काठमाडौं, ६ साउन । सरकारले औषधिको मूल्य समायोजनका सम्बन्धमा गरेको निर्णय औषधि व्यवस्था विभागले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सरकारले हालै औषधिको मूल्यमा गरेको समायोजनबाट आफूहरूलाई मर्का परेको भन्दै विभागमा छलफलका लागि पुगेका औषधि उत्पादक सङ्घका पदाधिकारी एवम् व्यवसायीसँग विभागले त्यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।
सरकारले आन्तरिकरुपमा उत्पादित विभिन्न ९४ वटा औषधिको उपभोक्ता र उत्पादन मूल्यका बीचमा ठूलो अन्तर रहेको भन्दै ती औषधिको मूल्य समायोजन गर्ने निर्णय गरेको थियो ।
विभागका महानिर्देशक बालकृष्ण खकुरेलले औषधिको बिक्री तथा वितरणमा लिइएको निर्णय उत्पादक, बिक्रेता तथा उपभोक्ताको पक्षमा रहेको बताए ।
बजार मूल्यलाई गतिशील बनाउन मूल्य समायोजन गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई सहजरुपमा लिइदिन व्यावसायीलाई आग्रह गरे ।
महानिर्देशक खकुरेलले सर्वसाधारणको जीवनसँग जोडिएको औषधिमा व्यावसायिक एवम् बजारमा विकृति रहेकाले त्यसलाई कम गर्दै लैजानुपर्ने बताए ।
नेपाल उत्पादक सङ्घका अध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले खुला बजार अर्थतन्त्रविरुद्ध सरकारले औषधिको मूल्य निर्धारण गरिएको उल्लेख गर्दै सरकारको निर्णय कार्यान्वयन भएमा औषधि उद्योग बन्द हुने बताए ।
उनले औषधि उद्योगलाई बचाउनका लागि निर्णय फिर्ता गर्न आग्रह गरे । त्यसैगरी नेपाल उद्योग परिषद्का वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले सरकारको निर्णय अद्योगमैत्री नभएकाले फिर्ता लिनुपर्ने बताए ।
प्रतिक्रिया