उपभोक्ता समितिको लापर्बाहीले नौ करोड फिर्ता

Paisa Nepali Curancyखोटाङ, ७ साउन । उपभोक्ता समितिको लापर्बाहीका कारण जिविसमा आएको नौ करोड बढी रकम फिर्ता भएको छ ।

सुनौलो हजार, साना सिँचाइ, स्थानीय सडक, ग्रामीण खानेपानी तथा सरसफाइ, सामाजिक सुरक्षालगायतका शीर्षकमा आएको नौ करोड ३१ लाख रकम फिर्ता भएको हो ।

आर्थिक वर्ष २०७१–७२ मा सबैभन्दा बढी साना सिँचाइ कार्यक्रमतर्फको रकम फिर्ता भएको स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाले बताए ।

‘फागुन वा चैतमा सम्झौता गर्ने अनि असार मसान्तमा आएर कामको थालनी गर्नाले रकम फिर्ता भएको हो, यस वर्ष वैशाख १२ गतेको महाभूकम्पले पनि असर गरेको छ’, उनले भने ।

जिविसकाअनुसार साना सिँचाइ कार्यक्रममा छुट्टिएको चार करोड बजेटमध्ये खर्चै नगरी सबै रकम फिर्ता भएको छ । सुनौलो हजारको दोस्रो बढी रकम फिर्ता भएको सापकोटाको भनाइ छ ।

यस वर्ष सुनौला हजार दिन कार्यक्रम सञ्चालनका लागि पाँच करोड १७ लाख ८९ हजार रकम आएको उनले बताए । यसमध्ये दुई करोड ६८ लाख १८ हजारमात्र खर्च भएको छ ।

जिल्लामा झोलुङ्गे पुल निर्माण कार्यक्रमतर्फ ६६ लाख २९ हजार, जिविस अनुदानतर्फको २६ लाख ७९ हजार, पुल तथा सामुदायिक पहुँच सुधार परियोजनातर्फ २५ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको २२ लाख २६ हजार, स्थानीयस्तरका सडक, निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फ १९ लाख ३३ हजार, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रममा १८ लाख ५८ हजार, स्थानीय यातायात कार्यक्रमतर्फ १३ लाख १९ हजार, सामाजिक सुरक्षा भत्ता कार्यक्रमको आठ लाख एक हजार २४७, बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्बा विकासतर्फ ५० हजार र पर्यटन पूर्वाधार विकास कार्यक्रमतर्फ छ हजार ९१२ रकम फिर्ता भएको जनाइएको छ ।

योजना सम्झौता गरेर काम नगर्नेमा अधिकांश पार्टी कार्यकर्ता रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार कतिपयले कागजी प्रक्रिया मिलाएर फछ्र्योट गरेका छन् ।

प्रतिक्रिया