सिन्धुपाल्चोक, १२ साउन । भूकम्पको धक्काले विद्यालय भवन ध्वस्त पारेपछि कृष्णरत्न गंगा उमावि टहरोमा सञ्चालन हँुदै आएको छ । तर, बालबालिकालाई विद्यालयसम्म आइपुग्न भने बाटोभरि भत्किएका संरचनाले कठिन बनाएको छ । विद्यालय आउने धेरै बालबालिका एक्लै हिँड्न डराउने गरेका छन् ।
‘यही बाटोमा पहिला एक्लै विद्यालय आउँथेँ, अहिले डर लाग्छ,’ ८ कक्षामा अध्ययनरत अदिप तामाङ भन्छन्, ‘बाटोका घरहरू भत्किएका छन्, ढुंगामाटो थुपारेर पानीको कारण बाटो हिलाम्य भएको छ ।’ बालबालिका हिँड्ने बाटोको दायाँबायाँका धराप घरहरू भत्किने, ढल्ने अवस्थामा छन् । सडकमा भत्किएका घरहरूको भग्नावशेष स्थानीयवासीले बाटोमा थुपारेका छन् ।
‘बालबच्चा स्कुल ल्याउन मुस्किल छ,’ कक्षा २ मा अध्ययनरत अजय शाहकी आमा पुनिता शाहले भनिन्, ‘पटक–पटकको पराकम्पन, जोखिमपूर्ण बाटो र धराप घरहरूले कुन बेला के हुने हो, साह्रै डर लाग्छ ।’
चौतारा नगरभित्रका बाटो अवरुद्ध हुँदा बालबालिकालाई विद्यालय आउजाउमा कठिनाइ छ । ‘विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण गरिएको छ, । सो विद्यालयकी शिक्षिका निशा श्रेष्ठ भन्छिन्, ‘विद्यार्थीलाई विद्यालय ल्याइपुर्याउनचाहिँ समस्या छ ।’ साना विद्यार्थीलाई अभिभावक लिन नआएसम्म पठाउने गरेका छैनौँ ।
प्रतिक्रिया