सल्यानमा प्राथमिक तहका दरबन्दीबाट माविस्तरको पढाइ

सल्यान, २६ असार । सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं १२ मा रहेको एक माध्यमिक विद्यालयमा प्रावि तहका तीन दरबन्दीबाट कक्षा सञ्चालन हुँदै आएको छ ।

स्यानीखालमा रहेको शिव माविले माध्यमिक विद्यालयको अनुमति पाइसके पनि दरबन्दी स्वीकृत नभएकाले प्रावि तहका दरबन्दीमा रहेका तीन शिक्षकका भरमा माध्यमिकस्तरसम्मको पढाइ सञ्चालन हुँदै आएको हो ।

जिल्ला शिक्षा कार्यालयबाट माध्यमिक तहको पढाइका लागि अनुमति दिइएको लामो समय बितिसक्दा पनि दरबन्दी स्वीकृत नगरिदिँदा समस्यामा परेको स्थानीयवासीको गुनासो छ ।

विद्यालयमा शिक्षकको व्यवस्था गर्नका लागि कुनै स्रोत नहँुदा प निजी स्रोतमा उधारोमा शिक्षक राख्दै आएको विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर हमालले बताए ।

विद्यालयले आफ्नो पढाइको गुणस्तरमा सुधार गर्न कक्षा १ देखि ६ सम्म अङ्ग्रेजी माध्यमबाट पढाउँदै आएको छ । विद्यालयमा सामुदायिक वनले दिने रकमबाहेक अर्को कुनै स्रोत नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर चलाउनेले बताए ।

विक्रम संवत २०६७ मा विद्यार्थी घटेर ३० जना भएपछि विद्यालयले विद्यार्थीको सङ्ख्या बढाउनका लागि अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरेको थियो । अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया