाले मिलाउनुको विकल्प छैन । त्यसैले विवादलाई झन चर्कन नदिनका लागि बैठकको माग गदै हस्ताक्षर अभियान सञ्चालन गरेका हौँ ।’
बैठकमा अध्यक्ष निर्वाचित गर्नुपर्ने भए पाल अल्पमतमा पर्नेछिन् । १ सय ८१ सदस्यीय केन्द्रीय कमिटीमा पालका पक्षमा ७७ जना हुनेछन् भने दिलु पन्तका पक्षमा ७१ र ढकाल ४३ गरी १ सय १४ जनाको बहुमत अहिलेको विद्रोही पक्षमा देखिएको छ ।
सचिव पौडेलका अनुसार अहिले ४३ केन्द्रीय सदस्यले आफ्नो अभियानमा साथ दिइसकेका छन् । ‘हामीले हस्ताक्षर गरेको माग पार्टी कार्यालयलाई बुझाउँछौँ,’ उनले भने ।
संघका निवर्तमान अध्यक्ष महेश बस्नेतले राजीनामा दिएर आफ्नै अध्यक्षतामा बैठक बसालेर पाललाई अध्यक्ष घोषणा गरेपछि उपाध्यक्ष पन्तसहित ७ जना पदाधिकारी विधानविपरीतको निर्णय भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । पन्तले केन्द्रीय कमिटीबाट विवाद समाधान गरे आफूहरू राजी हुने बताइन् । ‘हामीले सुरुदेखि नै प्रक्रियाको कुरा गरेका थियौँ,’ उनले भनिन्, ‘यदि बैठकबाट प्रक्रिया गई समाधान गरिन्छ भने आफूहरू बैठकमा बस्नेछौँ ।’
पार्टी उपाध्यक्ष विद्या भण्डारी, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली पनि विधानविपरीत पाललाई अध्यक्ष बनाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रतिक्रिया