साढे २४ करोड फिर्ता

इलाम, ३ साउन । आर्थिक वर्ष ०७१/७२ मा इलामका लागि विनियोजित २४ करोड ५८ लाख ९३ हजार आठ सय १२ रुपैयाँ रकम फिर्ता गएको छ । अर्थिक वर्षको अन्त्यसँगै कोष तथा लेखा नियन्त्रण कार्यालय इलामले सार्वजनिक गरेको विवरणमा सो उल्लेख गरिएको छ ।

आव ०७१/७२ का लागि इलाममा तीन अर्ब ३६ करोड ८३ लाख ३५ हजार दुई सय ३१ रुपैयाँ विनियोजन भएकोे थियो । जसमध्ये तीन अर्ब १२ करोड २४ लाख ४१ हजार चार सय १९ रुपैयाँ मात्र खर्च भएको छ । चालुतर्प दुई अर्ब ३६ करोड ८५ लाख ३५ हजार ६ रुपैया खर्च भएको छ । पूँजीगततर्फ ७५ करोड ३९ लाख ६ हजार चार सय १२ रुपैयाँ खर्च भएको कोलेनिकाले जनाएको छ ।
सबैभन्दा बढी रकम सडक डिभिजन कार्यालय फिर्ता गएको छ । सडक कार्यालयबाट पाँच करोड ८६ लाख ३२ हजार एक सय ३१ रुपैयाँ फिर्ता गएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय इलामको पाँच करोड दुई लाख १८ हजार ६ सय ३७ रुपैयाँ रकम फिर्ता भएको कोष तथा लेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले जानकारी दिए । त्यस्तै जिल्ला विकास समतिबाट ८९ लाख तीन हजार आठ सय १५, खानेपानी तथा सरसफाई डिभिजनबाट ५८ लाख ४८ हजार तीन सय ५४ रुपैयाँ रकम फिर्ता भएको जनाइएको छ ।
पुँजीगत खर्चभन्दा चालु खर्च बढी देखिएको छ । ७५ करोड ३९ लाख ६ हजार चार सय १२ रुपैयाँ पुँजीगत खर्च भएको इलाममा दुई अर्ब ३६ करोड ८५ लाख ३५ हजार सात रुपैयाँ चालुतर्पmको खर्च देखिएको छ ।
राजस्व संकलनमा भने सुधार देखिएको छ । अघिल्लो आव ०७०/७१ मा २३ करोड १८ लाख ६४ हजार सात सय ७५ रुपैयाँ राजस्व संकलन भएकोमा आव ०७१/७२ मा २६ करोड ३५ लाख पाँच हजार नौ सय ४३ रुपैयाँ संकलन भएको छ । करदाता सेवा कार्यालय इलामले सबैभन्दा धेरै ११ करोड ४४ लाख ७३ हजार पाँच सय ३७ रुपैयाँ राजस्व उठाएको हो ।
जिल्ला प्रसाशन कार्यालयले चार करोड २३ लाख ७६ हजार ६ सय ४० रुपैयाँ, जिल्ला मालपोत कार्यालयले दुई करोड ८२ लाख ९० हजार तीन सय ७९ रुपैयाँ, जिल्ला ट्राफिक कार्यालयले १९ लाख ८३ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया