बनाना रिपब्लिकको स्वाभाविकता

जघन्य अपराध गरेर जेल परेका श्यामसुन्दर गुप्ताले जेलबाट किस्कँदा भव्य स्वागत पाएकोमा कसैले पनि आश्चर्य मानेनन् । भाडामा हुल्याहाहरू जम्मा गरेर हुलदंगा गर्ने, घेराबन्दी गर्ने अपराधीका नाइकेहरू सम्मानित हुने र सज्जनहरू तिरस्कृत हुने देशमा श्यामसुन्दर गुप्ताहरू सम्मानित हुनुलाई कसैले पनि अस्वाभाविक ठानेनन् । नेपालका राज्यसञ्चालकहरू, पार्टीनेताहरू र शासकहरूले नेपाललाई ‘बनाना रिपब्लिक’ बनाउनका लागि अथक प्रयत्न गरिरहेका छन् । भ्रष्टाचार व्याप्त भएको, अपराधी र तस्करहरूको हालिमुहाली चलेको, अपराधीहरूको अगाडि सरकार निरिह देखिएको र समाजमा अराजकता बढेको स्थितिलाई अमेरिकी लेखक ओ. हेनरीले ‘बनाना रिपब्लिक’ को संज्ञा दिएका छन् । नेपाल सरकार अपराधीहरूको सामुन्ने छुलछुली मुत्छ । सयौँ ट्यांकर तेल चोरेर लुकाएको प्रहरीले फेला पार्छ । दोषी प्रमाणसहित हिरासतमा राख्छ । राजनीतिक पार्टीका नेताहरू अपराधी छुटाउनका लागि एसपीसँग अनुनयविनय गरिरहन्छन् । आपूर्ति राज्यमन्त्रीले अरू सबै काम छाडेर तिनै अपराधी छुटाउन दिनरात कसरत गर्छन् । जथाभावी गिट्टीबालुवा उत्खनन् गरेर वातावरण ध्वस्त बनाएको विषयमा जनआवाज चर्कै उठ्यो । जनआवाज सुनेर एकपल्ट सरकारले व्यवस्थित गर्न नियम बनायो । तर, त्यहाँ पनि राजनीतिक पार्टीका नेताहरू अपराधीकै पक्षमा लागेर नियमलाई नै थान्कोमुन्को लगाइदिए । वातावरणमा गम्भीर असर परेको भनेर सरकारले ४० माइक्रोग्रामभन्दा पातला प्लास्टिक प्रतिबन्ध लगायो । यसमा पनि सन्डमुसन्डहरू लागेर फेल गराइदिए । डेढ वर्षअघि महावीर पुनको अगुवाइमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पदयात्रामा जाने पर्यटकहरूको लागि ‘टुरिस्ट ट्रेकिङ सिस्टम’ प्रयोगमा ल्यायो । केही नाइकेको अवैध आम्दानीमा असर पर्ने भएकाले ट्रेकिङ मजदुर युनियनको नाममा ठालु पल्टने स्वयम्भू नेताहरूले विध्वंश मच्चाएर रोकिदिए । यातायातमा सिन्डिकेट झन् डरलाग्दो छ । उनीहरूले त समानान्तर सरकार चलाइरहेछन् र सिंहदरबारको सरकारभन्दा धेरै बलियो छ । सिंहदरबारको सरकारलाई उनीहरूले टेरपुच्छरै लाउँदैनन् । आठ महिनाअघि गोरखामा यातायात समितका महासचिव सुरेन्द्र कुँवर, बसतर्फका संयोजक दीपक खनाल र पूर्वअध्यक्ष रामहरि केसीहरूले एक हुल गुण्डा लिएर ‘राज्यको नियम कानुनअनुसार चल्छु, सिन्डिकेटलाई मान्दिनँ भन्ने को हो ? त्यसलाई ठीक पारिन्छ’ भन्दै गोरखा नपाको खोलखोलेमा ना५ख ५१९६ नम्बरको बस तोडफोड गरिरहेका थिए । ‘समितिले ३२ वटा बस थप गर्दा त कांग्रेस, एमाले, एमाओवादी र नेकपा माओवादीलाई भाग लगाएका छौँ । यी पार्टी हाम्रो अधिनस्थ भइसकेपछि सरकारी ऐननियमको आड लिएर यहाँ कोही टिक्न सक्दैन’ भनेर हाक्काहाक्की बम्किरहेका थिए ।
अपराधीहरू स्वीकृत र सज्जनहरू तिरस्कृत हुने यो परम्परा हाम्रा पार्टीका नेताको सानो प्रयासले सम्भव भएको चाहिँ होइन । र, अपराधीहरूको पक्षमा एउटा वा दुईवटा मात्र पार्टी छन् भन्ने पनि होइन । २०६३ र २०६४ सालमा कृष्णप्रसाद सिटौलाजी र गिरिजाप्रसाद कोइरालाले अपराधी, गुन्डा, हुल्याहाहरूलाई अचाक्ली पुल्पुल्याए । यति पुल्पुल्याए कि उनीहरूको हौसला ह्वात्तै बढ्यो । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री बामदेव गौतम मिलेर जघन्य अपराधीका ५ सय ४४ थान मुद्दा फिर्ता लिए । माधव नेपालले पनि झन्डै त्यत्तिकै संख्यामा डर लाग्दा अपराधीका मुद्दा फिर्ता लिए । प्रधानमन्त्री बाबुराम भट्टराईले त भयंकर डरलाग्दा, जघन्य अपराधीका मुद्दा १५ सय थानभन्दा बढी नै फिर्ता लिए । कृष्णप्रसादले पुल्पुल्याएपछि खुँखार अपराधीहरूको मनोबल यति बढ्यो कि उनीहरू खुलेआम अपराध गर्ने भए । सुरक्षाकवचको रूपमा राजनीतिक आवरण दिन ‘मुक्तिमोर्चा’ जस्ता राजनीतिक आवरण बनाउन थाले । ११ महिनाअघि सांसद आनन्दप्रसाद ढुंगाना महिनौँसम्म पूर्वी तराई र पूर्वी पहाडतिर बसेर ‘मोस्ट वान्टेड’ अपराधीहरूसँग भेटघाट गरिरहेका र सान्त्वना दिइरहेका थिए ।
हाम्रा नेताले नै अपराधी, गुन्डा, तस्करहरूको भरमा आफ्नो राजनीति चलाइरहेका छन् । अपराधीहरूको संरक्षण गरिरहेका छन् भने श्यामसुन्दर गुप्ताको मनोबल बढ्नु स्वाभाविक हो । अपराधीहरू सम्मानित भइरहेको समाजमा सज्जनहरू तिरस्कृत हुनुलाई जसले अनौठो ठान्छ, त्यो चाहिँ मूर्ख हो । ‘बनाना रिपब्लिक’ मा यो स्वाभाविक हो, अन्यथा मान्नु हुँदैन ।

प्रतिक्रिया