भट्टराईलाई निलम्बन, अधिकारीलाई निष्कासन

काठमाडौं । चलचित्र पत्रकार संघले संघका साधारण सदस्य अनुप भट्टराईलाई निलम्बन र संघका चितवन शाखाका अध्यक्ष रवि अधिकारीलाई निष्कासन गरेको छ । संघको बिहीबार राजधानीमा बसेको बैठकले समाचारको विषयलाई लिएर संघले सोधेको स्पष्टीकरणमा भट्टराई र अधिकारीले चित्त बुझ्दो जवाफ नदिएको जनाउँदै निलम्बन र निष्कासनको निर्णय गरेको जनाएको छ ।
संघका महासचिव सन्दीप सापकोटाद्वारा जारी विज्ञप्तिमा भट्टराईले पठाएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदेखेको र निजले संघद्वारा सोधेको आन्तरिक स्पष्टीकरणलाई खिल्ली उडाउने गरी सामाजिक सञ्जालमा उक्त स्पष्टीकरण प्रकाशित गरेर थप अमर्यादित र अनुशासनहीन काम गरेको ठहर गर्दै संंघको विधानअनुसार निजलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ । ‘उक्त समय अवधिभर संघप्रति निजले गर्नेे गतिविधिलाई गम्भीरतापूर्वक निग्रानी गर्नेसमेत निर्णय गरिएको छ ।’
यस्तै, चितवन शाखाका अध्यक्ष अधिकारीको स्पष्टीकरणको जवाफ अमर्यादित, उच्छृखल र चित्तबुझ्दो नआएको ठहर गर्दै संघको विधानअनुसार उनलाई संघको साधारण सदस्यसमेत नरहने गरी संघबाट निष्कासन गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ । बैठकले अधिकारीले वहन गर्दै आएको चलचित्र पत्रकार संघ चितवन शाखाको अध्यक्ष पद स्वतः रिक्त भएको हुँदा त्यस शाखाका उपाध्यक्ष रामेश्वर रिजाललाई बिहीबारकै मितिबाट लागू हुने गरी कार्यवाहक अध्यक्षको जिम्वेवारी तोकेको निर्णय गरेको छ । साथै बैठकले बिहीबारको मितिले तीन महिनाभित्र चितवन शाखाको अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति निर्माण गरी सोको जानकारी केन्द्रीय कार्यसमितिलाई गराउनसमेत निर्देशन दिएको छ ।
बैठकले संघका सदस्य श्यामसुन्दर गिरीले पठाएको स्पष्टीकरणको जवाफमा केही सहमति र केही असहमति राख्दै निज गिरीलाई आगामी दिनमा संघसँग जोडिएका विषयहरूमा गम्भीर भई संघको मर्यादालाई ख्याल गर्दै समाचार सम्प्रेषण गर्न सचेत गराउने निर्णयसमेत गरेको छ । केही समयअघि संघका सदस्य पत्रकार दीप बिमलीलाई चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म निर्देशक सुरेश दर्पण पोखरेलले र पत्रकार श्यामसुन्दर गिरीलाई कलाकार सुदर्शन गौतमले ज्यानको धम्की दिएपछि लेखिएको समाचारका विषयमा भट्टराई, गिरी र अधिकारीलाई संघले स्पष्टीकरण सोधेको थियो । (सौस)

प्रतिक्रिया