विश्वसाइकल यात्री जापानमा

टोकियो । जापान–नेपालको परिचय संसारभर फैलाउन भन्दै विश्वसाइकल यात्रामा निस्केका दुई युवा जापान आइपुगेका छन् ।

विश्वसाइकल यात्री ताप्लेजुङका लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाल जापानी सडकमा नेपाली झन्डा र नेपाली पोषाकमा बिहीबार देखिएका हुन् ।

उनीहरूले विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वशान्तिको मुलुक नेपालको पहिचान गराउने उद्देश्यले विश्वसाइकल यात्रा सुरु गरेको बताएका छन् ।

सामान्यतया सधैँ व्यस्त रहने जापानी सडकमा चन्द्र र सूर्य अङ्कित नेपाली झन्डा र ढाका टोपी, कालो इस्कोट र दौरासुरुवालमा विश्वशान्तिका दूतका रूपमा चिनिएका गौतमबुद्धको तस्बिरसहित नेपाल लेखिएको सानो बोर्ड साइकलमा टाँगेका दुई युवा देखिँदा टोकियोका सर्वसाधारणले अनौठो मानेका थिए ।

७ डिसेम्बर २००४ बाट सुरु गरेको यात्रा हालसम्म ११६ मुलुकको यात्रा सम्पन्न गर्दा भाषा, स्थानीयवासीको अवरोधका बीच पनि नेपाल र नेपालीको परिचय गराएको उनीहरूले बताए ।

दुई वर्षभित्रमा बाँकी मुलुकको भ्रमण सक्ने र त्यस अवधिसम्ममा नेपालमा व्याप्त राजनीतिक हिंसा हटेर विश्वमा नेपाल साँच्चिकै सुन्दरशान्त मुलुकका रूपमा चिनिने आशा उनीहरूले लिएको छ ।

साइकल यात्राका क्रममा दैनिक हजारौँ सर्वसाधारणसँग नेपालका बारेमा जानकारी गराउँदै आएको बताउने उनीहरूले ताइवान, मकाउ, चाइना हुँदै जापान आएको र छिट्टै नै रसिया, युक्रेन हुँदै नगएका मुलुकमा पुगेर सन् २०१७ मा विश्व भ्रमण सम्पन्न गर्ने बताएका छन् ।

प्रतिक्रिया