राय सुझाव संकलन गर्न सभासद्हरू गाउँमा

इनरुवा । सुनसरीमा संविधानको पहिलो मस्यौदामा राय सुझाव संकलन गर्नका लागि संविधानसभाका सभासद्हरू सुनसरी आएका छन् । जिल्लाको निर्वाचित सभासद्हरू र एक जना थप सभासद्सहितको टोली सुझाव संकलनका लागि सुनसरी आएका हुन् ।
संविधानसभाबाट तयार भएका संविधानको विधेयकको पहिलो मस्यौदामाथि छलफल गर्नका लागि र सुझाव संकलनका लागि मस्यौदा गाउँगाउँमा पठाइएको छ । पठाइएका संविधानको मस्यौदा, २०७२ माथि छलफल सुझाव संकलनका लागि सुनसरीका ६ निर्वाचन क्षेत्रमा पाँच वटै स्थानमा सुझाव संकलन केन्द्र राखिएको छ ।
निर्वाचन क्षेत्र–१ का लागि साउन ४ गते धरानको लंघाली सामुदायिक वनको सभाहलमा, २ का लागि ५ गते रिजाल भिजन पार्टी प्यालेस इटहरी, ३ का लागि ४ गते दुहवी रंगशालामा, ४ का लागि ५ गते शैक्षिक तालिम केन्द्र इनरुवामा, ५ का लागि ५ गते राष्ट्रिय मावि लौकही भन्सारमा र ६ का लागि ४ गते महेन्द्र उच्च मावि चक्रघट्टीमा कार्यक्रम राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी गराए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सबै नगरपालिका, उपमहानगरपालिका र गाविसमा समेत राय सुझाव बुझाउनका लागि साउन ५ गतेसम्मको समयसीमा दिएको छ । यसैगरी सुनसरीको वसन्तपुरमा कार्यक्रम गरी पिछडा वर्गको रकम दुरूपयोग गरेको स्थानीयवासीले गुनासो गरेका छन् । गाविसमा कार्यक्रम नै नगरी कागज मिलान गरेको स्थानीयवासीले बताएका हुन् । पिछडावर्गका अध्यक्ष महेन्द्र मेहताले कामै नगरिकन जिविसमा कागजपत्र पेस गरेको भन्दै सो विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीय सत्यनारायण मेहता, मोहनकुमार यादव, शोभालाल मण्डल, खेमनारायण मण्डललगायतका एक दर्जन नेताले माग गरेका छन् । (सौस)

प्रतिक्रिया