बाख्रा पाल्न डेढ करोड लगानी

Bakhara-Goat-Nepalचाहेको भए उनले राजधानी काठमाडौंमा महल बनाएर सुविधा सम्पन्न जिन्दगी बिताउन सक्थे । तर, उनले यसो गरेनन् । ऐंस आरामको जीवन छाडेर उनी गाउँ फर्किए । उनले ग्रामीण पाखामा खनिखोस्री गरेर सुन फलाउने सपना देखेका थिए, विदेशमा हुदाँ । अनि अहिले उनी त्यही सपना साकार पार्न लागिपरेका छन्, गाउँमा ।

उनी दोलखा भेड्पु गाविसका अशोक घिषिङ हुन् । उनले दक्षिण अफ्रिका र युरोपका मुलुकममा १४ वर्ष काम गरी कमाएको पैसा अहिले गाउँ फर्केर बाख्रापालनमा लगानी गरेका छन् । जसको प्रतिफल पाउनसमेत उनले सुरु गरिसकेका छन् ।
दोलखाको दक्षिणी भेड्पु गाविसका घिषिङको दैनिकी अहिले एक सय ७५ वटा बाख्रालाई स्याहारसुसार गर्दैमा बित्ने गरेको छ । उनले समडुब्लिङ कृषि तथा पशुपालनमार्फत फार्म स्थापना गरी तीन वर्षअघि बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । बाख्रापालनका लागि मात्र उनले अहिलेसम्म डेढ करोड रुपैयाँ लगानी गरिसकेका छन् । विदेशमा रहँदा बाख्रा फार्म देखेर प्रभावित भई स्वदेश फर्किएर व्यवसाय सुरु गरेका घिषिङका अहिले बाख्रा फार्म हेर्न आउनेको लामै ताती लाग्ने गरेको छ ।
उनको फार्ममा अहिले एक सय ७५ वटा बाख्रा छन् । तीमध्ये ६४ वटा ब्याउने तर्खरमा छन् । ती बाख्रा ब्याएपछि बाख्राको संख्या अझै बढ्नेछ । वर्षमा चार सय ५० वटाभन्दा बढी पाठापाठी उत्पादन गरी बिक्री गर्ने घिषिङको लक्ष्य छ । बाख्रापालनका लागि एक सय ३० रोपनी क्षेत्रफलमा अत्याधुनिक खोर निर्माण गरिएको छ । तीन सय रोपनी जग्गा बाख्रा चराउनका लागि छुट्याइएको छ । सात सय रोपनी जग्गामा अम्रिसो, मुलेटो, नेप्रियर, सेटेरियोलगायतका घाँस रोपिएको छ । बाख्राको पिसाब पोखरीमा जम्मा गरी पानी मिसाएर फिरफिरेमार्फत घाँसमा सिंचाई गर्ने प्रबन्ध भएकाले रासायनिक मल आवश्यक पर्दैन उनलाई । उनको फार्म पुग्दा लाग्छ, यो कतै नेपालको नभएर युरोप र अमेरिकातिरकै बाख्रा फार्म हो ।
उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजनामार्फत ३८ लाख २० हजार रुपैयाँ अनुदान पाएका घिषिङले बाँकी आफैँले लगानी गरेर बाख्रापालन सुरु गरेका हुन् । तीन वर्षअघि व्यवसाय सुरु गरेका घिषिङले १० लाख रुपैयाँ जतिका खसीबोका बिक्री गरिसकेका छन् । घिषिङले जिउँदो बाख्रासमेत मोलका आधारमा नभई तौलका आधारमा बेच्ने गरेका छन् । शैलुङको फेदीमा पर्ने एक हजार ९ सय ३६ मिटरको उचाइमा रहेको फार्ममा स्थानीय १० जनाले रोजगारी पाएका छन् । बाख्राको नियमित औषधोपचारका लागि एकजना भेटेनरी प्राविधिक नियमित रूपमा फार्ममा खटिने गर्छन् । त्यसो त उनी पनि फार्ममै खटिने गर्छन् ।
घिषिङले फार्मलाई कृषि तामिल केन्द्र बनाउने सोच बनाएका छन् । उनी भन्छन्, ‘म यस फार्मलाई कृषि तालिम केन्द्र बनाउँछु, त्यो यहाँका लागि नयाँ परीक्षण हुनेछ ।’ उनले फार्म परिसरमा चारवटा आवास भवन, कार्यालय, स्टोर र तालिम हल निर्माण गरिसकेका छन् । उनको फार्मनजिकै रहेको गुम्बाबाट रमणीय दृश्य अवलोकन गर्न पाइन्छ । जसका कारण ‘एग्रो टुरिजम’ को परिकल्पना गर्दैछन्, उनी । जिल्ला कृषि विकास कार्यालयले केही फलफूलका बिरुवा पनि उपलब्ध गराउने भएको छ उनको मिहिनेत देखेर । कार्यालयका बाली संरक्षण अधिकृत होमबहादुर विक घिषिङको प्रयास देखेर प्रभावित भएको बताउँदै कार्यालयबाट केही बिरुवा उपलब्ध गराउने विचार गर्दैछन् । घिषिङको कामबाट अन्य किसानलाई समेत उत्प्रेरणा हुने भएकाले आवश्यक सहयोग गर्ने जिल्ला कृषि विकास कार्यालयले सोच बनाएको छ । थप घाँस उत्पादनका लागि हिमाली आयोजनाले घिषिङको प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव स्वीकृत भई अनुदान पाएमा घाँस बिक्री गर्ने उनको उद्देश्य छ । उता फार्म अवलोकनका लागि भेड्पु पुग्दा जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले पनि घाँस खेतीका लागि जिविसको कृषि वन वातावारण शीर्षकबाट रकम विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । जसका कारण घिषिङ उत्साहित बनेका छन् ।
बाख्रापालन व्यवसायबाट आफू सन्तुष्ट भएको घिषिङ बताउने गर्छन् । स्थानीय हावापानी सहने भएकाले स्थानीय जातकै बाख्रा बढी मात्रामा पालेको उनी बताउँछन् । जिल्ला पशु सेवा कार्यालय दोलखाबाट आफूले चाहेको बेला सहयोग पाएको घिषिङ बताउँछन् । जिल्ला पशु सेवा कार्यालय दोलखाले पनि आवश्यक परेको बेला फार्ममा प्राविधिकहरू पठाउने गरेको छ । जसको कारण उनलाई काम गर्न थप प्रोत्साहन मिलेको छ । उनी भन्छन्, ‘जिल्ला कार्यालयले निकै सहयोग गरेको छ ।’ कार्यालयले फार्ममा रहेका बाख्रालाई पिपिआरलगायतका केही खोप निःशुल्क लगाइदिने गरेको छ । अनि समस्या परेको बेला आवश्यक औषधि पनि पठाउने गरेको छ । फार्ममा रहेका बाख्राको बिमा गरिएको छ । केही भइहाले क्षतिपूर्ति पाइन्छ । ‘बिमा गर्ने सिस्टम नेपालमा पनि आएको छ, यसले कृषकलाई थप प्रोत्साहन गर्छ,’ उनी भन्छन् । त्यसैले पनि घिषिङ ढुक्क छन् ।
तामाङ भाषामा सम भनेको ठूलो आकाश हो । डुम भनेको फैलने अनि लिङ भनेको तारा हो । ‘मेरो फार्मलाई आकाशका तारा जस्तै फैलाउँछु,’ घिषिङले भने । आजकालको युग भनेको कम्प्युटरको युग हो, त्यसैले उनले फार्मका बारेमा विस्तृत जानकारी समावेश गरिएको वेबसाइट बनाउने योजना बनाएका छन् । जसको कारण फार्मको थप प्रचारप्रसार हुनेमा उनी ढुक्क छन् । उनी भन्छन्, ‘डलर कमाउन विदेश जानु पर्दैन, नेपालमै मिहिनेत गरे डलर उब्जाउन गाह्रो छैन ।’
जिल्लाका कतिपयले सरकारी अनुदान पाएर पनि भने जस्तो काम गर्न सकेका छैनन् । महिनाको १० हजार कमाउनका लागि कोही खाडी मुलुक पुगेका छन् । युवा जति विदेशिएका छन् । तर, घिषिङ जस्ता कर्मयोगी युवा भने यहीँको माटोमा सुन फलाउन लागिपरेका छन् । घिषिङ जस्ता कर्मठ किसानबाट हामीले पनि केही सिक्ने कि ?

प्रतिक्रिया