सडक नबन्दा मर्कामा सर्वसाधारण

काठमाडौं, ३० असार । सडक विभाग तथा ठेकेदार कम्पनीले समयमा चासो नदिँदा चुचेपाटी–आरुबारी पासाङल्हामु सडकमा सर्वसाधारणले दैनिक सकस व्यहोर्नुपरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन विस्तारको जिम्मा लिएको ठेकेदार कम्पनी गोल्डेन गुड कन्ट्रक्सन प्रालिले समयमा काम नगर्दा त्यहाँका सर्वसाधरण मर्कामा परेका हुन् ।
महाँकाल चोकदेखि आरुबारीसम्म जाने सडक हिलाम्यै भएपछि आपतकालीन समयमा बढी समस्या भएको स्थानीयको भनाइ छ । बिरामी परेको बेला एम्बुलेन्स बोलायो बाटोका कारण देखाएर एम्बुलेन्स पनि छिर्न नमान्ने चन्द्र तामाङले बताए ।
एक वर्षदेखि निर्माण कार्य थालिएको खानेपानीको पाइपलाई विस्तार आयोजनाका कारण बाटो अवरोध भएपछि स्थानीय साना व्यापारीको व्यापारमा पनि प्रभाव परेको छ । स्थानीय डुङे शेर्पाले भने, ‘यही एउटा बाटमो सिमेन्टको ढल, खानेपानीको सानो पाइप र मेलम्चीको ठूलो पाइप राख्दा लामो समयसम्म आफ्नो व्यवसाय प्रभावित भएको गुनासो गरे । पहिलेको तुलनामा आधाको आधा पनि व्यापार छैन । गुजार चलाउन समस्या भयो ।’
बाटो अवरोध भएपछि तीनचुलेसम्म चल्ने साना सवारीसाधनसमेत प्रभावित भएको टेम्पो व्यावसायीको गुनासो छ । उनीहरूले चुच्चेपाटीबाट महाँकाल हुँदै तीनचुलेको रुटमा चल्ने टेम्पो घुमाएर लैजानुपर्ने भएकाले घाटामा व्यवसाय गर्नुपरेको गुनासो गरे । जोरपाटीबाट चल्ने टेम्पो व्यवसायीले विरोध गरेकाले थप समस्या भएको उनीहरूको भनाइ छ । हाल उनीहरूले जोर÷बिजोर नियमअनुसार टेम्पो चलाइरहेका छन् ।
उता मेलम्ची खानेपानी आयोजनाले भने आधा काम सडक विभागको भएकाले तदारुकता देखाउनुपर्ने बताएको छ । चुच्चेपाटीदेखि महाँकालसम्मको निर्माण जिम्मा पाएको ठेकेदार कम्पनीका सिटिसी कालिका संयुक्त उपक्रम (जेभी) का प्रतिनिधि प्रकाश खरेलले सडक विभागले सडकको ग्राभेल तथा पिच गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो पाटोको काममा हामीले सहयोग गर्ने हो ।’
भूकम्पका कारण निर्माण कम्पनीका साधनहरू रेस्क्युका लागि हिँडेकाले काम ढिला भएको मेलम्ची खानेपानी आयोजनाका सामाजिक सचेतना तथा परामर्शदाता संयोजक गिरिबहादुर सुनारले बताए । ‘काम गर्दै गरेका बेला एक्कासि आएको भूकम्पका कारण काममा ढिलाइ भएको थियो । पछि स्काभेटर प्रयोग गर्न स्थानीय डराए । भूकम्पले थर्काएको घर झन् थर्किने भन्दै उनीहरूले विरोध गरेकाले झन् ढिलाइ भयो । असार लागेपछि पानी पर्न थाल्यो, त्यसैले बाटो हिल्याम्मै भएर समस्या देखिएको हो’, सुनारले भने ।
सुनारका अनुसार आयोजनाको तर्फबाट पनि केही ढिलाइ भएको छ भने सरकारले सडक विभागमार्फत गर्नुपर्ने काममा समेतमा ढिलाइ भएकाले गुनासो आएको हो ।

प्रतिक्रिया