बुटवल पूर्ण साक्षर घोषणा

बुटवल, २९ असार । बुटवल उपमहानगरपलिकालाई सोमबार एक कार्यक्रमकाबीच पूर्ण साक्षर घोषणा गरिएको छ ।

रुपन्देही जिल्लाका एलडिओ विश्वप्रकाश अर्यालले बुटवलमा ९५ प्रतिशतभन्दा बढी जनसंख्या साक्षर भइसकेकोले उपमहानगरपालिका पूर्ण साक्षर भएको घोषणा गरे ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि एलडिओ अर्यालले शिक्षाले नै मानिसको चेतनास्तर वृद्वि गर्ने र सकारात्मको सोचको विकास गर्ने भएकाले समाजको विकासमा शिक्षाको ठूलो भूमिका रहेको बताए ।
जिल्लालाई सामाजिक सूचकांकमा अग्रणि स्थानमा राख्न जिल्लावासी सबैको सहयोगको खाँचो रहेको भन्दै अर्यालले राजनीतिक दल, गैरसरकारी संस्था, नागरिक समाजले आ–आफ्नो स्थानबाट सकारात्मक सहयोगको आग्रह गरे । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिशिअ टेकबहादुर थापले पूर्ण साक्षर भएको प्रमाणपत्र बुटवलका प्रमुख धुर्वबहादुर खड्कालाई प्रदान गरे ।
कार्यक्रमका बोल्दै जिशिअ थापाले रुपन्देही जिल्लालाई यही ३१ असारमा पूर्ण साक्षर जिल्ला घोषणा गरिने बताए ।
जिल्लाभर सञ्चालित १५ वर्षदेखि ६० वर्ष उमेरका ९५ प्रतिशतभन्दा बढी जनसंख्या साक्षर भइसकोले पूर्ण साक्षर जिल्ला घोषणा गर्न लागिएको थापाले जानकारी दिए ।
कार्यक्रमका अध्यक्ष एवं बुटवलका कार्यकारी अधिकृत धुर्वबहादुर खड्काले बुटवल सबै क्षेत्रमा अग्रणि स्थानमा रहेको र आगामि दिनमा बुटवलको विकासलाई थप उचाइमा पु¥याउन आर्थिक विकाससँगै सामाजिक विकासलाई महत्वका साथ लिएको बताए ।
पूर्ण साक्षरजस्तै ८७ घरमा मात्र शौचालय निर्माण बाँकी रहेको हुँदा छिटै खुल्ला दिशामुक्त धोषणा, बालमैत्री स्थानीय शासन, वातावरण मैत्री नगरलगायत अन्य सामाजिक विकासमा लागि रहेको खड्काको भनाइ थियो ।
पूर्ण साक्षर अभियानको बारे जनकारी गराउँदै बुटवल उमनपा समाज कल्याण महाशाखा प्रमुख भुवाप्रसाद लुइटेलले बुटवल उमनपामा कुल जनसंख्या एक लाख ३८ हजार सात सय ४२ रहेकोमा निरक्षरको संख्या पाँच हजार तीन सय ७२ रहेको र दुई सय ८१ सघन साक्षरता कक्षा सञ्चालन गरिएको जानकारी दिए ।
जम्मा निरक्षर पाँच हजार तीन सय ७२ रहेकोमा चार हजार आठ सय ८० मात्र साक्षर भएकोमा चार सय ९२ अभै पनि निरक्षर रहेको जानकारी दिए ।
सोही अवसरमा जिल्ला शिक्षा कार्यालय र बुटवल उमनपाले पूर्ण साक्षर कार्यक्रम सञ्चालनमा सहयोग गर्ने विद्यालयहरू र सहयोगीलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया