टेरेनन् विदेशी नाम राख्ने कलेजले

काठमाडौं, २९ असार । विदेशी नाममा सञ्चालन भएका स्कुल तथा कलेजले अझैसम्म पनि विदेशी नाम परिवर्तन गरेका छैनन् । सरकारले विदेशी नामबाट सञ्चालित विद्यालय तथा कलेजलाई तीन वर्षअघि नै नाम परिवर्तन गर्न भने पनि नटेरेका हुन् ।

सरकारले ०६९ मा विदेशी नामबाट सञ्चालित निजी विद्यालय तथा कलेजको नाम नेपालीपन झल्कने राख्न निर्देशन दिएको थियो । उच्चमाध्यमिक शिक्षा परिषद् र शिक्षा विभागले आचारसंंहिता बनाएर नै विदेशी नामका विद्यालय तथा कलेजको नाम ६ महिनाभित्र परिवर्तन गरिसक्नुपर्ने निर्देशन दिएको थियो । तर, निर्देशन दिएको तीन वर्ष बिते पनि निजी विद्यालय तथा कलेजले विदेशी नाम हटाएका छैनन् ।

परिषद्ले आचारसंहिता तथा विभागले संस्थागत विद्यालय सञ्चालन निर्देशिका बनाएर विदेशी नामका कलेजलाई नेपाली नाम परिवर्तन गर्न निर्देशन दिएको थियो । राजधानीमा गोल्डेनगेट, लिभरपुल, नासा, चेल्सी, टेक्सास, मोर्गन, बनहार्टलगायत १९ कलेज विदेशी नामबाट सञ्चालित छन् । निजी विद्यालय तथा कलेजले विदेशी नामबाट सञ्चालित कलेजको ब्रान्ड बनिसकेकाले परिवर्तनको पक्षमा छैनन् । अधिकांश निजी कलेज वैज्ञानिकको नाम, फुटबल क्लब तथा ठाउँ विशेषका विदेशी नामबाट सञ्चालित छन् ।

परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले विदेशी नामबाट सञ्चालित कलेजलाई नेपाली नाम राख्न निर्देशन दिइएको बताए । ‘हामीले विदेशी नाम परिवर्तन गर्न भनेका छौँ’, उनले भने, ‘केहीले गरेका छन् । नगरेकालाई ताकेता गरिरहेका छौँ । तर, नयाँ दर्ता गर्न आउने कलेजको भने नेपाली नामका नै दर्ता गरेका छौँ ।’ शर्माले स्कुल तहबाट नै विदेशी कलेजको नाम परिवर्तन गरिनुपर्ने बताए ।

शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले विदेशी नाम परिवर्तन गर्ने क्रम चलिरहेको जानकारी दिए । ‘हामीले निर्देशिका जारी भएपछि विदेशी नाम परिवर्तन गर्न भनेका हौँ’, उनले भने, ‘अहिले कार्यान्वयनको चरणमा छ । धेरैले नेपाली नाम राख्न थालेका छन् ।’ प्रवक्तासमेत रहेका नेपालले कार्यान्वयन भइसकेकाले केही वर्षभित्र सबै विद्यालयको नाम नेपालीपनकै हुने बताए । उनका अनुसार विभागले नयाँ दर्ता गर्न आउने विद्यालयको नाम नेपालीमै छ ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसी दर्ताका बेलामा विदेशी नाम दर्ता गरेर अहिले नाम परिवर्तन गर्न दबाब दिन नहुने बताउँछन् । भन्छन्, ‘दर्ता गर्दा नै विदेशी नाम दिनु हुन्थेन ।’ उनले दर्ता गरेर ब्रान्ड बनाइसकेपछि नाम परिवर्तन गर्न नसकिने र सरकारले अनावश्यक दुःख दिन खोजिरहेको आरोप लगाए ।

प्रतिक्रिया