लायन्स नेतृत्वले करोडौं असुलेको खुलासा

LCI emblem_2C_287+7406काठमाडौं । गत जुन महिनाको अन्तिम हप्ता अमेरिकाको हवाईस्थित हनलुलुमा आयोजित लायन्स क्लब इन्टरनेशनलको ९८औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट अमेरिका गएका सयौं सदस्यसँग अमेरिकाको भिसा मिलाइदिने आश्वासनस्वरुप मल्टिपल काउन्सिल सदस्यलगायतका नेतृत्वले करोडौं रुपैयाँ असुलेको खुलासा भएको छ ।

लायन्स क्लब अन्तर्राष्ट्रियको ९८औं अन्तर्राष्ट्रिय सम्मेलन हनलुलुमा सम्पन्न हुँदैछ भन्ने कुरा पहिले नै जानकारी हुने हुँदा एक वर्षअगाडिदेखि नै यो सम्मेलनलाई कसरी कमाउधन्दा बनाउने भनेर जोडघटाउमा लागेको नेतृत्वको एउटा समूहले सन् २०१४ को सेप्टेम्बरमा एल्लो पगोडा होटलमा सम्पन्न भएको प्रथम क्याबिनेट मिटिङबाटै कमाउधन्दाको विष वमन शुरु गरिसकेको थियो ।

प्रथम क्याबिनेट मिटिङमा नै नेतृत्वले अमेरिकाको सम्मेलनमा भाग लिन जान चाहने प्रत्येक व्यक्तिले अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय सदस्यका आकांक्षी सञ्जय खेतानलाई निर्वाचित गराउन आर्थिक सहयोग गर्नुपर्ने प्रस्ताव गरेपछि कमाउधन्दावाला समूहकै एकपात्र खगेन्द्र सिटौलाले नाटकीयरुपमा ५ लाख स्वयंले घोषणा गरेर उपस्थित ‘मास’लाई भावनात्मक प्रभाव पार्ने खेल खेलेका थिए ।

त्यसपछि क्रमैसँग सबै पूर्वगनर्भरले एक लाख सहयोग गर्ने बचनबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा हाल अन्तर्राष्ट्रिय सदस्यमा निर्वाचित भइसकेका सञ्जय खेतानले अमेरिकाको भिसाका लागि हामी पूर्णरुपमा लागिपर्छौं र भिसा लिन पूरा मद्दत गर्छौंसम्म भनेका थिए ।

स्रोतका अनुसार सञ्जय खेतान, खगेन्द्र सिटौला, भरत ढुंगेललगायत अन्य मल्टिपल काउन्सिल मेम्बर सहभागी उक्त समूहले झण्डै सात सयको संख्यामा अमेरिका पुगेका लायन्स सदस्यमध्ये ४ सय जनासँग भिसा लिनका लागि भन्दै करोडौं असुल गरेको खुलासा भएको छ ।

हाल उक्त समूह अन्तर्राष्ट्रिय सम्मेलनपश्चात् अमेरिकाकै विभिन्न राज्यहरुमा रवाफिलो भ्रमण गरिरहेको छ । लायन्स सदस्यहरुले भिसा आवेदन दिन शुरु गर्नुभन्दा अगाडि सञ्जय खेतानलगायतको समूह आफू यसपटक अन्तर्राष्ट्रिय सदस्य पदका आकांक्षी भएको हुँदा बढीभन्दा बढी सदस्यलाई भिसा उपलब्ध गराइदिन अनुरोध गर्दै अमेरिकी दूतावास पुगेको थियो ।

त्यसपछि दूतावासले इमेलको जिम्मेवारी एक जनालाई मात्र दिंदै एक जना व्यक्तिले मात्र दूतावाससँग पत्राचार गर्न अनुरोध गरेपछि कमाउधन्दाका एक पात्र भरत ढुंगेलले दूतावासमा भिसाको सिफारिसको सूची पठाउने जिम्मेवारी लिएका थिए ।

नाम उल्लेख नगर्ने शर्तमा एक जना लायन्स सदस्य भन्छन्, ‘भिसा सिफारिस भनेर करोडौं असुल्ने काम भयो, यो राम्रो भएन । नेतृत्व गन्हायो ।’

निवर्तमान मल्टिपल काउन्सिल चेयरम्यान भरत ढुंगेल त लायन्सभित्रको मुख्य सचिव जत्तिकै छन् । लायन्स क्लबभित्रको एउटा माफियाजस्तो देखिने समूहले लायन्सलाई भन्सारजस्तो कमाइ खाने भाँडो बनायो भन्छन् ती लायन्स सदस्य ।

स्मरण रहोस्, लायन्स क्लब अन्तर्राष्ट्रियको अमेरिकामा सम्पन्न सम्मेलनमा इतिहासमा नै सबैभन्दा धेरै सदस्यहरु यस वर्ष नेपालबाट सहभागी भएका थिए । (विश्वन्यूज डटकमबाट साभार)

प्रतिक्रिया