टुँडिखेलका भूकम्पपीडितले राहत

Tudikhelकाठमाडौं, २५ असार । चिनियाँ सरकारको सहयोगमा टुँडिखेलमा पालमा बस्दै आएका भूकम्पपीडितले अझैसम्म राहत पाएका छैनन् ।

भूकम्पले धादिङ जिल्ला जीवनपुरका दीपक थापाको घर पूर्णरुपमा क्षति भए पनि उनले अझैसम्म केही राहत पाएका छैनन् ।

राहतका नाममा सरकारबाट घोषणा भए पनि उनले टहराका लागि जस्तापाता खरिद गर्न १५ हजारसमेत पाएका छैनन् ।

विभिन्न सङ्घसंस्थाबाट १० केजी चामल, आधा केजी दाल र चाउचाउमात्र पाएको तर सरकारका तर्फबाट केही नपाएको उनी बताउँछन् ।

तीन महिना बितिसक्दा पनि भूकम्प परिचयपत्रसमेत नपाएको उनको दुखेसो छ ।

काठमाडौंको एउटा होटलमा कुक काम गरेर चारजनाको परिवार पाल्दै आएका थापालाई काममा पनि फिर्ता बोलाएको छैन ।

घरमा पनि अन्नपात सबै पुरिएको, बस्नका लागि टहरासमेत नभएको, काठामाडौंमा कोठाको खोजीमा रहेका उनले बताए । यही टुँडिखेल उनको तीनजनाको परिवारको आश्रयस्थल बनेको छ ।

त्यस्तै, दोलखा सुनखानीकी कमला आचार्यको पनि यस्तै अवस्था रहेको छ । एउटै पालमा तीनजनाको परिवार बस्दै आएका उनीहरूको घरको नाममा केही छैन ।

राहतको नाममा तिनले अहिलेसम्म केही पाएका छैनन् । मिस्त्री काम गर्ने श्रीमान्को आम्दानीको भरमा जेनतेन चारजनाको परिवारको जीविकोपार्जन हुँदैआएको छ ।

राहतको नाममा अहिलेसम्म केही नपाएको र भूकम्प परिचयपत्र पनि बन्न नसकेको उनको गुनासो छ ।

साउन १ गतेदेखि टुँडिखेल छाड्नुपर्ने हल्लाले बस्दैआएका भूकम्पपीडितहरूको बेचैनी बढेको छ ।

प्रतिक्रिया