यार्सागुम्बा बिक्रीमा ढिलाइ

yarsaडोल्पा, १ साउन । यो वर्ष जिल्लाका उच्च हिमाली भेगका पाटनमा बीसौँ हजार सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि आएका थिए । यसवर्ष यार्सागुम्बा कम भेटिएकाले यसको मूल्य धेरै पाउने आश गरेका डोल्पालीले अहिलेसम्म बेच्न पाएका छैनन् । व्यापारी नआएपछि संकलकले यार्सागुम्बा बेच्न नपाएका हुन् । गतवर्ष व्यापारीहरू पाटनमै यार्सा संकलन गर्दागर्दै आउने गरे तापनि यसवर्ष भने घरमा पनि व्यापारी नआएपछि घरमै थन्किएको गुनासो स्थानीयवासी भीमप्रसाद शर्माले भने ।
उनका अनुसार गत वर्ष प्रतियार्सा एक हजारभन्दा बढीमा कारोबार भएको थियो । यसवर्ष प्रतियार्सा पाँच सय मात्रै भएकाले समेत संकलकले यार्सा नबेचेको शर्माको भनाइ छ ।
गतवर्ष प्रतियार्सा सातसयका दरले ३० वटा बिक्री गरे तापनि यसवर्ष दुई सय घाटा खाएर ५० वटा बेचेको त्रिपुराकोटका स्थानीयवासी जनक थापाले बताए । त्यस्तै आफूले भेटाएको एक सयवटा यार्सागुम्बा बिक्री नभएको मोतिपुरका स्थानीयवासी अमरसिंह कडायतले बताए । यसवर्ष यार्सागुम्बा व्यापारी नआएपछि भनेजस्तो मूल्य नपाएकाले सबैजसो डोल्पालीको यार्सागुम्बा घरमै थन्किएको हो । (सौस)

प्रतिक्रिया