परिषद्को सम्पत्तिमा यादवको मनोमानी

काठमाडौं, २३ असार । समाज कल्याण परिषद्मा सदस्यसचिव रवीन्द्र यादवको मनोमानीको सीमा नाघेको गुनासो आउन थालेको छ । समाज कल्याण परिषद्को अधीनमा रहेको भृकुटीमण्डप फनपार्कले प्रयोग गरेका ६५ रोपनी जमिन उनले कबाडीको मूल्यमा भाडामा दिएपछि उनको मनोमानी बढेको गुनासो आएको हो ।

मासिक साढे पाँच लाखमा भाडामा दिएका छन् । सो जमिन बिनाडेन्डर पन्ध्र वर्षका लागि भाडामा दिएको छ । यादव समाज कल्याण परिषद्मा सदस्यसचिव हुनेबित्तिकै उक्त जमिन भाडामा दिइएको हो । सदस्यसचिव यादव र परिषद्का निर्देशक मदन रेग्मीको मिलोमतोमा दिएको जमिनले परिषद्लाई ठूलो घाटा पु¥याएको परिषद् सम्बध कर्मचारीको आरोप छ । यादवले लाखौँ रूपैयाँ कमिसनको लोभमा परी उक्त जमिन भाडामा दिएको बताइन्छ । फनपार्कसँगै रहेको अन्य जमिन प्रतिरोपनी दश लाखसम्म भाडामा लाग्ने गरेको छ । परिषद् मातहतको सो जमिन यति सस्तो भाडामा दिएर यादवले मोटो रमक कुम्ल्याएको सहजै अनुमान लगाउन सकिन्छ । फनपार्कका लागि परिषद्को जमिन सस्तोमा दिएर परिषद्लाई घाटा पु¥याएकोबारे परिषद्का पुराना कर्मचारीले शंकाको रूपमा हेरेका छन् । भृकुटीमण्डपस्थित ल्याम्ह पुच क्लबलाई प्रतिमहिना पाँच हजार लिने गरी करिब तीन रोपनी जमिन भाडामा दिएको छ । सोही क्लबमार्पmत फनफार्कलाई ६५ रोपनी जमिन दिएको खुलासा भएको छ ।
देशभित्र र बाहिर रहेका गैरसरकारी संस्थाको अनुगमन निरीक्षण गर्नुपर्ने उक्त संस्था स्वयं ठूला कर्मचारीले संस्थाको सामान आफ्नो घरमा भित्र्याउने गरेको समेत खुलेको छ । राष्ट्रिय अपांगकोषको सभापति सदस्यसचिव यादवले मोटो रकम नजराना लिई नितेश गुप्तालाई नियुक्ति गरेकोसमेत खुलेको छ । योग्यता, अनुभव केही नभएको गुप्तालाई सभापतिमा नियुक्त गरेको कोषका कर्मचारीको आरोप छ । सो कोषमा यादवले गृहजिल्ला सर्लाहीका दश जनालाई नियुक्त गरेका छन् । गुप्तालाई सुविधाको नाममा निलो प्लेटको गाडीसमेत प्रयोग गर्न दिएका छन् ।
गुप्ताले प्रयोग गर्ने सो गाडी भारतबाट भन्सार छलीको सामान ओसार्न प्रयोग गरिन्छ । साथै उक्त गाडी लिएर सचिव यादव, गुप्ता र पाण्डे थरका व्यक्ति विभिन्न भट्टीमा जाने गरेको बुझिएको छ । भट्टी धाउने पैसा सामाजिक संघसंस्थाबाट असुल्ने गरेकोसमेत खुलेको छ ।

प्रतिक्रिया