चन्द्रशमशेर, जनता र संविधान

sangita-dahalनेपाली कांग्रेस, एमाले, एमाओावदी र फोरम लोकतान्त्रिक (विजय गच्छदार) बीच भएको १६ बुँदे सम्झौता, सर्वोच्च अदालतको एकल इजलाशले दिएको अन्तरिम आदेश, संविधानको प्रारम्भिक मस्यौदा अहिलेका सर्वाधिक चर्चित विषय बनेका छन् । १६ बुँदेको पक्ष र विपक्षमा मात्र होइन, अदालतको आदेशको समर्थन र विरोधका स्वर पनि त्यत्तिकै मात्रामा आए । १६ बुँदे सम्झौताका पक्षधरहरू उत्साहित छन् । उनीहरू फास्टट्रयाकबाट संविधान ल्याउने हतारमा छन् । त्यसमा बाधक हुने नियमलाई निलम्बन गर्दै आफूसँग भएको मतको बलमा संविधान ल्याउने तयारीमा यसरी लागेका छन् कि संविधानबाहेक अरू केही होइन । यसले आमसर्वसाधारणमा सन्त्रास पनि जन्माएको छ । चार वर्षसम्म संविधान दिन नसकेर पहिलो संविधानसभा विघटित भयो ।
दोस्रो संविधानसभाबाट ‘२०७१ साल माघ ८ गते संविधान दिनेछौँ’ भनेर वचनबद्ध भएका दलहरू आफ्नै वाचाबाट च्यूत भएका थिए । त्यसबेला किन संविधान आएन ? अहिले यत्रो राष्ट्रिय प्राकृतिक विपत्को बेलामा भने सबै कुरा छाडेर जसरी भए पनि संविधान ल्याउने हतार किन भएको होला ? विभिन्न कोणबाट यस्तै खालका प्रश्न उठिराखेका छन् । अहिले संविधानविहीन हुनुभन्दा एउटा यस्तो होस्, संविधानको खाका मात्रै भए पनि आओस् भन्ने पक्षधरहरूको उपस्थिति त्यतिकै मात्रामा देखिएको छ ।
यी सबै गतिविधिले जनता जनता भनिन्छ । तर, राजनीतिक खेलाडीका अगाडि जनताको हैसियत र स्थिति कस्तो हुन्छ भन्नेका लागि देव शमशेरपछि प्रधानमन्त्री बनेका चन्द्र शमशेरका ऐतिहासिक प्रसंग यहाँ उल्लेख गर्न मन लाग्यो । उदारवादी राणा प्रधानमन्त्रीको रूपमा इतिहासमा स्थान पाएका देव शमशेरको बहिर्गमनको कुनै वैधानिकता थिएन । त्यसको आधार षड्यन्त्र र जालझेल नै थियो ।
उदारवादी राणा प्रधानमन्त्री देव शमशेरले कुनै लामो अवधिसम्म शासन गर्न पाएनन् । उनले मात्र एक सय १५ दिनको शासन अवधिमा थुप्रै सुधारका काम गर्न भ्याएका थिए । काठमाडौं उपत्यकालगायत धनकुटा, पाल्पालगायतका स्थानमा ५७ प्रारम्भिक पाठशालाको स्थापना, बिहान १० बजेदेखि पाँच बजेसम्म सरकारी कार्यालयको समय निर्धारण, कर्मचारीलाई प्रत्येक एकादशीको दिन बिदा दिने तथा वर्षमा १७ दिने अन्य बिदाको व्यवस्था, उपत्यकाका बासिन्दालाई समयको सूचना दिन १२ बजे तोप पड्काउने व्यवस्था, जनतालाई आफ्नो रायसुझाव दिनका लागि विभिन्न स्थानमा सुझावपेटिका झुन्ड्याउने व्यवस्था, गोरखापत्रको प्रकाशन, आधुनिक संविधान निर्माणका लागि विशेषज्ञ पठाउन ब्रिटिसकालीन भारत सरकारसँग आग्रहलगायतका थुप्रै सुधारका काम गरेका थिए ।
तर, उनका जनताका लागि गरेका सुधारका कार्य राणा परिवारभित्रै पाच्य भएन । राणा परिवारभित्रै उनलाई जसरी पनि हटाउने तानाबुना र षड्यन्त्र हुन थाल्यो । त्यसको हेक्का उनले पाउँदा पनि पाएनन् ।
दरबार स्कुलका विद्यार्थीलाई पुरस्कार दिन गएका देव शमशेरलाई कार्यक्रमपछि वीर शमशेरका छोराहरूबीच भएको अंशबण्डासम्बन्धी विवाद मिलाइदिनका लागि भन्दै सेतो दरबार लगिन्छ । झगडा मिलाउन गएका देव शमशेर अन्ततः चन्द्र शमशेरको षड्यन्त्रमा पर्छन् । उनलाई बाँधिन्छ । आफ्नै बन्धुले उनलाई बन्दुक ठड्याउँछन् । बाँधछाँद गर्छन् । उनका गार्ड हेरेका हे¥यै हुन्छन् । एक्ला देव शमशेरले आत्मसमर्पण गर्नुको अर्को विकल्प हुँदैन । राजाबाट उनलाई पदच्यूत गरेको कुरा भनिन्छ । सशस्त्रको घेरामा राखिन्छ । राजा पृथ्वीविक्रमलाई अर्को कोठाबाट त्यहाँ ल्याइन्छ । त्यसपछि देव शमशेरलाई हटाई चन्द्र शमशेरलाई प्रधानमन्त्रीमा नियुक्ति गरेको घोषणा गरिन्छ । उनकी रानीलाई त्यहीँ ल्याइन्छ । त्यसपछि त्यही रात उनलाई काठमाडौं उपत्यकाबाट निकालिन्छ । उनी धनकुटामा केही समय बसेपछि भागेर ब्रिटिस भारत सरकारको शरणमा पुग्छन् ।
अंग्रेजले उनलाई शर्तसहित शरण दिन्छन् । आफ्नो क्षेत्रमा बसेर नेपाल सरकारका विरुद्ध कुनै पनि काम नगर्न चेतावनीसमेत दिइन्छ । केही क्षण अगाडि उनको जय–जयकार गर्नेहरू चन्द्र शमशेरको जय–जयकार गर्न थाल्छन् ।
त्यसैले राजनीतिमा के हुन्छ के हुँदैन भन्ने सबै कुरा बाहिर आउँदैन । जे देखिन्छ, त्यो नहुन सक्छ र जे देखिँदैन त्यो हुन सक्छ । जनताले थाहा पाउने कुरा हुँदैन । जनता सधैँ नेपथ्यमा हुन्छन् । देव शमशेर हटेर चन्द्र शमशेर प्रधानमन्त्री भएको सूचना मात्र त्यसबेलाका जनताले पाए । उनी कसरी हटे, चन्द्र शमशेरको गुण जनताले कहाँ थाहा पाए र ? पाएनन् ।
त्यसैले १६ बुँदे सम्झौताको आन्तरिक वा बाह्य कारण के थियो ? दलभित्र र बाहिर नदेखिएका आन्तरिक सहमति के भएका छन् ? त्यसको जानकार सम्बद्ध पक्षबाहेक अरू हुँदा पनि हुँदैनन् । देव शमशेरको पतन र चन्द्र शमशेरको उत्थानको कुरा इतिहास पढेजस्तै इतिहासमा १६ बुँदे सम्झौता गर्नुको कारण र त्यसको परिणाम लेखिएको आवश्यकता भोलिको पुस्ताले पढ्ने छ । त्यति मात्र होे ।
जनता राज्य बन्नका लागि नभइ नहुने एउटा तत्व हो । जनता अमूर्त हुन्छ । जनतालाई मालिक भन्ने गरिए पनि उसको मालिकपन आवधिक निर्वाचन भएको अवस्थामा एउटा मत दिनेबाहेक उसको राजनीतिमा नियन्त्रण गर्न सक्ने अन्य कुनै भूमिका हुँदैन । ऊ असंगठित हुन्छ । उसको एकल मतको संख्यात्मक गणनाको परिणाम भने संगठनात्मक देखिने मात्र हो । त्यसैले जनताको अवस्था र भूमिका देव शमशेर पदच्यूत भएर उनको ठाउँमा चन्द्र शमशेर प्रधानमन्त्री भएको सूचना पाएको भन्दा भिन्न हुँदैन । कसरी देव शमशेर च्यूत भए र चन्द्र शमशेर आए भन्ने कुरा जनताले सूचना पाउँदैन ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख आदिको अवस्था अहिलेको प्रारम्भिक मस्यौदाअनुसार दिनगणनायुक्त भइसकेको छ । मस्यौदाको संकेतअनुसार यदि बाँडफाँडको आन्तरिक मिलान त कतै १६ बुँदेको प्रारूप त होइन भन्ने आमसर्वसाधारणको माझमा प्रश्न पनि उठेको छ ।
त्यसैले संविधान केका लागि र कसका लागि भन्ने प्रश्न पनि त्यतिकै मात्रामा उठेको छ । त्यसैले संविधान सबैका लागि आउने हो कि होइन भनेर त्यसको प्रतिक्षा गर्नुबाहेक अर्को विकल्प जनताका अगाडि छँदा पनि छैन । किनकि जनता सधैँ नेपथ्यमै रहने हो । राजनीतिक नाट्यशालामा उसको केन्द्रीय भूमिका हुँदा पनि हुँदैन । चन्द्र शमशेरका पालाका जनता र अहिलेका जनता एकै हुन्, कहाँ भिन्न हुन्छ र ? हुँदैन । जनता एकै हुन् अनि नेतृत्वको शैली एउटै हो । सबैलाई चेतना भया ।

प्रतिक्रिया