‘भैरव’ भदौमा आउने

nikhil_02काठमाडौं, ७ साउन । अभिनेता निखिल उप्रेतीको डेब्यु निर्देशनमा चलचित्र ‘भैरव’ आगामी भदौ ११ गते रिलिज हुने भएको छ । आमदर्शकको दिमागमा स्टन्ट र एक्सनको छाप बसाल्न सफल उप्रेती यो चलचित्रमा प्रहरीको भूमिकामा देखिने छन् ।

अभिनयको डेब्यु चलचित्र ‘पिँजडा’मा सात तले बिल्डिङबाट हाम फाल्नेदेखि विभिन्न स्टन्ट दिएर चर्चामा आएका निखिल अझ नयाँ किसिमको एक्सन शैली लिएर आउन लागेको चलचित्र बजारमा हल्ला चलाइएको छ । स्वयं निखिलले पनि ‘भैरव’ मा बलिउड शैलीको एक्सन रहेको जनाएका छन् ।
चलचित्रमा सीमाक्षेत्रमा हुने गरेको तस्करी, भ्रष्टाचार, प्रहरीको समर्पण र सरकारको भूमिकाको विषयलाई कथात्मक रूपमा प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ । चलचित्रमा निखिल शीर्ष भूमिकामा छन् । सर्लाही र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा निखिलका खतरनाक एक्सन स्टन्ट समावेश गरिएको निर्माण युनिटले जनाएको छ ।
केही समयअघि सार्वजनिक भएको चलचित्रको प्रोमो र गीतहरू अहिले निकै चर्चामा आइरहेको छ । चलचित्रमा निखिलका अलावा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाललगायतले अभिनय गरेका छन् । रतन दारुवाला निर्माता रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व रहेको छ ।

प्रतिक्रिया