सप्तरी, ४ साउन । अज्ञात रोगका कारण सप्तरीको रामनगर कोदरकट्टी गाविसस्थित दलित बस्तीमा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ३० वर्षीया सुनितादेवी सदा र ५५ वर्षीया मुखनीदेवी सदाको छन् । अज्ञात रोगकै कारण सोही बस्तीकै अरु २२ जना बिरामी परेका छन् ।
टाउको दुख्ने, वाक्वाकी लाग्ने र पछि बेहोस हुनेजस्ता लक्षणहरु देखापरेको स्थानीयवासीले जानकारी गराएका छन् ।
दुवैजनाको टाउको दुखेपछि बेहोस भएर मृत्यु भएको बताइएको छ । सुनिताको शनिबार र मुखनीदेवीको गएराति मृत्यु भएको हो ।
यसैबीच, अहिलेसम्म कुन रोग दलित बस्तीमा फैलिएको हो भन्ने खुल्न नसके पनि तत्काल रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीको एक टोली सदरमुकाम राजविराजबाट खटाई सकिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया