शिक्षा विभाग र परिषद्मा तालाबन्दी

भक्तपुर, १३ साउन । नेकपा माओवादी ‘विप्लव’ समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार सानोठिमीस्थित शिक्षा विभाग र उच्च माध्यमिक शिक्षा परिषद्मा तालाबन्दी गरेको छ ।

विगतका सहमतिहरू कार्यान्वयन गर्नुपर्नेलगायत माग राखेर अखिल क्रान्तिकारीले विभागका महानिर्देशक डिल्ली रिमाल र परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेको हो । अखिल क्रान्तिकारीका केही कार्यकर्ताले तालाबन्दी गरेर प्रेस विज्ञप्ति टाँसेका थिए । तालाबन्दीपछि विभागका महानिर्देशक रिमालले शिक्षा मन्त्रालयमा केही दिनअघि भएको वार्तामा भएकै सहमतिका आधारमा काम अगाडि बढाइसकिएको भए पनि मंगलबार तालाबन्दी गरिएको गुनासो गरे ।
वार्तामा भएकै कुरालाई कार्यान्वयन गर्न जिल्ला जिल्लामा प्राविधिक टोलीसमेत बनाएर काम सुरु गरिसकेको र एक महिनाभित्र प्रतिवेदन बुझाउन सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइसकिएको बताए । परिषद्का उपाध्यक्ष शर्माले वार्तामा बोलाउँदा नआउने तर पछि दुईतीन जना आएर तालाबन्दी गरेर विज्ञप्ति टाँस्ने अराजक प्रवृत्ति भएको बताए । उनले तत्कालै सरकारसँग कुरा गरेर यसबारे निर्णय लिने जानकारी दिँदै तालाबन्दीलाई निरन्तरता दिन नहुने बताए । अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले निजी विद्यालयमा गरिएको शुल्क वृद्धि फिर्तासम्बन्धी सहमतिको कार्यान्वयन गर्नुपर्नेलगायत माग राखी तालाबन्दी गरिएको बताए ।

प्रतिक्रिया