अब संविधानसभा अर्को सूचनापछि मात्रै बस्ने

BICCकाठमाडौं, २४ असार । मधेसी मोर्चामा आवद्ध केही मधेस केन्द्रित दलहरूको अबरोध र नाराबाजीका बीच नयाँ संविधानको मस्यौदामा सुझाव लिने कार्ययोजना बहुमतले पारित भएको छ ।

संविधानसभाको आज बसेको बैठकमा मधेस केनिद्रत दलका सभासदहरूले अबरोधका साथै नारावाजी गरेर रोष्टम घेराउ गरेका थिए ।

मर्यादापालकहरूको बाक्लो उपस्थित गराइ सुझाव लिने कार्ययोजना पारित गरिएको हो ।

कार्ययोजना पारित भएपछि सभासद्हरूलाई संविधानसभाको मस्यौदाबारे सुझाव संकलनका लागि जनतामा जाने बाटो खुलेको छ ।

कार्ययोजना पारित भएसँगै शुक्रबारबाट कर्मचारीहरू सुझाव संकलनका लागि जिल्ला जानेछन् ।

सभासद्हरु भने व्यवस्थापिका संसदको पेश्की बजेट पारित गरेर जिल्ला जानेछन् ।

बैठकमा सद्भावना पार्टीका सभासद् लक्ष्मणलाल कर्णले कार्ययोजना पारित गर्ने विधि र प्रक्रिया नपुगेको आरोप लगाए । उनले संविधानको सुझाव संकलनको समयसमेत छोटो भएको भन्दै आपत्ति जनाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद्हरु भने यो प्रस्तावको विपक्षमा उभिएका थिए ।

संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्बाङले यसअघि माघ ८ गते संविधान जारी गर्ने कार्यतालिकामा एक महिना सुझाव संकलनको व्यवस्था गरिएको जनाउँदै अहिलेको अवस्थामा १५ दिन पर्याप्त रहेको बताए ।

संविधानसभा सचिवालयले राजपत्रमा प्रकाशित संविधानको मस्यौदा पनि सभासद्हरूलाई आजै उपलब्ध गराएको छ ।

कार्ययोजना पारित भएपछि अध्यक्ष नेम्बाङले संविधानसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया