काठमाडौं, ४ साउन । पछिल्लो समय नेपाली जुडोको गतिबिधिमा बालगृहको प्रमुख भूमिका रहेको छ । यसै अभियानमा रहेको पाम(प्रिजनर एसिस्टेन्स मिसन) को अभियान बालगृहकी खेलाडी राष्ट्रिय टोलीमा समावेश भएपछि सार्थक भएको हो । पाम कैदीबन्दी गृहका बालबालिकालाई संरक्षण गरी पढाउने र जुडो खेलाउने संस्था हो । पामको स्थापना विष्णुकुमारी वाइवा (पारिजात) ले गरेकी हुन् । पामकी मनिता प्रधान श्रेष्ठ हालै राष्ट्रिय टिममा प्रतिस्पर्धीलाई सहजै पराजित हराउँदै राष्ट्रिय टोलीमा प्रवेश गर्न सफल भएकी छन् ।
२५ बालबालिका रहेका पामका २४ बालबालिका जुडो खेल्ने गर्छन् । ६ वर्षअघि मात्र जुडो खेलमा प्रवेश गरेकोे पामले अरू पनि उत्कृष्ट जुडो खेलाडी उत्पादन गरिरहेको छ । त्यसमध्येकै मनिता भर्खरै मात्र राष्ट्रिय टिममा छनोट भएकी हुन् । मनिता सानै उमेरमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पदक हात पार्न सफल थिइन् । त्यसपछि लगातार चर्चामा रहेकी मनिताले आठ कक्षामा अध्ययन गर्दै रहँदा राष्ट्रिय टोलीमा प्रवेशको अवसर पाएकी हुन् । हाल उनी बालविकास माध्यमिक विद्यालयमा अध्ययनरत छिन् । पन्ध्र वर्षीय मनितालाई जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठले सुरुआती प्रशिक्षण दिएका थिए ।
पामबाट सात बालबालिका अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भइसकेका छन् । जसमा चार जनाले पदक जितिसकेका छन् । पाम अधिकांश समयमा टिम च्याम्पियन हुँदा मनिताको भूमिका महत्वपूर्ण नै रहने गरेको छ । प्रशिक्षक सूर्यनारायण भन्छन, ‘मनिताले सानैदेखि राम्रो खेल्थिन्, त्यसैले पनि होला उनी राष्ट्रिय टोलीमा छिट्टै परिन् । मलाई विश्वास छ उनले नेपालका लागि ऐतिहासिक सफलता हात पार्ने छिन् ।’
मनिता पढाइमा पनि उत्तिकै तीक्ष्ण छिन् । मनिता आठौँ कक्षासम्म आइपुग्दा जहिले पनि प्रथम हुने गरेकी छिन् । यसअघि राष्ट्रियस्तरमा उनले दोस्रो नेकोस जुनियर जुडो च्याम्पियनसिप, पहिलो सिडब्लुसि एन जुडो च्याम्पियनसिप र तेस्रो कनसिन कप क्याडेड जुडो च्याम्पियनसिपलगायत प्रतियोगितामा स्वर्णपदक हात पारेकी थिइन् । अन्तर्राष्ट्रियस्तरमा उनले आइजेफ दक्षिण एसियाली क्याडेट जुडो, भुटानसगँको मैत्रीपूर्ण खेल र दक्षिण एसियाली क्याडेट जुडोलगायत थुप्रै प्रतियोगितामा स्वर्ण जितेकी छिन् । मनिता भन्छिन्, ‘मेरो लक्ष्य भनेको नै ओलम्पिकमा पदक जित्नु हो । त्यसका लागि अहिलेदेखि नै मिहेनत गर्नेछु ।’
प्रतिक्रिया