निमावि र माविमा नयाँ विषय थप

काठमाडौं  । पाठ्यक्रम विकास केन्द्रले कक्षा ६ देखि १० सम्मको ऐच्छिक विषयमा सूचनाको हक र सुशासनसम्बन्धी पाठ्यक्रम तयार गरेको छ ।
पाठ्यक्रम विकास परिषद्बाट सो पाठ्यक्रम स्वीकृत भए पनि आगामी शैक्षिकसत्रदेखि लागू हुने भएको केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले जानकारी दिए । लेखक तथा सूचनाको हकसम्बन्धी अध्येता हरिविनोद अधिकारीलगायतको टोलीले सो पाठ्यक्रम तयार गरेको हो ।
संविधानतः मौलिक हकका रूपमा रहेको जनताको सूचना पाउने अधिकारका बारेमा विद्यालय तहदेखि जानकारी दिन राष्ट्रिय सूचना आयोग र सम्बन्धित विज्ञको आग्रहका आधारमा सो पाठ्यक्रम तयार भएको हो । केन्द्रले आगामी शैक्षिकसत्रदेखि कक्षा ९ को सामाजिक शिक्षाको पाठ्यपुस्तकमा सूचनाको हकसम्बन्धी अलग पाठ पनि समावेश गर्ने भएको छ । आयोगले सोमबार प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको गत ६ महिनाको प्रगति विवरणमा आफ्नो पहलमा ती पाठ्यसामग्री तयार भएको र शिक्षक तालिमका क्रममा पनि सूचनाको हकसम्बन्धी मार्गनिर्देश पुस्तिका तयारीका क्रममा रहेको बताएका छन् । (सौस)

प्रतिक्रिया