इस्लामाबाद, ८ साउन । अफगानिस्तानका लागि अमेरिकी वरिष्ठ सैन्य कमाण्डर बिहीबार पाकिस्तान पुगेका छन् ।
उनले बिहीबार पाकिस्तानका सेना प्रमुखसँग भेटवार्ता गरी अफगान मेलमिलाप प्रक्रियामा पाकिस्तानले खेलेको भूमिकाका लागि धन्यवादसमेत दिएको राजधानी इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ ।
अफगान मिसनका लागि अफगानिस्तानमा खटिएर बसेका संयुक्त राज्य अमेरिकाका सुरक्षाबलका कमाण्डर जर्नेल जोन एफ क्याम्पबेल पाकिस्तान भ्रमणमा पुगेका हुन् ।
पाकिस्तानको राजधानी इस्लामावादमा अफगान सरकार र तालिवान वरिष्ठ नेताहरुबीच पहिलो चरणको भेटवार्ता भएको दुई हप्ता पछि उनी पाकिस्तान पुगेको बताइएको छ ।
इस्लामाबादको मुरी सहरमा गत जुलाई ७ मा भएको अफगान सरकार र तालिवान वरिष्ठ नेताहरुबीचको पहिलो चरणको भेटवार्तामा पर्यवेक्षकको रुपमा एक अमेरिकी अधिकारी समेत रहेका पाकिस्तानी विदेश मन्त्रालयले जनाएको थियो ।
अफगान सरकार र तालिवान वरिष्ठ नेताहरुबीच दोस्रो चरण वार्ताको लागि प्रयास जारी रहेको र यी दुई पक्षबीच लगातार वार्ताको लागि सहमति भएको समेत जनाइएको छ ।
अमेरिकी जर्नेल र पाकिस्तानी सेना प्रमुख राहिल सरिफबीच पार्क¬ –अफगान सीमा क्षेत्रको सुरक्षाको विषयमा वार्ता भएको सैनिक स्रोतले जानकारी दिएको छ ।
सीमा क्षेत्रमा पाकिस्तानतर्फबाट भएको गोली प्रहारमा कम्तीमा चार व्यक्तिको मृत्यु भएको अफागान अधिकारीहरुले दावी गरेका छन् ।
तर पाकिस्तानी अधिकारीहरुले भने यस आरोपलाई अस्विकार गरेका थिए । सीमा क्षेत्रमा हुने गोली हानाहान नै दुई देशबीच क्रोध उत्पन्न गरको बताइन्छ ।
प्रतिक्रिया