उपचारको इच्छाशक्ति

अनेरास्ववियुले असार २७ गते आयोजना गरेको कार्यक्रममा उपस्थित भेलालाई सम्बोधन गर्दै एमाओवादी पार्टीका अध्यक्ष प्रचण्डले ‘हाम्रो पार्टीमा नेतैपिच्छे गुट निर्माण भएको छ । कुनै जिल्लामा त नौवटासम्म गुट छन् । यस्तो पनि कम्युनिस्ट पार्टी हुन्छ ? यो त पार्टी नभएर गुटैगुटको झुन्ड भएको छ’ भनेर आत्मकमजोरी स्वीकारे । पार्टीका नेताहरूले यति कमजोरी स्वीकार्दा पनि अचम्म मान्नुपर्ने हुन्छ । किनभने नेपालमा कुनै पनि पार्टीका शीर्षस्थ नेताहरू र शासकहरूले कमजोरी स्वीकार्ने चलन छैन । तैपनि, कमरेड प्रचण्डको चाहिँ एउटा फरक शैली के छ भने कसैले तथ्यसहित वास्तविकता झ्याप्पै अगाडि राखिदियो भने तत्काललाई गल्ती स्वीकारेर उम्कन्छन् । तथ्य र वास्तविकताले घेराबन्दी गरेको बेलामा बाध्य भएर गल्ति स्वीकारे पनि आफूलाई सच्याउने चेस्टा त प्रचण्डले पनि गर्दैनन् ।
एनेकपा माओवादीको हेटौँडा महाधिवेशनअघि पार्टीले ढाकछोप गरेका विषय यसरी उदांगिएर आए कि प्रचण्डले एक कदम अघि बढेर कोट्याइएका मात्र होइन, उधिन्न सकिने भित्री आन्द्राभुँडी नै आफैँले निकालिदिएका थिए । उनले मञ्चमा खडा भएर ओकलेका सत्य धेरै र भयंकर थिए । दस्तावेजमै उल्लेख गरेका पार्टी आन्तरिक जीवनको यथार्थ यस्तो थियो– ‘हाम्रो पार्टी गुटबन्दी, व्यक्तिवादी अराजकता, आर्थिक अनियमितता र अपारदर्शिताले ग्रस्त छ । पार्टीका नेताहरू र अगुवा कार्यकर्ताहरू नै पद, अवसर र लाभ प्राप्त गर्न दबाब दिइरहेका र धम्क्याइरहेका हुन्छन् । आफ्रनो पद प्रतिष्ठाका लागि मात्र चिन्ता गर्ने, आफ्नो र आफ्नो परिवारका लागि मात्र सुरक्षा र सुविधाको ग्यारेन्टी खोज्ने, आफूभन्दा तलकासँग नोकरशाही व्यवहार गर्ने र आफूभन्दा माथि दलाली गर्ने, अरूका दु:खकष्ट र पीडामा उदासीन रहने तर आफ्नो सुखसुविधाका लागि मरिहत्ते गर्ने प्रवृत्ति क्रोनिक हदसम्म पुगेको छ ।’ यी त रोगका लक्षण भए । किन यस्ता लक्षण प्रकट भए ? रोग के हो भनेर रोगको उपचार गर्नेतर्फ उनीहरू लागेनन् । यत्रो पार्टीभित्र यतिसम्म विकराल समस्याले च्यापिसक्दा त्यसका लागि के पार्टीका अन्य नेता र कार्यकर्ता मात्र दोषी होलान् त ? स्थायी कमिटीको दोष कति ? स्वयं प्रचण्डकै कारणले हुन गएको कति ? दोषजति कार्यकर्ताको थाप्लोमा हालेर आफू पानीमाथिको ओभानो बन्ने हो भने उपचार सम्भव छैन ।
तत्काल उम्कनका लागि मात्र ती स्वीकारोक्ति भएकाले महाधिवेशन सकिएको भोलिपल्टैदेखि यस विषयमा उनीहरूले प्रयत्न त परको कुरा चर्चासमेत कहिल्यै गरेनन् । बरु, पार्टीभित्र भएका भ्रष्टाचारका ज्वलन्त प्रमाण त्यहीँ प्रस्तुत गर्दासमेत त्यसलाई तर्काए । सत्य तथ्यसँग झ्याप्पै सामना गर्नुपर्‍यो भने उम्कनका लागि मात्र गल्ति स्वीकार्ने पुरानै टेक्निक हो भन्ने त २०६७ पुस २१ गते सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकमा दस्तावेजमै रहने गरी स्वीकारिएका यी स्वीकारोक्तिले प्रस्ट्याउँछ । दस्तावेजमा लेखिएको छ– ‘१. आज हाम्रो पार्टीमा जनवादी केन्द्रीयताको परिचालन समाप्तै हुन लागेको छ । कमिटी प्रणाली, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, आलोचना–आत्मालोचनाको पद्धति भताभुंग भएका छन् । कमिटीहरू यति ठूला र भद्दा बनेका छन् कि उद्देश्यमूलक र प्रभावकारी छलफल सम्भव नै हुँदैन । माथिदेखि तलसम्म गुटबन्दी, अराजकता, अस्वस्थ प्रतिस्पर्धा र नोकरशाही प्रवृत्ति मौलाउँदै गएका छन् ।
२. माथिदेखि तलसम्म केही सीमित पदाधिकारी र टाठाबाठाहरूको दिन प्रतिदिन वर्गउत्थान हुँदै जाने र कार्यकर्ताहरूको विशाल पंक्ति बेरोजगारी, अभाव र उत्पीडनको शिकार बन्दै जाने गम्भीर स्थिति विकास भएको छ । यति मात्र होइन, पार्टीमा आर्थिक अराजकता व्याप्त छ र भ्रष्टाचार, तस्करी र जबर्जस्ती प्रवृत्तिका भयानक विकृतिले टाउको उठाइरहेछन् ।
एमाओवादी नामको एउटा पार्टीलाई मात्र यस्तो भयानक महारोग लागेको भन्ने चाहिँ होइन । धेरथोर अरू पार्टी पनि यिनै रोगबाट आक्रान्त छन् । नागरिकको चिन्ता चाहिँ के मात्र हो भने राष्ट्रिय पार्टीहरू भित्रभित्रै सड्दै, कुहिदै र पतन हुँदै जानु भनेको राष्ट्रका लागि अपूरणीय क्षति हो । तर, पार्टीकै शीर्षस्थ अगुवा नै सर्वप्रथम यो रोगको उपचार गर्न र स्वस्थ हुन चाहन्छन् कि चाहँदैनन् ? यही एक मात्र शर्त हो ।

प्रतिक्रिया