अस्पताल भवन मात्रै, उपचार छैन

ललितपुर, ७ साउन । दक्षिण ललितपुरको मानिखेलमा सरकारीस्तरबाट बनेको एक मात्र अस्पताल निर्माण भएको चार वर्ष बितिसक्दासमेत उपचार कार्य सुचारु नहुँदा नागरिक मर्कामा परेका छन् ।

हेर्दा निकै दुर्गम मानिने मानिखेल–६ मा अस्पतालको भवन निर्माणको काम विसं २०६९ मंसिर २२ गते नै सम्पन्न भइसकेको भए पनि उपचार गर्न सुरु नहुँदा सर्वसाधारण सामान्य उपचार पाउनबाट समेत वञ्चित रहेका समाजसेवी बुद्ध नेगीले जानकारी दिए ।
नेगीका अनुसार त्यस स्थानमा उपस्वास्थ्य चौकीबाहेक निजीस्तरबाट सञ्चालन भएको अन्य कुनै पनि अस्पताल नहुँदा सामान्य उपचार लिनबाट समेत त्यहाँका नागरिक वञ्चित बन्नुपरेको छ ।
जिल्लाको दक्षिण भेगमा रहेको मानिखेल, गोटिखेल, चन्दनपुर, कालेश्वर, ठूलो दुर्लुङ्ग, गिम्दी, चौघरे, संखु, भारदेउ, बुखेल, इकुडोललगायत गाविसका जनतालाई सुलभ स्वास्थ्य सेवा दिन भनेर झन्डै चार वर्षअघि अस्पतालको भवन निर्माणको काम सम्पन्न भई उपचार सुरु नहुँदा लाखौँ जनता सामान्य उपचार पाउनबाटसमेत वञ्चित बन्नुपरेको छ ।
अस्पताल निर्माणको समयमा १५ शैयाको अस्पतालमा ३३ जना कर्मचारी राख्ने जसमा तीनजना एमबिबिएस डाक्टर राख्ने कुरासमेत भइसकेको थियो ।
निर्माणाधीन अस्पतालमा हाल उपस्वास्थ्य चौकी आएर बसेको छ, वैशाख १२ गतेको भूकम्पपछि भूकम्पपीडितका लागि अष्ट ‘ज’ अभियानले यस स्थानबाटै स्वास्थ्य सेवा पनि दिइरहेको छ ।
स्थानीय बासिन्दाले हालसम्म पनि अस्पताल भवन बेवारिसे अवस्थामा रहेकोप्रति दुःख पोख्दै सक्दो छिटो सञ्चालनमा ल्याइदिन सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् । बृहत् छलफल गरी नेपाल सरकारबाटै यही आवमा बजेटको व्यवस्था गरी अस्पताल सञ्चालनमा ल्याउनु आवश्यक भएको स्थानीयले बताए ।
स्थानीयवासी लीलबहादुर तिमिल्सिनाका अनुसार यहाँका जनता आकस्मिक बिरामी हुँदा राजधानीबाटै एम्बुलेन्स बोलाएर मात्र बिरामी लानुपर्ने बाध्यता छ ।
त्यस क्षेत्रका महिलाले प्रसूतिसेवा भने अस्पताल भवनमा बसेको उपस्वास्थ्य चौकीबाट लिइरहेका छन् । तिमिल्सिनाका अनुसार आकस्मिक बिरामी हुँदा समयमा उपचार गर्न नपाएका कारण मानिसहरू अकालमा उपचार नपाई मृत्युको सिकार बन्न बाध्य छन् ।
वैशाख १२ गते आएको भूकम्पपछि धेरै नागरिक विभिन्न रोगको सिकार बन्नुपर्ने कुरालाई मध्यनजर राख्दै अष्ट ‘ज’ अभियानको सहकार्यमा एक जना डाक्टर, एक जना नर्सले बिरामीलाई उपचार दिँदै आएका छन् ।
अष्ट ‘ज’ अभियानले यसरी सुरु गरेको उपचार पद्धतिले पनि त्यहाँका धेरै नागरिकहरू लाभान्वित बनेका छन् ।

प्रतिक्रिया