म्यानपावर व्यवसायीमा मतभेद

manpowerकाठमाडौं, २५ असार । सरकारले फ्रि–भिषा र फ्रि–टिकटमा मात्र कामदार पठाउने प्रावधान ल्याएपछि आन्दोलनमा उत्रिएका व्यवसायीमा मतभेद देखिएको छ । केही व्यवसायी आन्दोलनको पक्षमा छन् भने केही सरकारको पक्षमा रहेका छन् ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ निकट व्यवसायीले आन्दोलनको बेवास्ता गरेका छन् । व्यवसायीले आन्दोलन गरे पनि वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष हंसराज वाग्लेले पनि असहयोग गरेका छन् । उनको पाथीभरा ओभरसिज, राज्यमन्त्री गुरुङका भाइ शंकर गुरुङको मेनपावर एसबी एसोसिएटस्, एएनएस मेनपावर, आकर्षण मेनपावर, डिजाइन इम्पलोइमेन्टलगायत केही मेनपावरले विरोध जनाएका छन् । ति मेनपावरहरुले फ्रि–भिषा र फ्रि–टिकटमा कोटा पाएका छन् । तर, त्यस्ता म्यानपावरमा कार्यरत कर्मचारी भने आन्दोलनमा सहभागी भएपछि व्यवस्थापनले आफ्ना कर्मचारीमाथि निगरानी बढाएको छ ।
यता, आन्दोलनमा उत्रेका म्यानपावर व्यवसायीले बिहीबार पनि दिनभर शान्तिपूर्ण आन्दोलनमा उत्रिए । आफ्नो माग पूरा नभएसम्म कुनै पनि हालतमा आन्दोलन स्थगन नगर्ने वैदेशिक रोजगार व्यवसायीसंघका प्रथम उपाध्यक्ष कुमुद खनालले बताए । व्यवसायीले सरकारले छलफलविना लागू गरेको यो निर्णयका साथै विभागमा देखिएका समस्या समाधान गर्ने जस्ता माग सम्बोधन नगर्ने हो भने आन्दोलन झनै सशक्त हुन्छ कुनै पनि हातलमा स्थगन हुँदैन ।
सरकारको निर्णयको विरोधमा उपत्यकाका साथै इटहरी, पोखरा, बुटवल, बिर्तामोडका पाँच सयभन्दा बढी मेनपावरका शाखा कार्यालय बन्द भएको बताइएको छ । सरकारले आफ्नो माग तत्काल सम्बोधन नगरेको खण्डमा शनिबार देशैभरका शाखा कार्यालयका कर्मचारी र एजेन्टलाई काठमाडौंमा बोलाएर आन्दोलन गर्ने उपाध्यक्ष खनालले बताए । व्यवसायीले आन्दोलन चर्काउँदै जाने हो भने ट्राभल्स एजेन्सी, यएरलाइन्स, होटल, बिमा कम्पनी, स्थलमार्गका यातायात, कामदारलाई अभिमुखीकरण तालिम दिने संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्थालाई समेत असर पर्ने बताइन्छ । व्यवसायीको आन्दोलनमा अप्रत्यक्ष रूपमा अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य संस्थाले सहयोग गरेको स्रोतको भनाइ छ । व्यवसायीले अबको आन्दोलन श्रम ग्रामका साथै, प्रधानमन्त्री निवास, सिंहदरबार, संविधानसभा भवन बानेश्वरमा पनि गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया